PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

इपीएल अक्सन : यी हुन् १ लाख ७५ हजारमा बिकेका चार महँगा खेलाडी, अनिल र महेश बिकेनन्



पहिलोपोस्ट

इपीएल अक्सन : यी हुन् १ लाख ७५ हजारमा बिकेका चार महँगा खेलाडी, अनिल र महेश बिकेनन्

काठमाडौं : ए क्याटेगोरीमा रहेका चार खेलाडी आरिफ शेख, करण केसी, सन्दीप लामिछाने र विनोद भण्डारी एभरेस्ट प्रिमियर लिग (इपीएल)मा सबैभन्दा बढी रकममा बिक्री भएका छन्। बेस एमाउन्ट १ लाख रहेका यी चारै खेलाडी समान १ लाख ७५ हजारमा बिक्री भएका हुन्।

सन्दीप र आरिफलाई पछिल्ला वर्षमा राम्रो प्रदर्शन गरेको भन्दै अक्सन हुनु एक दिन अघि मात्र आयोजकले ए क्याटेगोरीमा राख्ने निर्णय गरेको थियो। ए क्याटेगोरीमा रहन कम्तीमा पनि राष्ट्रिय टिममा ३ वर्ष खेलेको हुनुपर्ने थियो।

म्याक्सिमम बिडिङ एमाउन्टमा एक भन्दा बढी टिमले बिडिङ गरेपछि आरिफ, सन्दीप र विनोदलाई लोटरी सिस्टमबाट बिक्री गरिएको हो। जस अनुसार आरिफलाई भैरहवा ग्लाडिएटर्स, सन्दीपलाई ललितपुर प्याट्रिओट्स र विनोदलाई पोखरा राइनोजले पायो। करण केसीलाई भने विराटनगर वारियर्सले सिंगल बिडिङमा प्राप्त गरेको हो।

अक्सनमा समावेश गरिएका कूल ९० खेलाडीलाई ए, बी र सी क्याटेगोरीमा वर्गिकरण गरिएको थियो। जसमध्ये ए क्याटेगोरीबाट १४, बी क्याटेगोरीबाट २८ तथा सी क्याटेगोरीबाट १८ खेलाडी बिक्री भए। अक्सनका लागि कूल १६० खेलाडीले नाम रजिस्टर गरेपछि अक्सनमा भने आयोजकले टेक्निकल कमिटी र टिमसँग सल्लाह गरेर ९० खेलाडी मात्र समावेश गरेको थियो।

इपीएलका टेक्निकल कमिटी हेड विनोद दासले सिनियर खेलाडी, मार्क्यु खेलाडीसँग सल्लाह गरेर नै आरिफ र सन्दीपलाई ए क्याटेगोरीमा राखेको प्रतिक्रिया दिए।

यस्तै ९० भन्दा बाहिरका कुनै खेलाडी टिमले लिन चाहे त्यसमा पनि भिटो प्रयोग गर्न पाउने व्यवस्था गरिएको र ४ खेलाडी त्यसरी नै बिक्री भएको विनोदले बताए।

प्रत्येक टिमले ए क्याटेगोरीबाट कम्तीमा २ र बढीमा ४, बी क्याटेगोरीबाट कम्तीमा ४ र बढीमा ६ खेलाडी राख्न पाउथे भने बाँकी खेलाडी सी क्याटेगोरीबाट लिने प्रावधान थियो।

पहिलो चरणमा प्रत्येक टिमले अक्सनबाट १० खेलाडी खरिद गरेका छन्। यसका लागि सबै टिमलाई १० लाख खर्च गर्ने अनुमती थियो।

यसअघि नै प्रत्येक टिमको मार्क्यु खेलाडी घोषणा भइसकेको छ। अब प्रत्येक टिमले ३ विदेशी खेलाडी राख्न बाँकी छ भने ट्यालेन्ट हन्टमार्फत एक लोकल खेलाडी राख्न पाउनेछ।

बिकेनन् अनिल मण्डल र महेश क्षेत्री

क्याटेगोरीमा ए मा रहेका अनिल मण्डल, महेश क्षेत्री, मन्जित श्रेष्ठ, परेश लोहनी, सन्जम रेग्मी, अमृत भट्टराई, राहुल कुमार विक जस्ता राष्ट्रिय टिमबाट खेलिसकेका खेलाडी अक्सनमा बिक्री भएनन्। १ लाख बेस अमाउन्ट रहेका यी खेलाडीलाई कुनै टिमले आँखा लगाएनन्।

 

बढी खर्च गर्ने भैरहवा र विराटनगर,  कम खर्च गर्ने चितवन

इपीएल खेल्ने छ फ्रेन्चाइज टिम मध्ये भैरहवा ग्लाडिएटर्स र विराटनगर वारियर्सले खर्च गर्न पाउने सबै १० लाख खर्च गरे। यस्तै कम खर्च गर्नेमा चितवन टाइगर्स रह्यो। चितवनले १० लाख मध्ये ९ लाख २० हजार मात्र खर्च गर्‍यो भने ८० हजार जोगायो। काठमाडौं किंग्स ११ र ललितपुर प्याट्रओट्सले त्यसबाट ५-५ हजार बचाए। पोखरा राइनोजले ९ लाख ८० हजार मात्र खर्च गर्‍यो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell