PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

च्यातिएका कपडा लगाउँदा किन अशुभ हुन्छ ? यसो भन्छन् विद्वानहरु



पहिलोपोस्ट

च्यातिएका कपडा लगाउँदा किन अशुभ हुन्छ ? यसो भन्छन् विद्वानहरु

  •  नारायण अधिकारी 
चितवन :  आधुनिकताको नाममा च्यातिएका कपडा लगाउनु अशुभ मानिने धार्मिक विद्वानहरूले बताएका छन्। हिन्दू धार्मिक परम्पराअनुसार यस्ता पहिरन लगाउनेलाई विभिन्न बाधा व्यवधान आउने र प्रगतिसमेत नहुने उनीहरूको भनाइ छ। 

पाश्चात्य संस्कृतिको सिको गर्दै अहिले नेपालमा च्यातिएका, कोतरिएका, टालेका कपडा लगाउने चलन बढेर गएको छ। यस्ता कपडाको माग बढेसँगै उद्योगी व्यापारीले पनि यस्तो कपडाको उत्पादन र आयात बढाएका छन्। 

संस्कृत विश्वविद्यालय धर्मशास्त्र विभागका अध्यक्ष प्रा डा देवमणि भट्टराई च्यातिएको वस्त्र लगाउनु अशुभ हुने बताउँछन्। यस्ता कपडा लगाउँदा जीवनको लक्ष्य र उद्देश्य प्राप्तिमा स्वतः बाधक बन्ने उनको विश्लेषण छ। भट्टराई भन्छन्,‘च्यातिएका पोशाक लगाउनेहरु लक्ष्यमा पुग्न सक्दैनन्।’मुसाले काटेका कपडासमेत लगाउन नहुने शास्त्रीय मान्यता रहेको उल्लेख गर्दै उनी भन्छन्, ‘जसले च्यातिएका कपडा लगाउँछ, उसको भविष्य कमजोर हुन्छ।’

यसका अतिरिक्त छोटो र शरीरका अंग देखिने गरी च्यातिएका कपडा लगाउँदा विपरीतलिंगीहरुको आकर्षण बढ्ने र यसले समग्र जीवनमा नकारात्मक प्रभावसमेत पार्ने हुँदा शरीरका अंग प्रत्यांग छोपेर हिँड्नुपर्ने उनको भनाइ छ। 

नेपाल ज्योतिष परिषद्का केन्द्रीय सल्लाहकार डा दण्डपाणि उपाध्याय अर्याल टुटेफुटेका भाँडाकुँडा घरमा राखेमा जुन ढंगको अशुभ हुन्छ भन्ने धार्मिक मान्यता छ, च्यातिएका कपडा लगाउँदा पनि त्यस्तै अशुभ हुने बताउँछन्। अर्याल भन्छन्,‘च्यातिएका कपडा लगाएमा छुद्रता, दुष्टता, दरिद्रतातर्फ उन्मुख गराउँछ।’

यस्ता कपडा लगाउने व्यक्तिलाई ऐश्वर्य र वैभव प्राप्त नहुनेमा जोड दिंदै उनी भन्छन्, ‘यस्ता व्यक्तिले जति कमाउँछन्, उति नोक्सान गर्दै जान्छन्। क्षति र खती बढी हुन्छ।’ 

संस्कृतका विद्वान् डा गुरुप्रसाद सुवेदी च्यातिएका कपडाले अमंगल र कल्याण नहुने शास्त्रीय मान्यता रहेको बताउँछन्। आगो लागेका, प्वाल परेका र च्यातिएका कपडालाई पूजापाठमासमेत प्रयोग गर्न नमिल्ने उनको भनाई छ।

धर्मशास्त्रमा फाटे टुटेका नलगाउनु भन्ने स्पष्ट निर्देशन रहेकाले पनि शास्त्रीय मान्यताअनुसार च्यातिएका, फाटेका र फटाइएका पोशाक लगाउने व्यक्तिको व्यक्तित्व र भविष्य पनि त्यस्तै जीर्ण बन्ने उनी बताउँछन्।

उनी भन्छन्,‘च्यातिएका पोशाक लगाउने व्यक्ति प्रगतिशील, निर्वाणात्मक दिशातर्फ उन्मुख नभएर क्षतविक्षत अवस्थामा जाँदैछ भन्ने संकेत मिल्छ ।’रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell