PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पूर्वराजा ज्ञानेन्द्रको शासकीय महत्त्वाकांक्षा : 'म ताक्छु मूढो, बन्चरो ताक्छ घुँडो'



सूर्य खड्का

पूर्वराजा ज्ञानेन्द्रको शासकीय महत्त्वाकांक्षा : 'म ताक्छु मूढो, बन्चरो ताक्छ घुँडो'

  • टिप्पणी -
उनकै शब्दमा देशको नेतृत्वविहिनताको वर्तमानमा पूर्वराजा ज्ञानेन्द्र शाहले जिम्मेवारी लिने र नेतृत्व दिने उपयुक्त बेला आएको दाबी गरेका छन्। कात्तिक ४ को भाइटीकामा पूर्वराजाबाट आएको यो शासकीय महत्वाकांक्षाको रहरको ठीक भोलिपल्ट देश संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने प्रदेश र प्रतिनिधिसभाको चुनावको पहिलो चरणको पहिलो कार्यसूचि पूरा गर्न सफल भएको छ। पूर्व राजा शाहका लागि 'म ताक्छु मूढो, बन्चरो ताक्छ घुँडो' भने जस्तै पहिलो जवाफ हो। संभवतः उनको चाहना विपरीतको यो राजनीतिक कोर्स।

वामपन्थी भर्सेज कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमार्फत् मुख्य दलहरु प्रदेश र प्रतिनिधिसभाको चुनावी मैदानमा होमिएसँगै देशको नेतृत्व लिने वैधानिक दाबी दलहरुले गरेर पूर्वराजालाई कामैले जवाफ फर्काएका छन्। आइतबारको मनोनयन देशको नेतृत्व राजनीतिक दलले लिन्छन् भन्ने जवाफ नै हो पूर्वराजालाई राजनीतिक दलहरुको। पहिलो चरणका लागि आइतबार प्रदेशसभाका ७४ सिटमा उम्मेदवारी दर्ता गर्नेहरुले नै पूर्वराजालाई मुख भरीको जवाफ फकाईसके, देशको नेतृत्वविहीनताको परिपूर्तिका लागि आफै दाबेदार बनेर। 

वाम गठबन्धन अन्तर्गत प्रदेशका ७४ सिटमध्ये माओवादीले ३३ सिटमा,  एमालेले ३९ सिटमा र दुईवटा प्रदेशसभा सिटमा राष्ट्रिय जनमोर्चाका उम्मेद्धवारले दाबी गरिसके नेतृत्वका लागि। सत्तारुढ तथा लोकतान्त्रिक गठबन्धनका तर्फबाट कांग्रेसले पनि प्रदेशसभाका केही सिट गठबन्धनका अन्य साना दललाई बाँड्दै नेतृत्वको दाबी पेश गरिसकेको छ। कांग्रेसले भोजपुर (क) मा संघीय समाजवादी फोरमलाई , बैतडी (ख) र धादिङ २ (ख) मा कांग्रेसले राप्रपालाई सघाउँदै नेतृत्वमा जाने तयारी विधिवत रुपमा पुरा गरेको छ। यस्तै गोरखा २ (क) र रसुवा (ख) मा नयाँ शक्ति र कांग्रेसवीच चुनावी तालमेल भएको छ भने बाँकी ६९ सिटमा कांग्रेसको एकल दाबेदारी छ । 

अचम्मलाग्दो कुरा चाहिँ अन्य बेलामा झैं यसपटक पूर्वराजाको टिप्पणीको खण्डनमण्डनमा नेताहरुको ध्यान गएको देखिएन। चुनावी चटारोले हो की पूर्वराजाका अभिव्यक्तिको खण्डन गर्दा झन राजाकै भाउ बढ्छ भन्ने मनोविज्ञानले त्रसित भएर हो, दलहरु शाहका अभिव्यक्ति सुन्या नसुन्यै झैँ गरिरहेका छन्। अथवा पूर्वराजाका अभिव्यक्तिको खण्डन गर्ने नैतिक धरातल नै बाँकी नरहेर हो दलका नेताहरु पनि शाहका अभिव्यिक्तप्रति अनपेक्षित रुपमा मौनता साँधिरहेका छन। कटु तिखो बोलीका पर्याय एमाले अध्यक्ष केपी ओली हुन् कि टर्रो बोलीका पर्याय नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई, वा माओवादी सुप्रिमो प्रचण्ड हुन् कि माधव नेपाल यसपट्क शाहलाई मुख फर्काउन भन्दा चुनावी चटारोमा रमाउन मस्त, व्यस्त देखिएका छन्। यो उनीहरुको रणनीति हो कि पूर्वराजाको कडा चुनौतिप्रतिको नाजावाफ बाध्यता ? भेद खुल्न बाँकी छ।
उता, पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिको आइतबार वीरगन्जमा राजतन्त्रवादीहरुको एक समूहले र्‍यालीसहित स्वागत गरेको छ। पूर्वराजा ज्ञानेन्द्रले जनताको इच्छा र सहयोग भए मुलुकको नेतृत्व लिन आफू तयार रहेको अभिव्यक्ति दिएपछि त्यसैको स्वागतमा उनका समर्थकले आइतबार वीरगन्जमा र्‍याली निकालेका हुन्।

वर्तमान संविधान र व्यवस्थाले नचिन्ने पूर्व राजाले कुन बाटोबाट जनताको साथ लिन खोजेका हुन्? जनताले साथ दिने रोडम्याप बिनै आएको पूर्वराजाको माग शैलीको अभिव्यक्ति आफैमा स्पष्ट देखिँदैन।

***
 
वीरगन्जको घण्टाघर चोकबाट नेपाल राष्ट्रवाद संघ नामक संस्थाको नेतृत्वमा निकालिएको पूर्व राजा सर्मथकको र्‍याली माइस्थान , आदर्शनगर , घडीअर्वा हुँदै पुन घण्टाघर चोकमै पुगेर कोणसभामा परिणत भयो। कोणसभालाई सम्बोधन गर्दै नेपाल राष्ट्रवाद संघका अध्यक्ष जनकलाल साहले मुलुकको नेतृत्व सम्हाल्न तयार रहेको भनी पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिले सम्पूर्ण नेपाली जनता उत्साहित र खुशी भएको दाबी गरे। पूर्वराजाको शासकीय नेतृत्व लिने आर्दश ईच्छाको समर्थनमा यसबाहेक नोटिसमा लिने स्तरका स्वागत सत्कार भएको पाइएन। यसबाहेक पूर्व राजाको अभिव्यक्तिको समर्थनमा पनि उत्साहजनक स्वागतको लहर आएको देखिएन। सामाजिक संजालमा शाहको अभिव्यक्तिको पक्षमा भन्दा विपक्षमा चर्का प्रतिक्रियाहरु सार्वजनिक भएका छन्। 

सामान्यतः देशका निवर्तमान राजा र शाहवंशीय राजसंस्थाका अन्तिम उत्तराधिकारी ज्ञानेन्द्र शाहले पुनः देशमा नेतृत्को खडेरी देखाउँदै आफू जनताले चाहेमा नेतृत्व लिन र जिम्मेवारी बहन गर्न तयार भएको अभिव्यक्ति दिनु अन्यथा होइन। तर देश संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने संविधान कार्यान्वयनको आखिरी चरणमा रहेका बेला उनले आफू राजा हुन पाउँ, जनताको साथ चाहियो भनी दिएको अभिव्यक्ति भने सही कुरा बेठीक समयमा आएजस्तो देखिँदैछ। 

वर्तमान संविधान र व्यवस्थाले नचिन्ने पूर्व राजाले कुन बाटोबाट जनताको साथ लिन खोजेका हुन्? जनताले साथ दिने रोडम्याप बिनै आएको पूर्वराजाको माग शैलीको अभिव्यक्ति आफैमा स्पष्ट देखिँदैन। जनताले चुनावको माध्यमबाट शाहलाई साथ दिने हो भने पूर्व राजा स्वयं राजनीतिमा आउनु पर्ने देखिन्छ। जबकि उनका र उनका कुनै पनि परिवारका सदस्य राजनीतिमा सामेल हुने कुनै संकेत देखिएको छैन।

राजनीतिक दलहरुको सहारामा उनले पुनः देशलाई नेतृत्व दिन खोजेका हुन भने राजसंस्थाको पक्षपाति ठानिएको र सोही दाबी गर्ने कमल थापाको राप्रपा नै पूर्वराजालाई नचिन्ने संविधान अन्तर्गत तीन पटक गणतान्त्रिक सत्ताका उपप्रधानमन्त्री बनिसके । केपी ओली, प्रचण्ड र शेरबहादुर देउवा नेतृत्वका तीन थान सरकारमा उत्तिकै बेशरम मन्त्री बनेको कमल थापाको राजनीतिक साथमा शाहको फिर्ती हुटिटयाउँले आकाश थेग्ने कल्पना सरह हो।

कांग्रेसभित्र राजसंस्था र हिन्दूत्वको वकालत गर्ने नेता खुमबहादुर खड्का, महामन्त्री शशांक कोइराला वा नेता शेखर कोइराला र नेतृ सुजाताहरुसँग पूर्वराजा ज्ञानेन्द्रको कुनै सम्पर्क साइनो नवीकरण भएको खबर छैन। एमालेले प्रचण्डसँग वाम गठबन्धन गरेर समाजवादी क्रान्तिको यात्रा थालेको उदघोष गरिरहेका बेला खै कसरी जोडिएला र पूर्वराजाको साथमा? मधेशकेन्द्रित दलहरुका लागि पूर्वराजाको सत्ता फिर्तीको चाहना आफै त महादेव कसले दिने वर भन्ने उखान सरह छ ।

पूर्वराजाको दाबीमा उनले मुलुकको नेतृत्वविहिनतामा आफैले नेतृत्व दिने बेला आएको भनिए पनि भूधरातलीय राजनीतिको वर्तमान कोर्सले पूर्व राजाले स्पेस खोज्ने समय घर्किसकेको प्रतित गराइरहेको छ। किनभने संविधान अन्तर्गत चुनावको माध्यमद्वारा राजसंस्था पुर्नस्थापित गर्ने मुद्दा नै मंसिर १० र २१ का चुनावले लगभग अन्त्य गर्नेछन्। त्यसमाथि राजावादी भनिएका दलहरु नै गणतान्त्रिक सत्ताको तर मार्न मस्त हुँदा स्खलित भैसकेका छन्।

यसबाहेक उनको आह्वान अनुसार जनताले सडकबाटै साथ दिएर शाहको अधुरो इच्छाको सम्बोधन गर्न सक्छन्। तर के त्यसका लागि अहिले अनुकुल समय हो त ? यो प्रश्नको उत्तर पनि खोई कति सकारात्मक छ र? छैन नि।




 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell