PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

जापानमा प्रतिनिधिसभाका लागि मतदान सुरु, दुई तिहाई बहुमत आउने एलडिपी गठबन्धनको अपेक्षा



पहिलोपोस्ट

जापानमा प्रतिनिधिसभाका लागि मतदान सुरु, दुई तिहाई बहुमत आउने एलडिपी गठबन्धनको अपेक्षा
फोटो श्रोतः nikkei.com

टोकियो :  जापानमा मध्यावधी निर्वाचनका लागि मतदान सुरु भएको छ। जापानी संसदको तल्लो सदन, प्रतिनिधिसभाका लागि आइतबार बिहानैदेखि मतदान सुरु भएको अधिकारीहरुले जनाएका छन्।

जापानी प्रधानमन्त्री सिन्जो आबेले जापानको संसदको म्याद बाँकी रहेकै बेला गत महिनामात्र मध्यावधी निर्वाचनको आह्वान गरेका थिए। 

प्रधानमन्त्री आबेले आफू शक्तिशाली हुने अभियानस्वरुप यो निर्वाचनको आह्वान गरेका बताइएको थियो। 

निर्वाचनमार्फत आफ्नो दल लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) र उसको गठबन्धनले दुई तिहाई बहुमत हासिल हुने उनले बताएका छन्। 

वर्तमान सत्तारुढ दललाई थप बलियो बनाउने र यसका माध्यमबाट देशमा आर्थिक एजेण्डाहरु अगाडि बढाउनुका साथै उत्तर कोरियाको पछिल्लो समयमा अघि बढेको आणविक होडका विरुद्धमा पनि कडा रुपमा प्रस्तुत हुन सहज हुने भएकोले निर्वाचनको आह्वान गरिएको बताइएको छ। 

आफूले अघि बढाएको नयाँ आर्थिक मोडेल अबेनोमिक्सलाई अझै बलियोरुपमा अघि बढाउने योजना उनको छ । तर पनि यसको विरुद्धमा विपक्षी गठबन्धन रहेको छ। जसले गर्दा यो निर्वाचनमा सत्तारुढ र विपक्षी दलको गरी दुई प्रमुख एजेण्डाबीच संघर्ष हुनेछ। 

निर्वाचन अघिसम्म यहाँको प्रतिनिधिसभामा प्रधानमन्त्रीको पार्टी, एलडिपीकै बढी बाहुल्यता रहेको थियो। उक्त दल र उसको गठबन्धनले संसदको हाल कायम सिट संख्याको ६८ प्रतिशतभन्दा केही बढी कायम राखेको थियो। 

संसदको तल्लो सभाको ४७५ स्थानमध्ये उनको दललेमात्र २९० स्थान हासिल गरेको थियो। त्यस्तै उनको सत्ताधारी साझेदार अर्को एक दलको ३४ सिट गर्दा संसदको ६८ प्रतिशतभन्दा केही बढी स्थानमा रहेका छन्। 

यो निर्वाचनमा प्रधानमन्त्री आबे र उनको सत्ताधारी गठबन्धनले हालै गठन भएका दुई वटा नयाँ पार्टीसँग प्रतिस्पर्धा गर्ने भएका छन्। 

ती दलले वर्तमान सत्ताधारी दललाई पुग नपुग बहुमतमा मात्र सीमित पारिदिने बताएका छन् भने सत्ताधारी गठबन्धनले भने दुई तिहाई हासिल गर्ने अपेक्षा राखेको छ। 

पछिल्ला केही समययता उत्तर कोरियाले जारी राखेको आणविक हतियारको प्रदर्शनकाविरुद्धमा आवश्यक सुरक्षा नीति अख्तियार गर्न पनि आफूलाई संसदमा दुई तिहाई बहुमत आवश्यक रहेकोले यसका लागि निर्वाचन आह्वान गरिएको प्रधानमन्त्रीले बताउँदै आएका छन्।। रासस/सिन्ह्वा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell