PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

तिहारको यमपञ्चक सुरु, आज काग तिहार



पहिलोपोस्ट

तिहारको यमपञ्चक सुरु, आज काग तिहार

  • पूर्णप्रसाद मिश्र

काठमाडौँ  नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आज कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु भएको छ। तिहार कार्तिक शुक्ल द्वितीयासम्म मनाइँन्छ।

तिहारको पहिलो दिन आज काग तिहार, कात्तिक १ गते बुधबार कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार, कात्तिक २ गते बिहीबार कार्तिक कृष्ण औंसीका दिन लक्ष्मीपूजा, कात्तिक ३ गते शुक्रबार कार्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवद्र्धन पूजा, कृषक पूजा तथा नेवारी समुदायले मनाउने नयाँ वर्ष अर्थात् नेपाल संवत् ११३८ र म्हपूजा अर्थात् आत्मपूजा एवम् कात्तिक ४ गते शनिबार कार्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाई तिहार पर्व मनाइन्छ। यमराज पनि पाँच दिन आफ्ना दैनिक काम स्थगन गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक पनि भनिन्छ।


काग तिहार

यमपञ्चकको पहिलो दिन आज कागलाई मीठो मीठो खाना चढाएर काग तिहार मनाइँदैछ। वैदिक मान्यतानुसार कागलाई सन्देशवाहकका रुपमा मान्ने गरिन्छ। आजको दिन कागलाई खान नदिईकन आफूले खाएमा पापको भागी भइन्छ भन्ने धार्मिक मान्यता छ। वैदिक सनातन हिन्दू धर्मानुसार कागलाई यमदूत मानिन्छ। कागलाई खानेकुरा चढाउने (बलि दिने) शास्त्रीय मान्यता भए पनि पूजा गर्ने प्रसंग कतै नभएको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए।

आजैका दिनदेखि यमदीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ। यमदीप दक्षिण फर्काएर गर्नुपर्ने धार्मिक विधि छ। “तिहारमा काग, कुकुर, गाई, गोवद्र्धन, दाजुभाइ र दिदीबहिनीका अतिरिक्त बलि राजालाई पनि मीठा खाना खान दिने र पूजा गर्ने धार्मिक विधि छ”, उनले भने।

यमराजलाई प्रसन्न बनाउन घरमा परिवार सङ्ख्यानुसार साँझमा यमदीप दान गरिन्छ।

यस वर्ष कात्तिक ४ गते मध्याह्न ११ बजेर ५१ मिनेटमा भाइटीकाको साइत उत्तम रहेको समितिले जनाएको छ। भाइटीकाका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइत खोज्नेका लागि सो साइत शुभ रहेको अध्यक्ष प्रा डा गौतमले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell