PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

एक्लै चुनाव लड्दा के होला गोरखामा बाबुरामको नयाँ शक्ति? यस्तो छ स्थानीय तहको मतपरिणामको गणित



एक्लै चुनाव लड्दा के होला गोरखामा बाबुरामको नयाँ शक्ति? यस्तो छ स्थानीय तहको मतपरिणामको गणित

काठमाडौं : चुनावी तालमेलदेखि पार्टी एकतासम्मको घोषणा गरेको १० दिनमै वाम गठबन्धनबाट अलग्गिएर देब्रे आँखाको आफ्नो चुनाव चिह्नबाट चुनाव लड्ने घोषणा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले शुक्रबार गरे। सँगै उनले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दिने घोषणा पनि गरे। 

पहिलो संविधान सभा निर्वाचनमा भट्टराईले देशभरका सभासद्‌मध्ये सबैभन्दा बढी मत ल्याएर विजयी हुने रेकर्ड राखेका थिए। गोरखाको क्षेत्र नम्बर २ बाट ल्याएको मत संख्या थियो- ४६ हजार २ सय ७२।

दोस्रो संविधान सभा निर्वाचनमा त्यही चुनाव क्षेत्रमा फोटोसहितको मतदाता नामावली संकलन गर्दा कूल मतदाता संख्या रह्यो मात्र ४३ हजार ८ सय २२। अर्थात् भट्टराईले पाएको मत कूल मतदाताभन्दा २ हजार ४ सय ५० ले बढी थियो। दोस्रो संविधान सभा निर्वाचनमा भट्टराई १७ हजार ७०४ मत ल्याई विजयी भए जुन निकट प्रतिस्पर्धी कांग्रेसको ८ हजार ५२ भन्दा दोब्बर थियो। 

स्थानीय तहको निर्वाचन भने त्यस्तो रहेन। बाबुराम भट्टराईको नयाँ शक्ति र माओवादी केन्द्रले छुट्टाछुट्टै निर्वाचन लडेका थिए। नौ वटा गाउँपालिकामा ७ वटा कांग्रेसले जित्यो भने दुई वटा माओवादीले। दुई वटा नगरपालिकामा दुई वटै कांग्रेसले जित्यो। 

गोरखा क्षेत्र नम्बर १

आगामी प्रतिनिधि सभा निर्वाचनका लागि गोरखामा दुई वटा निर्वाचन क्षेत्र निर्धारण गरिएको छ। गोरखा क्षेत्र नम्बर १ मा गण्डकी गाउँपालिका, शहिद लखन गाउँपालिका, भिमसेन गाउँपालिका, आरुघाट गाउँपालिका, धार्चे गाउँपालिका र चुमनुब्री गाउँपालिका राखिएको छ भने गोरखा नगरपालिकाका वडा नं. १, २, ३, ४, ५, ६, ७ समावेश छ। 

स्थानीय तहको निर्वाचनमा यी गाउँपालिका र नगरपालिकामा वडाध्यक्षमा पाएको मतलाई हिसाब गर्दा कांग्रेसले सबैभन्दा बढी २१ हजार ३ सय ७० मत ल्याएको छ भने दोस्रो स्थानमा माओवादी १६ हजार ६ सय ३३ मत छ। एमाले तेस्रो स्थानमा १० हजार ३ सय ५ मत छ भने नयाँ शक्तिको ६ हजार ७ सय १९ मत छ। योजना अनुसार वाम गठबन्धन भएको भए यो क्षेत्रमा माओवादी, एमाले र नयाँ शक्तिको कूल मत जोड्दा ३३ हजार ६ सय ५७ मत हुन्थ्यो।


नयाँ शक्ति एक्लै र माओवादी र एमालेको गठबन्धन हुने हो भने गठबन्धनले २६ हजार ९ सय ३८ मत पाएर विजयी हुने देखिन्छ जुन कांग्रेसले पाएको मतभन्दा साढे ५ हजारले बढी हो।

नयाँ शक्ति र कांग्रेसको गठबन्धन भइदियो भने चाहिँ वाम गठबन्धनसँग कडा प्रतिस्पर्धा हुने देखिन्छ। 


बाबुरामको क्षेत्रमा कस्तो छ स्थिति?

गोरखा क्षेत्र नम्बर २ मा बाबुराम भट्टराईले उम्मेदवारी घोषणा गरेका छन्। यही क्षेत्रबाट माओवादी केन्द्रले नारायणकाजी श्रेष्ठलाई उम्मेदवार बनाउने भनेको छ। गोरखा २ मा गोरखा नगरपालिकाका वडा नं. ८, ९, १०, ११, १२, १३, १४ रहेको छ। त्यसैगरी पालुङटार नगरपालिका सिङ्गै,  सिरानचोक गाउँपालिका, सुलीकोट गाउँपालिका र अजिरकोट गाउँपालिका पनि सिङ्गै रहेको छ। 

स्थानीय तहको निर्वाचनमा पाएको मत हिसाब गर्दा माओवादी १७ हजार ८ सय ९४ मतका साथ अग्रस्थानमा छ। उसलाई कांग्रेसले १७ हजार ७० मतका साथ दोस्रो स्थानमा रहेर पछ्याएको छ भने तेस्रो स्थानमा नयाँ शक्ति ७ हजार ८ सय ७१ मत रहेको छ। चौथो स्थानमा एमाले ७ हजार २ सय ८ मत रहेको छ। 

गठबन्धन नहुँदै माओवादीको अग्रता रहेको यस क्षेत्रमा यदि माओवादी र एमालेको गठबन्धन हुने हो भने उसले आफ्नो निकट प्रतिस्पर्धी कांग्रेसलाई ८ हजार मतको हाराहारीले पछाडि पार्न सक्नेछ। नयाँ शक्ति र कांग्रेसको गठबन्धन हुने हो भने दुई गठबन्धनबीच टक्करको प्रतिस्पर्धा हुनेछ। यद्यपि स्थानीय तहको मत हिसाब गर्दा थोरै मतअन्तरले वाम गठबन्धन नै अगाडि हुनेछ। 

भट्टराईको नयाँ शक्तिलाई एक्लै चुनाव लड्न गोरखामा सजिलो छैन। यद्यपि राष्ट्रिय स्तरको निर्वाचन र स्थानीय तहको निर्वाचनमा व्यक्तित्वले पनि असर भने पार्छ। किनभने गोरखा २ मा पछिल्ला दुई निर्वाचनमा बाबुराम भट्टराईले निकट प्रतिस्पर्धीभन्दा दोब्बर मतअन्तरले जितेको स्थान हो। तर त्यतिबेला उनी माओवादीमा थिए। 

गणना विधि 

माथिको गणनामा क्षेत्र निर्धारण आयोगको प्रतिवेदन र निर्वाचन आयोगबाट प्राप्त स्थानीय तहको निर्वाचनको मतपरिणामलाई समेटिएको छ। मतगणना गर्दा कुनै क्षेत्रमा पूरै नगर/गाउँपालिका छ भने त्यसको प्रमुख/अध्यक्षमा सम्वन्धित पार्टीले पाएको मत हिसाब गरिएको छ भने कुनै क्षेत्रमा नगर/गाउँपालिकाको वडा विभाजन गरेर राखिएको छ भने वडा अध्यक्षमा सम्वन्धित पार्टीले पाएको मतको हिसाब गरिएको छ।

अपवाद

स्थानीय चुनावमा राष्ट्रियभन्दा स्थानीय एजेण्डाले काम गर्ने देखिन्छ। चिनजानको आधारमा पनि भोट कुनै दलका उम्मेदवारलाई गएको हुनसक्छ। त्यसैले स्थानीय चुनावमा मतदान गरेकै दललाई मतदाताले प्रतिनिधि सभाको निर्वाचनमा पनि चुन्नुपर्छ भन्ने हुँदैन। दलका प्रतिवद्ध कार्यकर्ता र शुभेच्छुक बाहेक स्विङ्ग भोटरहरुको मत कता जान्छ, त्यसले मतपरिणाममा असर पार्नेछ। त्यसैगरी प्रतिनिधि सभाको निर्वाचनका लागि १२ लाख नयाँ मतदाता थपिएका छन्। नयाँ मतदाता कुन क्षेत्रमा थपिएका छन् र उनीहरुको रोजाइ के हुनेछ, त्यसले पनि परिणाममा असर पार्नेछ।
  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell