PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

तिहारका लागि भारतबाट पन्ध्र लाख फूलको माला ल्याइँदै, तीन दिनभित्र आइपुग्ने



पहिलोपोस्ट

तिहारका लागि भारतबाट पन्ध्र लाख फूलको माला ल्याइँदै, तीन दिनभित्र आइपुग्ने

  • शर्मिला पाठक 
काठमाडौँ :  गतवर्षको तिहारमा भन्दा यस वर्ष फूलको मूल्यमा १० प्रतिशतसम्म वृद्धि हुने भएको छ। गतवर्षको तुलनामा माग बढेका कारण फूलको मूल्य वृद्धि हुने भएको हो। गतवर्ष तिहारमा ११ लाख मालाको माग भएकामा यस वर्ष १५ लाख सयपत्री मालाको माग रहेको छ। 

यस वर्ष उपभोक्ताले एउटा मालाको मूल्य ६० देखि ७० रुपैयाँसम्म तिर्नु पर्ने देखिन्छ। गतवर्ष ५० देखि ६० रुपैयाँसम्ममा माला किनमेल भएको फ्लोरी कल्चर एशोसिएसनले जनाएको छ। 

प्रत्येक वर्ष १० देखि १५ प्रतिशत फूल उत्पादनमा वृद्धि हुने गरेको थियो। तर यस वर्ष फूलको उत्पादनमा कमी आएकाले तिहारका लागि तीन लाख माला आयात गरिने फ्लोरिकल्चर एशोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिए। 

उनले तीन दिनभित्रमा भारतबाट सबै माला आइसक्ने बताए। गतवर्ष दुई लाख माला आयात गरिएको थियो भने यस वर्ष माग बढेकाले ९० लाखको सयपत्री फूलको माला भारतबाट आयात गर्ने तयारी भएको छ। 

यो गत वर्षको तुलनामा ३० लाख रुपैयाँले बढी हो। गत वर्ष ६० लाख मूल्य बराबरको सयपत्री माला आयात गरिएको थियो। 

‘यस पटकको तिहारमा भारतबाट थोरै माला आयात गर्ने तयारी थियो, तर माग बढेपछि बढी आयात गर्नुपरेको हो’ श्रेष्ठले भने।

अहिले देशभित्रै ९० प्रतिशत फूल उत्पादन हुन थालेकाले १० प्रतिशत मात्र भारतबाट ल्याउनुपर्ने बाध्यता छ। यसअघिका तिहारमा १८ प्रतिशतसम्म फूल भारतबाट आयात गर्नुपर्ने अवस्था थियो। 

तिहारमा १५ लाख माला खपत हुने 

यस वर्ष तिहारमा देशभर १५ लाख फूलको मालाको कारोबार हुने भएको छ। गत वर्षको तिहारमा ११ लाखको कारोबार भएको थियो । काठमाडौँ उपत्यकामा सबैभन्दा बढी ४० प्रतिशत माला खपत हुने बताइएको छ। 

सन् २०१६ मा एक अर्ब ७१ करोड रुपैयाँको फूलको कारोबार भएकामा तिहारमा मात्र सात करोडको कारोबार भएको थियो। 

त्यसैगरी करिब पाँच करोडको फूल वार्षिकरुपमा आयात हुने गरेको छ। मुख्यगरी कात्तिक महिनादेखि फागुनसम्मको महिनामा फूल बढी खपत हुन्छ। 

तिहारमा सयपत्री र प्रणय दिवसमा रातो गुलाब फूल आयात गर्नुपरे पनि नेपाल मखमली र गोदावरी फूलमा आत्मनिर्भर बनिसकेको अवस्था छ।

अष्ट्रेलिया, मलेसियामा नेपालीले बसोबास गर्ने गरेकाले तिहारको समयमा ती देशमा मखमली फूल निर्यातसमेत हुन थालेको छ। 

व्यावसायिकरुपमा ४०० प्रजातिका फूल मात्र उत्पादन हुँदै आएको छ । यस व्यवसायबाट ४१ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लाभ लिएका छन्। नेपालमा लगभग १४७ हेक्टर क्षेत्रफलमा ६०० प्रजातिका फूल रोप्ने गरिन्छ। 

नेपालमा सन् १९५० बाट सुरु भएको पुष्प व्यवसाय सहरीकरणको विकास तथा विस्तारसँगै फस्टाउँदै गएको छ। 

फूलको मागमा आएको वृद्धिसँगै काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा, नारायणघाट, मकवानपुर, काभ्रेपलाञ्चोक, गुल्मी पाल्पा, धादिङ, चितवन र विराटनगरलगायत ४१ जिल्लामा लगभग ६७५ पुष्प फार्म तथा नर्सरी विस्तार भइसकेको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell