PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

परिवारले बुझे गौचनको शव, आजै अन्त्येष्टि गरिने



पहिलोपोस्ट

परिवारले बुझे गौचनको शव, आजै अन्त्येष्टि गरिने

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनको पार्थिव शरीरमा आज अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन्। 

प्रधानमन्त्री देउवा महासङ्घको कार्यालय अनामनगर पुगी अध्यक्ष गौचनको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका हुन्। 

सो अवसरमा प्रधानमन्त्री देउवाले स्वर्गीय गौचनका परिवारसँग भेट गरी समवेदनासमेत प्रकट गरेका थिए। 

गौचनप्रति श्रद्धाञ्जली अर्पण गर्न गृहमन्त्री जनार्दन शर्मा, गृहराज्यमन्त्री श्यामकुमार श्रेष्ठ, शुभेच्छुक तथा आफन्तहरु महासङ्घको कार्यालय पुगेका थिए। गौचनको शव १० देखि १ बजेसम्म महासङ्घको कार्यालय अनामनगर राखिएको थियो। 

अध्यक्ष गौचनको सोमबार दिउँसो नयाँ बानेश्वरस्थित घरबाट निस्कने क्रममा अज्ञात समूहको गोली प्रहारबाट निधन भएको थियो। 

गौचनको हत्यारालाई चाँडै पत्ता लगाई कारबाही गर्नुपर्ने, गौचनलाई शहीद घोषणा गर्नुपर्ने र निर्माण व्यवसायीलाई सुरक्षा दिनुपर्ने लगायतका माग राखी गौचनको शव महासङ्घ र परिवारले यसअघि बुझ्न मानेका थिएनन्। 

बुधबार गृहमन्त्री जनार्दन शर्माले गौचनलाई शहीद घोषणा गर्ने र व्यवसायीको सुरक्षाको व्यवस्था मिलाउने आश्वासन दिएपछि आज गौचनको शवलाई अन्त्येष्टि गर्न लागिएको हो। 

अहिले अध्यक्ष गौचनको शवयात्रा निकालिएको छ। महासङ्घका एशोसिएट सदस्य शिवहरि घिमिरेका अनुसार अनामनगरबाट पुतलीसडक, दरबारमार्ग, लैनचौर, सोह्रखुट्टे हुँदै बालाजुसम्म शवयात्रा गरिनेछ।

गौचनको शवलाई बालाजुस्थित थकाली सेवा समाजको कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिने र आजै थकाली परम्पराअनुसार अन्त्येष्टि गरिने परिवारजनले जनाएको छ।रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell