PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

सात वर्षमा यस्तो बन्दैछ धादिङ-काठमाडौँ सुरुङ मार्ग



दिनेश खड्का

सात वर्षमा यस्तो बन्दैछ धादिङ-काठमाडौँ सुरुङ मार्ग

काठमाडौं : आगामी सात वर्षमा सकिने गरी त्रिभुवन राजपथको नागढुङगा-नौविसे सडकखण्ड अन्तर्गत दहचोकदेखि-सिस्ने खोला २.७ किलोमिटरको सुरुङमार्ग बन्ने भएको छ। 
 
नागढुङ्गाको बढ्दो जामका बीच सडक बिस्तार गर्ने ठाउँ नभएपछि सुरुङ मार्ग बनाउन लागिएको हो। सुरुङ मार्गले सडकको दूरी समेत छोट्याउने छ। सुरुङ मार्ग ९.५ मिटर चौडार्इ हुने प्रारम्भिक अध्ययनले देखाएको छ। 

साढे तीन मिटर दरका  दुर्इ लेन सडक र बाँकी साढे दुई मिटर सडक गाडीमा समस्या आए साइड लगाउन मिल्ने गरी बनाइने छ। सुरुङको उचाइ १८ मिटरको हुनेछ।
 
सडक विभागका अनुसार नागढुङगाको फेदीमा पर्ने बस्नेत छापमा 'ह्विल माउथ' आकारमा सुरुङमार्गको पूर्वी द्वार रहनेछ भने सिस्नेखोलामा पश्चिम द्वार रहनेछ।  सुरुङ मार्गको पश्चिम द्वार पुग्न बलम्वुबाट दहचोकसम्म ३.८ किलोमिटरको नयाँ सडक बन्नेछ।  यो सडकले नागढुङ्गाबाट घुमेर जाने बाटोमा लाग्ने समय ३० मिनेट एवं लम्बाइ आठ किलोमिटरले छोट्याउने विभागले जनाएको छ।

जापानी सहयोग नियोग(जाइका)र सडक विभागको समन्वयमा सुरुङ मार्गको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर)निर्माण भैरहेको विभागका वैदेशिक समन्वय महाशाखाका प्रमुख सञ्जय श्रेष्ठले जानकारी दिए।  
 
डीपीआर निर्माण र अध्ययन १८ महिनाभित्र सम्पन्न गर्ने गर्ने लक्ष्य लिर्इएको छ। गत वर्षको असारबाट डिपिआर निर्माण सुरु भएको थियो। निर्धारित लक्ष्य अनुसार नै काम भइरहेको महाशाखा प्रमुख श्रेष्ठले जानकारी दिए। उनले यही वर्षभित्र अध्ययन र डीपीआरको काम सकेर २०७५ मा अन्तराष्ट्रिय प्रतिस्पर्धाका आधारमा ठेक्का लगाउने जानकारी दिए। 
 
देशका दुर्इ महत्वपुर्ण शहर काठमाडौं र पोखरा जोड्ने महत्वपूर्ण सडकमा बन्ने यो सुरुङ मार्गले पर्यटकीय महत्व समेत राख्ने श्रेष्ठको भनाइ छ। सुरुङमार्ग निर्माणका लागि जापान सरकारले १६ अर्ब रुपैयाँ सहुलियत ऋण दिने सम्झौता समेत गरिसकेको छ। 
 
नागढुङगा-नौविसे सडक खण्ड अन्तर्गत दहचोक देखि सिस्नेखोला २.७ किलोमिटरमा सुरुङ मार्ग निर्माण गर्न लागिएको हो। सुरुङ मार्गको लिंक रोड काठमाडौंको सितापाइलासम्म निर्माण गर्ने श्रेष्ठले जानकारी दिए।
 
सुरुङमार्ग निर्माणपछि १० मिनेटमा थानकोटबाट नौविसे  पुग्न सकिनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell