PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

मुख्य सचिव पौडेलको नेतृत्वमा भक्तपुरमा सफाइ अभियान



मुख्य सचिव पौडेलको नेतृत्वमा भक्तपुरमा सफाइ अभियान
फोटो : प्रदिपराज वन्त/रासस

काठमाडौँ : भूकम्पबाट क्षतिग्रस्त भक्तपुरका विभिन्न संरचनाका फोहरको आज नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेलको संयोजकत्वमा बृहत् सरसफाइ गरिएको छ।
 
भक्तपुर नगर क्षेत्रका छ नाकाबाटै बिहान एकै समयमा सुरु भएको सरसफाइबाट भक्तपुर नगरक्षेत्रमा भत्किएका संरचनालाई व्यवस्थित गर्ने, तथा भत्किएर थुप्रिएका संरचना हटाउने कार्य भएको छ। मुख्य सचिव पौडेलको नेतृत्वमा भक्तपुर दरबार स्क्वायरबाट, सूचना तथा सञ्चार सचिव सुनिलबहादुर मल्लको नेतृत्वमा सूर्यविनायकबाट, स्वास्थ्य तथा जनसङ्ख्या सचिव शान्तबहादुर श्रेष्ठको नेतृत्वमा च्यामासिंहबाट, विज्ञान प्रविधि तथा वातावरण सचिव कृष्णचन्द्र पौडेलको नेतृत्वमा ब्याँसीबाट र  श्रम तथा रोजगार सचिव भोला शिवाकोटीको नेतृत्वमा महाकालीबाट टोली परिचालन भएको थियो।
 
सरसफाइ अभियानमा सरकारी निकायका कर्मचारी, सञ्चारकर्मी, सुरक्षाकर्मी, निर्माण व्यवसायी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि र स्थानीय बासिन्दासहित हजारौँको सहभागिता थियो।
 
आजको सफाइ अभियानलाई समापन गर्दै मुख्य सचिव पौडेलले गत साता भक्तपुरको अवलोकनमा आउँदा यहाँका बासिन्दा र नगरपालिकाका कर्मचारीले भत्किएका संरचना सफाइ गरेको देखेर यसैबाट प्रेरित भई यो सफाइ अभियान सञ्चालन गरिएको बताउनुभयो। उनले भने, “एउटा नेपालीलाई परेको पीडा अर्कोले टुलुटुलु हेरेर बस्न सक्दैन, हामी पीडितका साथमा छौँ, यो अभियान अब सफाइ नसकिएसम्म जारी रहन्छ।”
 
वाग्मती सफाइ अभियान १०२ हप्ता पुग्दा आएको भूकम्पले वाग्मती सफाइ अभियान भूकम्पले भत्काएको संरचना हटाउने अभियानमा परिणत भएको बताउँदै उनले भने, “यतिबेला पीडित जनतालाई आड भरोसा चाहिएको छ, त्यसका लागि सबैले स्वयम्सेवी भावनाले काम गर्नु जरुरी छ।”
 
आज मात्र भक्तपुर, काठमाडौं र ललितपुरका १७  क्षेत्रका ५०  स्थानमा एकैसाथ सरसफाइ सुरु गरिएको बताइएको छ।  उनले अब वाग्मती सफाइ केही समय रोकेर तीन वटै जिल्लाको भूकम्पले क्षति पुर्‍याएका संरचना हटाउने सरसफाइमा लाग्ने बताए।
 
अर्को साता शनिबार पनि यसैगरी सफाइमा जुट्न आह्वान गरिएको छ। साधन स्रोतको अभावले आज कतिपय ठाउँमा सफाइमा केही समस्या आएकाले अर्को साता साधन स्रोतसहित सफाइमा जुट्ने उनले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell