PahiloPost

May 15, 2024 | २ जेठ २०८१

ओली, प्रचण्ड र भट्टराईबीच ६ बुँदे सहमतिमा हस्ताक्षर

ओली, प्रचण्ड र भट्टराईबीच ६ बुँदे सहमतिमा हस्ताक्षर

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नयाँ शक्तिबीच पार्टी एकताका लागि एकता संयोजना समिति गठन हुने भएको छ। तीन राजनीतिक दलबीच दलीय एकता र चुनावी एकताको विषयमा तीन दलबीच सहमति पत्रमा हस्ताक्षर भएको छ।

केपी ओली, प्रचण्ड र बाबुराम भट्टराईले सहमति पत्रमा हस्ताक्षर गरेका छन्। दलहरुबीच ६ बुँदे सहमति भएको छ। आसन्न चुनावपछि पार्टी एकता हुने सहमतिमा उल्लेख छ।


हस्ताक्षरपछि बाबुराम भट्टराईले के भने?

डाक्टर बाबुराम भट्टराईले बाम एकताको सुरुवातले नेपालको इतिहास पनि एउटा नयाँ चरणमा प्रवेश गरेको बताएका छन्। 'अब हामी नेपाललाई समृद्ध बनाई अगाडि लैजाने चरणमा छौं,' तीन बाम दलको सहकार्यमा हस्ताक्षर समारोहमा बोल्दै उनले भने, 'अब हामी कम्युनिष्टहरु, देशभक्तहरु एक भई राष्ट्रिय एकता कायम गर्ने र देशलाई केही समयमै उचाइमा पुर्याउनु्पर्ने आवश्यकता छ।' 

उनले नेपालका सम्पूर्ण कम्युनिष्ट शक्तिहरु एक हुनुपर्ने बताए। निर्वाचनमा स्पष्ट बहुमत मात्र नभई दुई तिहाई बहुमत ल्याएर कार्यकारी राष्ट्रपति बनाउनुपर्ने उनको धारणा थियो। 

प्रचण्डले यसो भने 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तीन दलबीचको सहकार्यलाई निरन्तरतामा क्रम भंग भएको बताएका छन्। उनले बृहत शान्ति सम्झौताको प्रक्रिया लगत्तै एउटै कम्युनिष्ट पार्टीको आवश्यकता महसुस गरेको बताए।  'कतिलाई थाहा होला, कतिलाई नहोला। त्यतिबेलै एकताका लागि छलफल भएर दस्ताबेज तयार पारेर पार्टीमा छलफल भएका थियो,' उनले भने, 'सायद परिपक्व भएको थिएन होला त्यतिबेला। दश वर्षअघिको अपूरो काम आज पूरा भएको छ।' 

उनले सबैलाई बधाई र शुभकामना दिँदै यो एउटा ऐतिहासिक आवश्यकता र आकस्मिकताबाट भएको बताए। 'केही समय पहिले मैले संसदमा राजनीति सम्भावनाहरुको खेल हो भनेको थिए,' उनले भने, 'हो अहिले हामी ऐतिहासिक मोडमा आएका छौं। यो कसैका विरुद्ध परिलक्षित छैन। छ त नेपाल राष्ट्र  र नेपाली जनताका पक्षमा छ। कोही भ्रमित हुनु आवश्यक छैन। यो खाली कम्युनिष्टहरुसँग मात्र एकता भएको छैन। चुनावी तालमेल लोकतान्त्रिक शक्तिसँग पनि हुनसक्छ।'

एमाले अध्यक्ष ओलीले यसो भने-

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कानुनी अड्चनका कारणमात्रै एउटै चुनावी चिन्ह लिएर आसन्न निर्वाचनमा जान नसक्ने तर एक भएर जाने बताएका छन्। एकता सभामा सम्बोधन गर्दै उनले भने -

देश र जनताप्रति समर्पित एउटै कम्युनिष्ट पार्टी गठन होस भन्ने नेपाली जनताको चाहना हो। तीन पार्टी एक भई अघि बढ्ने सहमत भएका छौं। हामी एमाले, माके र नयाँ शक्ति एउटै पार्टी निर्माणको दिशामा तपाईँहरुलाई साक्षी राखेर अगाडि बढेका छौं। यो नेपाली जनताको आकांक्षा, आवश्यकता हो। नेपालको चुनावलाई बास्तविक अर्थमा सुपरिणाम दिन सकोस र निर्वाचन उपयोगी बनोस् भन्ने उद्देश्य हो। 

एउटै चुनाव चिन्ह लिएर लड्ने कुरा कानुनी अड्चनले अप्ठ्यारो परेको छ तर यसका लागि हामी लागिपरेका छौं। हाम्रो लागि यो चुनावी तालमेल कसैका विरुद्ध छैन। मात्र नेपाल र नेपाली जनताका पक्षमा छ। माओवादी पार्टीका कार्यकर्तालाई पर्न सक्छ, एमालेका कार्यकर्तालाई पर्न सक्छ, जिम्मेवार पद छाड्यो भनेर असर पर्न सक्छ। तर, कसैले केही छाडेको छैन। हामीले देशलाई कता लैजान खोजेका छौं? स्वाधिनता, भौगोलिक अखण्डतालाई माथि उठाउन चाहन्छौं हामी। त्यसका लागि देशभक्तहरु एक हुनु आवश्यक छ। 

लोकतन्त्रका लागि अधिकारका लागि लडेका छौं। सामाजिक न्यायका लागि लडेका छौं। लोकतान्त्रिक हक अधिकार स्थापना भएको छ। लोकतन्त्रका आधारभूत मूल्य मान्यताप्रति प्रतिवद्ध छौं। देशको विविधतालाई एकता गर्न लागेका छौं। द्वन्द्व निम्त्याउनेहरुलाई परास्त गरेका छौं एक हदामा अब हामीले। सबैलाई न्याय, अधिकार, अवसर, सम्मान दिएका छौं। हिमाल पहाड तराई जहाँसुकैका जनता हुन् असमानता अन्त्य गर्नुपर्छ भन्ने मान्यता हो। यस देशमा समामाजिक न्यायका लागि उहिले देखि लडेको पार्टी कम्युनिष्ट पार्टी हो। कम्युनिष्ट पार्टी माथि अनेका आक्रमण भएका छन् भ्रम छर्ने काम भएको छ।

शान्ति कायम गरेर एकताको माध्यमबाट समृद्धिमार्फत् अघि बढ्न सक्छौं। आर्थिक समृद्धिमा लागेका छौं। त्यसैले हामीले सत्ताका पक्षमा हामीले कुनै कुरा गरिरहेका छैनौं। देशभक्त वामपन्थी सरकार बन्नेछ यसलाई कसैले मेट्न सक्दैन। अब हाम्रो ध्यान दुई तिहाईको छ। कसैले झस्किनुपर्ला जस्तो लाग्दैन। संयुक्त प्रस्तावले भ्रष्टाचार गर्दैन। यो कमिसनखोरीका पछि कुद्दैन। मंसिरपछि काठमाडौं होस् वा जुनसुकै ठाउँमा जहाँ हिँडे पनि कसैले गर्दैन। दिदी बहिनीहरु ढुक्कसाथ हिँडे हुन्छ। सन्तुलित छिमेक सम्बन्ध, बराबरीको हैसियतमा छिमेक सम्बन्ध रहनेछ।

संयुक्त राष्ट्रसंघको बडापत्रभन्दा एक अक्षर तलमाथि हुँदैन। नेपाली जनताको चाहना यति हो यो चाहना पूरा गर्छ यो गठबन्धनले। हरेक नेपालीको चेहरामा मुस्कान आउनुपर्छ भन्ने हाम्रो ध्येय हो। सबै नेपालीले सुख पाउनुपर्छ। हाम्रा अग्रजहरुप्रति स्मरण गर्न चाहन्छु। अझ धेरै मेहनत गर्नुपर्ने छ धेरै काम गर्नुपर्नेछ। नेता कार्यकर्तालाई यस अभियानमा उत्साहका साथ अघि बढ्न आह्वान। हामी सहमत भएका तीन पार्टी तमाम नेता कार्यकर्तालाइ खुसीयालीपूर्वक अघि बढ्न आह्वान गर्छु। यो अभियान अन्त्य होइन सुरुवात हो। आउनुस् साथीहरु यहाँ हामीले ठूलो र सानो भनेका छैनौं। अत्यन्त सम्मान गर्नेछौं। भावनामा प्रेरित छौं। अनेका पार्टीहरु किन चाहिए? सबै पार्टीहरु जो देशभक्त हुनुहुन्छ सबै जना आउनुस्। हामीले साठी र चालिस भनेको केही होइन। अरुलाई दिएर बाँकी रहेको हामीले लिने हो साथीहरु। सूर्य त त्यही हो नि कसको खेतमा लैजाने कसको नलैजाने भन्ने हुन्न। सबै यो अभियानमा समेटिऔं। तर कहिलेकहिले कुनै प्रकारको तालमेल भयो भने राम्रो मान्ने र अरुको तालमेल भयो भने नराम्रो मान्ने प्रवृति नहोस्। अन्त्यमा यस अभियानमा योगदान पुर्याउने सबैलाई धन्यवाद।

डाक्टर बाबुरामले नेतृत्व गरेको नयाँ शक्ति सूर्य चिन्हमा नै चुनाव लड्छ। अरु साथीहरु सूर्य चिन्हमा नै चुनाव लड्ने प्रयासमा हुनुहुन्छ। यो प्रक्रिया अघि बढ्छ। अब जनताको सरकार बनाउन र देश बनाउन एक छौं।


ट्रेन्डिङ पोस्ट

Ncell