PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

​​राहतको नाममा ल्याइयो ‘डेट एक्सपायर्ड’ सामान; पाउरोटी, परौठा चाउचाउलगायतका सामान नष्ट



​​राहतको नाममा ल्याइयो ‘डेट एक्सपायर्ड’ सामान; पाउरोटी, परौठा चाउचाउलगायतका सामान नष्ट

काठमाडौँ : वैशाख १२ गतेको विनाशकारी भूकम्पपश्चात् विदेश र स्वदेशबाट राहतका लागि ल्याइएका केही खाद्य तथा पेय पदार्थ म्याद नाघेको (डेट एक्सपायर्ड) भेटिएपछि नष्ट गरिएको खाद्य प्रविधि तथा नियन्त्रण विभागले जनाएको छ।
 
खाद्य तथा पेय पदार्थबाट जनस्वास्थ्यमा हुनसक्ने नकारात्मक असरबाट जोगाउन विभागले निरन्तर अनुगमन तथा निरीक्षण कार्य गर्दै आएको छ।  
 
भूकम्पपश्चात् पीडितहरूका लागि व्यवस्था गरिएका शिविरहरूमा वितरण हुने खाद्य तथा पानीको स्वच्छता र गुणस्तर अनुगमन निरीक्षण तथा नमूना सङ्कलन गरी प्रयोगशाला परीक्षणसमेत गर्दै आएको छ।
 
त्यसैगरी राहत सङ्कलन केन्द्रहरू- नेपाल खाद्य संस्थान, थापाथलीस्थित गोदाम, नेशनल ट्रेडिङको गोदाम, त्रिभुवन अन्तर्राष्‍ट्रिय विमानस्थलस्थित गोदाममा निरन्तररूपमा कर्मचारी खटाई खाद्य तथा पेय पदार्थको गुणस्तर अनुगमन गरिरहेको छ।
 

कुन-कुन सामान नष्ट गरियो?

वैशाख २२ गते भारतको मुजफ्फरपुरमा उत्पादित राहतका लागि ल्याइएका हजार प्याकेट वैशाली ब्राण्डको पाउरोटीको उपभोग्य मिति समाप्त भएकाले नष्ट गरिएको छ।
 
भारतबाट राहतस्वरूप कार्गोमार्फत् ल्याइएको ढुसी परेको, लेबल नभएकाले हजार किलोग्राम परौठा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित खाद्य निरीक्षण इकाइले नष्ट गरेको छ।
 
साथै राहतकै लागि ल्याइएका सिङ्गापुरमा उत्पादित कोका ब्राण्डका ४३ कार्टुन चाउचाउ उपभोग्य मिति समाप्त भएकाले धुल्याइएको छ। भारतबाट ल्याइएका वाराणसीमा उत्पादित लापुज ब्राण्डको सिन्थेटिक म्याङ्गो ड्रिङ्कको प्याकेट बिग्रेकोले ३३ कार्टुन वितरणमा रोक लगाइएको छ।
 
विभागमा उजुरी परेअनुरूप विभागको अनुगमन टोलीले सक्षम फुड एण्ड बेभरेज प्रा लि, भैँसेपाटीस्थित उद्योगबाट उत्पादित प्रशोधित पानी एक्वा बेस्ट २० लिको जारमा फोहोर देखिएको उजुरीउपर छानबिन गर्दा उक्त उद्योगले खाद्य ऐन, २०२३ अनुसार लिनुपर्ने अनुज्ञापत्र नलिएकोले उक्त उद्योगको उत्पादनमा रोक लगाइएको तथा उद्यमीलाई आवश्यक कारबाहीका लागि विभागमा उपस्थित हुन पत्र बुझाइएको छ। साथै एक्वा बेस्ट  बिक्री गर्न राखिएको ४ थान जारमा सिल गरिएको छ।

 धनुषा जिल्लास्थित डिएस पोलिटेक्निक प्राइभेट लिमिटेडद्वारा उत्पादित मेट्रोमिन्ट ब्राण्डको प्रशोधित पिउने पिउनयोग्य नपाइएकाले क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, हेटौँडाले उत्पादनस्थल निरीक्षण गरी हाललाई उत्पादन रोक्का गरिएको तथा आवश्यक कारवाहीका लागि विभागमा उपस्थित हुन निर्देशन दिइएको छ। 

राहत सामग्री वितरण व्यवस्थामा संलग्न सबैलाई मिति नाघेका, चाँडै बिग्रिने खाद्य तथा पेय पदार्थ वितरण नगर्न, भूकम्प पीडितहरूले पनि राहतस्वरूप प्राप्त गरेको खाद्य तथा पेय पदार्थको प्याकेट भए उत्पादन मिति तथा उपभोग्य मिति राम्ररी हेरी यदि उपभोग्य मिति समाप्त भएको पाइएमा उपभोग नगर्न,  उत्पादक तथा बिक्री वितरक एवम् आयातकर्ताहरूले समेत स्वच्छ तथा गुणस्तरीय खाद्य तथा पेय पदार्थ बिक्री वितरण गर्न विभागले अनुरोध गरेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell