काठमाडौं : नेपाल राष्ट्र बैंकले दुई प्रतिशतसम्ममा भूकम्प पीडितलाई कर्जा दिन वाणिज्य बैंकहरुलाई पैसा उपलब्ध गराउने भएको छ। घर भत्किएकाहरुलाई सहुलियत दिन राष्ट्र बैंकले यस्तो निर्णय गरेको हो।
‘भूकम्प पीडितलाई राहत दिने गरि दुई प्रतिशतभन्दा कम व्याजदरमा आवास कर्जा दिन राष्ट्र बैंकले नीतिगत निर्णय गरेको छ,’ राष्ट्र बैंकका डेपुटी गभर्नर महाप्रसाद अधिकारीले भने। राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई शून्य व्याजदरमा पुनरकर्जा दिने र यस्तो कर्जा बैंकहरुले भूकम्प पीडितलाई दुई प्रतिशतसम्ममा आवास कर्जा दिनुपर्ने छ।
बैंकहरुले उपत्यका भित्र २५ लाख रुपैयाँसम्म र गाउँमा १५ लाख रुपैयाँसम्म यस्तो कर्जा दिन सक्नेछन्। दुई प्रतिशतमा कर्जा दिन भुकम्पले क्षति पुगेको हुनुपर्ने छ। विगतमा कर्जा लिएका वा नलिएका सबैले यस्तो कर्जा लिन पाउँनेछन्।
केन्द्रीय बैंकले बुधबार नीतिगत निर्णय गरेको हो। यो निर्णय पछि कार्यविधि तयार गर्दै जाने केन्द्रीय बैंकको योजना छ। बाणिज्य बैंकहरुले ऋणीको कर्जा तिर्न सक्ने क्षमताका आधारमा लगानी गर्नेछन्। असुलीको संभावना नदेखे बैंकहरु यस्तो कर्जा लगानी गर्न वाध्य हुँदैनन्।
घर भत्किएर समस्यामा परेकाहरु सहयोग पुर्उने उद्देश्यले केन्द्रीय बैंकले यस्तो पुनरकर्जाको व्यवस्था गरेको हो। सस्तो व्याजदरमा कर्जा पाएपछि पीडितहरुले घरको पुनर्निमाण सुरु गर्न सक्छन्। यो निर्णयले बैंकहरुलाई कर्जा लगानी गर्न पनि प्रेरित गर्ने राष्ट्र बैंकको विश्लेषण छ।
कति घरमा क्षति भए र कति कर्जाको माग हुनसक्छ भन्ने यकिन छैन। तर कर्जा तिर्न सक्नेगरी नियमित आम्दानी भएकाहरुले आफ्नो क्षतिग्रस्त घर निर्माणका लागि सजिलै स्रोत जुटाउन यस्तो कर्जाले सघाउने छ।
