PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

अलपत्र रहेको मुलपानीको क्रिकेट मैदान खेलाडीकै सक्रियतामा बन्यो, एक महिनाभित्रै खेल्न सकिने

अलपत्र रहेको मुलपानीको क्रिकेट मैदान खेलाडीकै सक्रियतामा बन्यो, एक महिनाभित्रै खेल्न सकिने

सविन ढकाल/पहिलोपोस्ट


काठमाडौं : 'सधैको राजनीति। कहिले के भयो कहिले के। हामी वाक्क दिक्क नै भइसकेका थियौं । एक दिन पारस, ज्ञानेन्द्र, सुवास र म बसेर आफै मैदान निर्माण गर्ने निर्णय गर्‍यौं,' सबै खर्चको तयारी पनि । धेरै मेहेनत गर्नुपर्‍यो तर आज हाम्रो सपना  पूरा  भएको छ,' उनले यसो भनिरहदा मुहारमा बेग्लै चमक देखियो।

शनिवार बिहानै मुलपानीमा वर्षौदेखि अलपत्र परेको क्रिकेट मैदानमा भेटिएका क्रिकेट संघका प्रमुख कार्य सञ्चालन अधिकृत छुम्बी लामा हामीसँग गफिँदै थिए। लामा र क्रिकेट खेलाडीको पहलमा नै कही समय अगाडि बुङबुङ धुलो उड्ने मुलपानी क्रिकेट मैदानको मुहार फेरिएको रहेछ। 

यही भेटिए नेपालको जुनियर टिमका पहिलो क्याप्टेन राज श्रेष्ठ। 'कक्षा नौमा पढ्दा यहाँ क्रिकेट ग्राउन्ड बन्ने समाचार सुनेको हो २०५६ सालतिर,' राजले भने, 'यति लामो प्रतीक्षापछि बल्ल खेल्न सकिने अवस्था बनेको छ।'

हुन पनि यहाँको रुप फेरिएको छ। मैदानमा रोपिएका बर्मुडा घाँसले मैदान रमणीय बनेको छ। मैदानको बीचमा चारवटा पिच करिब करिब तयारी अवस्थामा छ। अबको एक महिनामा क्रिकेट खेल्नको लागि तयार हुन्छ,' अधिकृत लामाले भने, 'चार वटा पिचको सम्पूर्ण काम सकिएको छ। पिचमा टप ड्रेसिङ गरेर खेल्दा हुन्छ।' 

नेपाली क्रिकेट टिमले अन्तर्राष्ट्रिय जगतमा आफूलाई चिनाउँदै थियो। तर, स्वेदशमा नै क्रिकेट खेल्न र खेलाडी तयारी गर्न कीर्तिपुरको मैदानबाहेक विकल्प थिएन।  

२०६१ सालमा सरकाले मुलपानीमा अन्तर्राष्ट्रीय स्तरको मैदान निर्माण गर्ने घोषण गर्‍यो। २०६२ सालमा मैदान बनाउन सबैभन्दा पहिले लामा कन्स्ट्रक्सनले जिम्मा लियो। कम्पनीले मैदान सम्यायो, मैदान वरपर तारबार तथा पर्खाल लगाउने काम गर्‍यो। दुई वर्षपछि क्यानले पाकिस्तानी क्यूरेटरलाई ल्याएर पीच पनि तयार पार्‍यो। शुरुका वर्षमा यसरी काम भइरहँदा खेलाडीलाई समयमा नै मुलपानी मैदानमा खेल्ने पाउने आशा पलाएको थियो। तर, बाँकी ६ वर्ष व्यर्थमा नै बिते। क्यान निलम्बनमा परेपछि झनै अन्योल।

'खेलकुदमा राजनिति धेरै हुन्छ तर त्यो खेलकुदको विकासका लागि भने कहिल्यै भएन। मैदान निर्माणमा ढिलाई भएपछि हामीलाई चिन्ता लाग्दै गयो। गत वर्षको कात्तिकमा हामीले खेलकुद मन्त्री दलजित श्रीपालीलाई खेलाडी नै मिलेर मैदान बनाउछौं भनेर ज्ञापनपत्र बुझायौं,' लामाले भने, 'तर त्यसको ५ महिनापछि मात्र हामीलाई मैदान निर्माण गर्ने जिम्मा दिइयो।'

चैतमा राष्ट्रिय खेलकुद परिषदले मुलपानीको मैदानको स्तरोन्नतिका लागि १६ लाख ४० हजार बजेट विनियोजन गरी कामको जिम्मेवारी ज्ञानेन्द्र मल्ल र छुम्बी लामाको टिमलाई दियो। मैदान निर्माण गर्ने जिम्मा त पाए तर उनीहरुको लागि यो फलामको चिउरा चपाउनु झै थियो।
गरे के हुन्न र भने झै उनीहरुले पनि राज्यले १२ वर्ष सम्म गर्न नसकेको काम खेलाडीहरुको पहलमा केही महिनामा नै सम्पन गरेका छन्। 
'निकै चुनौतिपूर्ण कामको जिम्मेवारी लिएका थियौ,' लामाले भने, 'खेलाडीको मेहेनत, खेलप्रतिको प्रेमको कारणले नै यो सम्भव भएको हो ।' 

राखेपले १६ लाख बजेट चैतमा विनियोजन भए पनि उनीहरुको हातमा रकम पर्ने ४ महिनाभन्दा बढी कुर्नुपर्‍यो। त्यो बीचमा व्यक्तिगत रकम खर्चेर नै उनीहरुले मैदान निर्माण अघि बढाए। पारस, सुभाष लगायत खेलाडी आफ्नो काम नै छोडेर फिल्डमा आएर प्राविधिक सहयोग जारी राखे । लामा भन्छन्, 'सरकारी काम निकै झन्झटिलो रहेछ। हाम्रा खेलाडीले यसका लागि धेरै सरकारी निकाय धाउनु पर्‍यो।'

खेलाडीको दिनरातको मेहनत र पसिनाले मैदानको सय मिटर जाली बार लगाइयो, पूरै मैदानमा रोलिङ मेसिन लगाएर सम्याइयो, माटो भर्नुपर्ने काम पनि भयो। लामा मैदान एसियाकै राम्रो र नेपालकै उत्कृष्ट पिच निर्माण गरेको दावी गर्छन् । भन्छन्, 'मैदानको नेचुरल र पिचको हिसाबले एसियाकै राम्रो पिचमा पर्छ। पाकिस्तानी कम्पनीको निर्माण भएकाले फास्ट विकेटका लागि यो मैदान गजब हुने उनको भनाई छ।

अन्तर्राष्ट्रिय क्रिकेटको लागि कीर्तिपुर मैदानको विकल्पमा मुलापानीको हेरिएको छ। वातावरणीय प्रतिकुलता र मैदानमा चाडै पानी सुक्ने विशेषताले मैदान उत्कृष्ट बनेको पूर्व क्रिकेटर राज श्रेष्ठ बताउँछन्। मैदानको अवस्था बुझ्न फलो अपमा मुलपानी पुगेका राजले भने, 'खेलाडीहरुकै मेहनतमा यति काम भएको छ। तत्कालका लागि कम्तिमा डोमेस्टिक प्रतियोगिताको लागि विकल्प बनेको छ।'


ट्रेन्डिङ पोस्ट

Ncell