PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

सृष्टि जो आफूले नदेख्ने संसारको लागि सपना देखिरहेकी छिन्



स्वेच्छा राउत

सृष्टि जो आफूले नदेख्ने संसारको लागि सपना देखिरहेकी छिन्

आँखा देख्न छोडेपछि प्लस टू पढाउने कलेजले भर्ना लिएन। साथीहरु टाढिए। आफन्तले कुरा काटे। समग्रमा पारिवारिक वातावरण बिथोलियो। आमा सधैं रुने अनि बाबा र दाइहरु दृष्टि फर्कने आशा देखाउने। पूरा परिवारलाई तनाव र चिन्ताामा पाउँदा सृष्टि केसीले भनेकी थिइन्,'एकदिन मेरो कारण बाबा आमालाई शिर ठाडो पारेर गर्व गर्ने मौका दिन्छु।' 

अगस्त ६ मा बेलायतमा सृष्टि केसीको जीवनमाथि बनेको फिल्म 'ब्लाइन्ड रक्स'को प्रिमियर भयो। सयौंको उपस्थिति रहेको प्रिमियरमा सृष्टिले पाएको माया आमा परमेश्वरी केसीले देखिन्। छोरीको जीवनको कथामाथि बनेको फिल्म हेरेर निस्किएकी आमाले भनिन्,'हामीलाई खुशीसहित शिर उठाउने ठाउँ दिन्छु भन्थिस्। तैंले आफ्नो वचन पूरा गरिस्।' 

आमाले बोलेको शब्दहरुले दिएको खुशी उनले शब्दमा व्याख्या गर्न सकिनन् सायद। सुनाइन्, मुस्कुराइन् र कुरा मोडिन्, 'फिल्मको शो सकिएर निस्किंदा मलाई पनि लागेको थियो- दृष्टि नभएको मजस्ता धेरैको जीवनलाई नजिकबाट देखाउने भयो यो फिल्मले', उनले आफ्नो जीवन कथामाथि फिल्म बन्नुलाई आफ्नो बायोपिक मात्र नभएको जनाउँदै भनिन्,'स्टोरी लाइन मेरो हो तर कथाले त म जस्ता कयौं दृष्टिविहीनहरुको प्रतिनिधित्व गर्छ नि।' 

केसी बोलिरहँदा जति सशक्त लाग्छिन्, त्यतिनै माथि देखिन्छ उनको आत्मविश्वास। उनी बोलेको एकोहोरो सुन्न निकै मजा आउँछ। किनकी उनले बोल्ने वाक्यहरुमा सन्देश हुन्छन्, सकारात्मक भाव हुन्छन्। त्यसैले पनि होला सृष्टि केसीको मोटिभेशनल स्पिचहरु निकै रुचाइन्छ। 
'रसियामा थिएँ। फर्किएको भोलिपल्टै दाङ, सुर्खेत लगायतको ठाउँमा स्पिचका लागि जानु पर्योा। त्यति फुर्सद नै हुँदैन', उनको बोलीमा व्यस्तता साथै केही खुशीका भाव अनुभूत हुन्छन्।

बन्द आँखाबाट सपना पूरा गर्ने आँट

एसएलसी दिएपछि १६ वर्षको उमेरदेखि आँखा पूर्ण रुपले देख्न छोडेकी सृष्टिको लागि दृष्टि गुम्नु हात बाँधेर बस्नुको बहाना बन्न सक्थ्यो। तर शारीरिक अवस्थामा आएको परिवर्तनलाई उनले बहाना होइन अवसर बनाइन्। चुप लागेर बसिनन्। खुला आँखाले देखेका सपनालाई आँखा बन्द गरेर पूरा गर्ने आँट गरिन्। 'दृष्टि गुम्नु अघि पनि मेरा लागि सपना त मैले आफै नै त देखेको थिएँ। दृष्टि गुमेपछि चाहिं किन पूरा गर्न नसक्ने भन्ने प्रश्न आफैसँग गरें। त्यसपछि जवाफ खोज्नतिर नलागेर काम गर्नतिर लागें।' 

कक्षा ८ पढ्दादेखि दृश्य धमिलो बन्दै गएको महसुस गरेका थिइन् उनले। आँखाको एलर्जीका कारण डाक्टरको सिफारिशमा प्रयोग गरेको गलत औषधीका कारण जलविन्दु भयो। सृष्टि र परिवारलाई लागेको थियो 'ठीक भैहाल्छ नि'। अन्य औषधीको प्रयोग, अपरेसन, उपचार तर अहँ, दिनदिनै उनको अगाडि दृश्यहरु झन् झन् धमिलो बन्दै गए। र केही समयपछि धमिलो पनि देख्न छोडिन्। 'एसएलसी पनि आफूभन्दा दुई कक्षा जुनियरको सहायतामा दिएकी हुँ। मैले भन्ने, उसले लेख्ने।' 

सृष्टिको सफलता

एसएलसी पास गरिन्। तर कलेजले भर्ना लिन नमान्नुको पीडा बेग्लै। उनले सोचेकी थिइनन्, दृष्टि गुम्नुले च्याउसरी खुलेका कलेजहरुको समेत विश्वास गुमाउनु पर्छ भन्ने। सृष्टिले हार मान्ने पक्षमा कहाँ थिइन् र? कलेज खोज्न छोडिनन्। उनलाई जसरी पनि पढ्नु थियो। पढाइमा राम्रो गरेर देखाउनु थियो। कारण हो आफ्नो कहलिएकाहरुको 'डिमोटिभेशन'। 'केही मान्छे आउँथे र भन्थे, आँखा नदेख्ने छोरीलाई पढाएर के गर्नु? केही नपाइने कुरामा किन लगानी गर्नु?' 

भाग्यवश सृष्टिकी आमा परमेश्वरी र बुवा राजेशमानले उनको पढाइको लागि लगानी गर्नु परेन। कन्या क्याम्पसबाट आईए उत्तीर्ण गरिन्। उनले पार गरेको प्रमाणपत्र तह सामान्य रहेन। किनकी उनले कलेज टप गरिन्। साहित्यमा रुचि भएको उनले स्नातक तहमा भने नेपाली साहित्य लिएर पढिन्। पढाउनु पर्दैन भन्ने आफन्तको कुराले उनको हृदयको भित्री पाटोमा यसरी पिन्च गरेको थियो कि मन ध्यान लगाएर अध्ययन गरिन्। परिणाम उनले २०६५ सालमा नेपाली साहित्य विषयमा त्रिभुवन विश्वविद्यालय टप गरिन्। सेल्फ मोटिभेशनले लिड गरेको थियो सृष्टिलाई। त्रिवि टप गरुन्जेलसम्ममा आँखाको ज्योति फर्किने आश त थिएन। तर नेपाल सरकारले उनले हासिल गरेको सफलताको उचित मूल्याङ्कन गर्दै उनको आँखा उपचारका लागि सहयोग गर्योल। 'युरोप-अमेरिका जाने आर्थिक अवस्था थिएन। त्यसैले थोरै आश सहित इन्डियाको शंकर नेत्रालयमा आँखा जाँच गरायौं।' 

...फर्किएन सृष्टिको दृष्टि

सायद सृष्टिले दृष्टिविहीन रहँदा नै संसारलाई झन् फराकिलो कोणबाट देख्ने लेखिएको रहेछ। उनको दृष्टि फर्किएन।

सृष्टिको आत्मविश्वासले परिवारमा रहेको अन्यौलता र पिरको वातावरण फरक बनाइदियो। अवश्य पनि उनको व्यक्तित्व र जीवनका त्योभन्दा बढी परिवर्तन आयो। उनले ग्र्याजुयशनका लागि इयु छात्रवृत्ति पाइन्। हरेक सेमेस्टरको फरक ठाउँमा हुने 'डान्स एन्थ्रोपोलोजी'को कोर्स पनि नर्वे, फ्रान्स, हंगेरी र युकेमा रहेर पूरा गरिसकिन्।

भन्छिन्,'पढाइ सक्नु भन्दा पनि महत्वपूर्ण कुरा चाहिं मैले पनि गर्न सक्छु है भनेर बुझाउनु थियो। अब म दृष्टिविहीन र अशक्त हरेकमा यस्तै विश्वास भर्न चाहन्छु। म चाहन्छु हरेक दृष्टिविहीन प्रोफेशनल बनून्।' 

उनले पढाइमा डान्स रोज्नुको पनि कारण छ। स्कूल पढ्दा र आँखा देख्दादेखि नै उनी नृत्य गर्न खुब रुचाउने। स्कूलको कुनै कार्यक्रम थिएनन् होला उनी श्रृङ्गारिएर ननाचेको। त्यसैले नृत्यसँग जोडिएको इतिहास र त्यसको महत्वको विषयलाई आफ्नो शैक्षिक जीवनसँग जोडिन् उनले। 'आँखा देख्ने हुँदा राम्रो लगाएर। मेकअप गरेर ऐनामा हेरिन्थ्यो। मख्ख परिन्थ्यो र नाचिन्थ्यो। तर आँखा नदेख्दा श्रृङ्गारिनुको सीमा नहुँदो रहेछ। नाच्नुले पो बढी महत्व राख्दो रहेछ।' आँखा नदेखेरै सुन्दर नृत्य प्रस्तुत गर्दा दर्शकले दोब्बर माया गर्ने सुनाएर उनी मख्ख परिन्। उनका अनुसार जन्मदेखि दृष्टिविहीनहरुका लागि आफूलाई हाउभाउमा उतार्नु, कुराहरु व्यक्त गर्नु निकै गाह्रो काम हो। र यस्तोमा नृत्य सिक्नुले धेरै सहयोग गर्न सक्छ। 

अबका योजना

'त्यसैले म अब दृष्टिविहीन लगायतका अन्य असक्त साथीहरुका लागि आर्ट स्कूल खोल्ने प्लान सहित नेपाल आएकी हुँ', सृष्टिले आफ्नो योजना बारे बताइन्,'पढेर सिकेको कुरालाई व्यवहारमा उतार्न चाहान्छु। कलाले जसलाई पनि सकारात्मक मोटिभेशन दिन्छ त्यसैले नृत्यसँगै व्यक्तित्व विकासका अन्य तालिमहरुको लागि रेसिडेन्टियल केन्द्र बनाउने योजना छ।' 

हालका लागि सृष्टिसँग योजना र गर्छु भन्ने दृढता मात्र छ। योजना पूरा गर्नका लागि सहयोग जुट्ने आश पनि छ। 'प्रचार गरेर, फन्ड रेज गरेर, प्रपोजल लेखेर, व्यक्तिगत सहयोग जुटाएर एकदिन योजना पूरा गर्छु भन्ने छ। आर्थिक मात्र होइन हरेक किसिमको साथ र सहयोग मिल्छ जस्तो लाग्छ।' उनको विश्वास बोल्छ किनकि उनको जिन्दगीको कथाबाट धेरै मान्छे प्रेरित छन्। शरीरको अवस्थालाई बाहाना बनाएर पन्छिनेहरुको भिडमा उनी गर्न चाहन्छिन्। आफूजस्ता हजारौं दृष्टिविहीनमा कला र आत्मविश्वास भर्न चाहन्छिन्। सृष्टि आफूले नदेख्ने संसारको लागि सपना देख्दैछिन्। 

'नदेखे पनि महसुस गरेकी छु नि।' 

उनको दृष्टिविहीन आँखाले देख्ने यस्तै सपना र उनको फराकिलो सोचहरुले गर्दा उनी मोटिभेशनको स्रोत बनेकी छिन्। आर्ट स्कूल योजनामा भएपनि हाल केही नगरी बसेकी पक्कै छैनन्। सिर्जनात्मक सृष्टिले 'ब्लाइन्ड रक्स' नामक संस्था चलाउँछिन्। सन् २०१४ मा स्थापित यो संस्थाले दृष्टिविहीनहरुका लागि कलात्मक र सिर्जनात्मक विषयहरुको तालिम दिन्छ। आफू र आफ्नो संस्थाले गाउँ, टोल, स्कूल, कलेजमा गएर नृत्य, फेशन, व्यक्तित्व विकास लगायतका कुरा सिकाउने बताइन्। सृष्टि यो सबकी नेतृत्वकर्ता हुन्। जसका कारण कालो चश्मा र हातमा बोक्ने ह्वाइट केनमा सीमित छैन सृष्टिको परिचय। 

दृष्टि गुमाएको सुरुवाती दिनमा सिर्जना भएको अन्यौल, पूरा परिवारले भोगेको पीडा कहाँ बिर्सेकी छिन् र उनले? त्यसमाथि नजिकका कहलिएकाको व्यवहारमा आएको परिवर्तन। खुब दुखाउँथ्यो उनलाई। 'तर मेरो चेतना बलेपछि त उज्यालो सबैलाई भयो। पुन: सबै नजिकिए।' 
नृत्य मात्र होइन साहित्य लेखनमा पनि उस्तै रुचि छ उनको। सृष्टिले संगीत पनि औपचारिक रुपमा सिकेकी छिन्। गर्न सकिने र सम्भव रहेको कुनै पनि कामका लागि सृष्टिभन्दा निकै अगाडि देखिए उनको ह्वाइट केन। जसले उनलाई सधैं एक कदम अगाडि बढ्न प्रेरित गर्‍यो।

तत्काललाई उनी लिभ एण्ड लिड नामक संस्थासँग मिलेर नेपालमै पहिलोपटक 'ब्लाइन्ड- क्विज ब्याटल' सुरु गर्दैछिन्। कार्यक्रम दृष्टिविहीनहरुले आफूमा भएको ज्ञान र प्रतिभा प्रस्तुत गर्ने राम्रो मौका बन्ने उनको विश्वास छ। इमेज च्यानलबाट प्रसारण गराउने तयारी गरेको कार्यक्रमकै लागि दौडधूपमा रहेकी उनीसँग धेरै समय नै छैन। 'जे गरेपनि समर्पित भएर गर्नुपर्छ। मन र इच्छा भए एक समस्याको चार पाँचवटा समाधान निस्कन्छन्।'  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell