PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

किन प्रभावकारी हुन सकेन परिवार नियोजन कार्यक्रम ?



पहिलोपोस्ट

किन प्रभावकारी हुन सकेन परिवार नियोजन कार्यक्रम ?

  • कल्पना पौडेल 
काठमाडौं : सरकारले परिवार नियोजनसम्बन्धी कार्यक्रम सञ्चालन गरे पनि अपेक्षाकृत रुपमा प्रभावकारी भएको पाइँदैन। 

सरकारी तथ्यांकअनुसार १५ देखि १९ वर्ष उमेर समूहका जम्मा १९ प्रतिशत विवाहित किशोरीले मात्र परिवार नियोजनको साधन प्रयोग गर्नेछन्। 

विभिन्न जिल्ला, विकटमा रहेका स्वास्थ्य संस्थामा अहिले पनि सहज रुपमा परिवार नियोजनका साधन पाइँदैन। समयमै खरिद गर्न नसक्दा परिवार नियोजन साधनको अभाव सधै हुँदै आएको छ भने कार्यक्रमको प्रभावकारितामा समेत असर परेको छ। 

१५ देखि ४९ वर्षसम्मका व्यक्तिले जुनसुकै साधन अपनाएका ५० प्रतिशत र आधुनिक मात्रै प्रयोग गर्ने ४७ प्रतिशत रहेका छन्। 

कम उमेरमा विवाह गर्ने किशोरकिशोरीले परिवार नियोजनका साधन कम प्रयोग गर्ने गरेको परिवार स्वास्थ्य महाशाखाको भनाइ छ। 

सन् २०१४ को मल्टिपल इन्डिकेटर क्लस्टर सर्वे (एमआइसीएस) को नतिजाअनुसार कम उमेरमा बिहे गरेका किशोरकिशोरीले परिवार नियोजनका साधनको प्रयोगदर निकै कम रहेको पाइएको छ। 

किशोरी अवस्थामा गर्भको कारणले हुने मातृ मृत्युदर २० वर्ष भन्दामाथिका महिलामा भन्दा दोब्बर हुने सम्भावना रहने महाशाखाको तथ्यांक छ। 

नेपालमा अझै १७ जिल्लामा परिवार नियोजनको साधन प्रयोगदर ३० प्रतिशतभन्दा कम रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

नेपालमा १० देखि १८ वर्षसम्मका २५ प्रतिशत अर्थात् ६४ लाख किशोरकिशोरीमध्ये धेरैको १८ वर्षको उमेरमा पहिलोपल्ट शारीरिक सम्पर्क हुने भए पनि गर्भनिरोधक साधनको कम प्रयोग गर्ने गरेका छन्। 

परिवार स्वास्थ्य महाशाखाका निर्देशक डा नरेशप्रताप केसीले सरकारले परिवार नियोजनसम्बन्धी पाँच वर्षीय कार्ययोजना (२०१५/२०२०) मा सन् २०२० सम्ममा कुल प्रजनन दरलाई २.१ मा पुर्याउने र परिवार नियोजन सेवाको आधुनिक साधनको प्रयोग दर ५० प्रतिशतमा पुर्याउने लक्ष्य लिएको जानकारी दिए। अहिले प्रजनन दर २.३ रहेको छ । 

विभिन्न सर्वेक्षणअनुसार साधनको माग विशेषगरी किशोरी, प्रसूति, दुर्गम र गरिबमा बढी रहेको देखिएको छ। करिब २५ प्रतिशतले साधनको माग गरेको पाइएको भए पनि त्यसको परिपूर्ति गर्न सरकारले सकेको छैन। 

स्वास्थ्य सेवा विभाग, परिवार स्वास्थ्य महाशाखाद्वारा ‘चौथो राष्ट्रिय परिवार नियोजन दिवस’ को अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य सचिव डा किरण रेग्मीले परिवार नियोजनका साधनको अभाव कम गर्न स्थानीय निकाय परिचालन भएपछि सहज हुने विश्वास व्यक्त गरिन्। 

उनले भनिन्,‘स्वास्थ्यका केन्द्रीयस्तरका ठूला कार्यक्रम स्थानीय निकायमा जाँदा प्रभावकारी रुपमा सञ्चालन होला नहोला भन्ने शंका थियो, तर स्थानीय प्रतिनिधिसँगको पटकपटकको छलफलमा त्यो शंका हटेर गएको छ, अब पहिलेको भन्दा अझ प्रभावकारी रुपमा कार्यक्रम सञ्चालित हुन्छन् भन्ने विश्वास जागेको छ।’ 

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा राजेन्द्र पन्तले परिवार नियोजनका साधनको पहुँच हरेक वर्ग, समुदाय र जातिसम्म पुर्याउन नसकिएकाले यसतर्फ पनि पुनरावलोकन आवश्यक भएको बताए। 

सरकारले परिवार नियोजनको महत्व र यसबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विसं २०७१ देखि असोज २ अर्थात सेप्टेम्बर १८ तारिखका दिन परिवार नियोजन दिवस मनाउने निर्णय गरेको थियो। 

कम उमेरमा बच्चा जन्माउनु आमा र बच्चा दुवैका लागि खतरनाक हो। तर त्यसबाट जोगिन कम उमेरमै बिहे गरेका किशोरीले अपनाउनुपर्ने परिवार नियोजनका साधनप्रति भने ध्यान दिएकै छैनन्।रासस

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell