PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

लजालु ध्वाँसे चितुवाको पहिलो र दुर्लभ तस्वीर



लजालु ध्वाँसे चितुवाको पहिलो र दुर्लभ तस्वीर

  • राजु आचार्य-
सुनसरीको वन घुम्ने क्रममा उनले बिरालो जस्तो जन्तु देखे। शुरुमा त ढाडे जस्तो लाग्यो। शारीरिक रुपमा कमजोर देखिएको उक्त जन्तु  अरु नभई ध्वाँसे चितुवा नै भएको निर्क्योल गरे। फेसबुकमा राखेको केही बेरमा बल्ल थाहा पाए। नेपालमा यो तस्वीर उनले पहिलो पटक खिचेका रहेछन्। विश्वभर नै यसको तस्वीर विरलै खिचिएका छन्।  फोटोग्राफर उज्ज्वल  उपाध्यायको खुसीको सीमा रहेन। चितुवाको सुरक्षाका कारण फोटो खिचेको ठाउँ भने उल्लेख गरेनन्।   
 
नेपालमा लामो समयदेखि यही प्रजातिको बारेमा अध्ययन गरिरहेका ‘प्रकृतिका साथीहरु’का अनुसन्धानकर्मी यादव घिमिरेले पनि प्राकृतिक वासस्थानमा खिचिएको यो तस्वीर नेपालमा पहिलो भएको पुष्टि गरे। उनले थपे, ‘पछि लागेको ८ वर्ष भयो। क्यामरा ट्रयापमामा त थुप्रै पटक परियो तर, प्राकृतिक  वासस्थानमा हेर्ने र फोटो खिच्ने धोको पुगेको छैन। उज्ज्वल जी त भाग्यमानी हुनुहुँदो रहेछ।’
 
प्राध्यापक करणबहादुर शाहले पनि यो प्रजाति सजिलै नदेखिने बताए। उनले थपे ‘संखुवासभा जिल्लामा सन् १९९१ मा छाला भेटेको  थिएँ।  नेपालका ७० भन्दा बढी जिल्लामा अध्ययनमा बिताएका शाहले थपे ‘यिनको बारेमा धेरै ठाउँमा सुनेको छु तर, वासस्थानमा आँखाले देखेको छैन।’ 

नेपालमा पाइने १२  बिरालो प्रजातिमध्ये यो लजालु स्वभावको हुन्छ। नेपालमा तराईदेखि २३९४  मिटरको उचाइसम्म अभिलेख गरिएको छ। नेपालमा सबैभन्दा पहिला सन् १८५३ मा काठमाडौंमा छालाको अभिलेख गरिएको छ। सन् १९९४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तस्करी हुन लागेको अवस्थामा तीन वटा ध्वाँसे चितुवाका बच्चाहरु बरामद गरिएको थियो। 

सन् २०१० मा राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागद्वारा विष्णु पाण्डेको नेतृत्वमा गरिएको अध्ययनले शिवपुरी क्षेत्रमा सबैभन्दा पहिला स्वचालित क्यामरामा पारेको  थियो। हाल गौरीशंकर संरक्षण क्षेत्रमा संरक्षण अधिकृत रहेका पाण्डेले गत वर्ष सो क्षेत्रमा छालाको अभिलेखसमेत गरेका थिए। ध्वाँसे चितुवा अनुसन्धानकर्मी यादव घिमिरेद्वारा गत वर्ष लेखिएको वैज्ञानिक लेखमा ३२ वटा यस्ता उपस्थितिको उल्लेख गरिएको छ। घिमिरेले सो प्रजाति प्रकाशमा आए जस्तो दुर्लभ नभएको जिकिरसमेत गरेका छन्। 

वन विनाश, डढेलो, चोरी शिकारी, अवैध व्यापार यसका संरक्षण चुनौतिमा देखिएका छन्।
 

यो प्रजातिबारे केही जानकारी

 
•    यो प्रजातिले भूइँमा भन्दा रुखमा समय बिताउने गर्दछ। यो रुखमा बाँदर झैँ चढने, उफ्रने तथा झुन्डिने गर्नसक्छ। यी राम्रो पौडीबाज पनि हुन्। 

•    रुखका टोड्कोमा बस्ने भएकोले टोड्के बाघसमेत भनिन्छ।
 
•    नेपालमा यसबारे रसुवा, कास्की, लमजुंग तथा संखुवासभा जिल्लामा  स्वचालित क्यामरा विधिबाट अध्ययन गरिएको छ।
 
•    यो प्रजाति राति मात्रै सकृय हुन्छन्। तर, यस पटक खिचिएको तस्वीर भने दिउँसोको छ।
 
•    नेपालमा यो प्रजातिलाई लाेपउन्मुख सूचीमा राखिएको छ। नेपाल सरकारले यो प्रजातिलाई  संरक्षित प्रजातिमा पनि सुचिकृत गरेको छ। 

•    यसको पूच्छर र शरीरको लम्बाई बराबर हुन्छ। यिनीहरुको तौल २२ केजीसम्म हुने अभिलेख राखिएको छ।
 
•    यिनीहरुले बाँदर, मृग, कालिज, बँदेल लगायत जनावर खाने गर्दछन्। 






  



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell