- ऋषिकेश दाहाल/सविन मिश्र
'म गाई र बूढी बाख्रा चराउँदै थियौं,' हर्कमानले सुनाए, 'कसो गरेर घर गइछ त्यही किचिइ।' उनले हारगुहार गरे र मानिस बोलाए। घाँटीसम्मै पुरिएकी सन्तमायालाई भत्किएको घरबाट निकाले।
उनका पाँच भाइ छोरा छन् तर अझै सन्तमायालाई अस्पताल पुर्याउन सकेका छैनन्। 'यहाँसम्म त मुस्किलले ल्याइयो,' हर्कमानले सुनाए, 'यहाँबाट जचाउन लैजानै सकिएको छैन।'
त्यसो त ठाडेसम्मको बाटो पूरै अवरुद्ध थियो। भूकम्पको एक सातापछि आइतबार नै डोजरले पहिरो पन्छायो। पहिरो पन्छिए पनि यहाँसम्म गाडीको ओहरदोहर करिब ठप्पै छ। सार्वजनिक यातायात सुचारु छैनन्।
हर्कमानले पत्नीको अवस्थाबारे बिलौना गरिरहँदा उनको आँखामा सहयोगको याचना प्रस्टै देखिन्थ्यो, 'घर लडेको छ। गाईवस्तु भोकै,' उनले भने, 'छोराहरु त्यतै भूलेका छन्। उपचार गराउन लैजानै सकिएको छैन।'
उनको गाउँ हाउबेसी यहाँबाट ३ घन्टा तल ओर्लिएपछिमात्रै पुगिन्छ। भूकम्पले घरबार अलपत्र पारेपछि ८० वर्षे उमेरमा उनीमाथि अझै बोझ थपिँदो छ। उनको पीडादायी बयान सुनेपछि सोध्यौं, 'केही पाउनु भएको छैन राहतमा ?'
'नाम टिपाएको छु,' उनले सुनाए। सडकमा अलपत्र अवस्थामा भेटिएका उनको बिलौनाले बोझिलो मन बनाएर फर्किँदै गर्दा ५ किलोमिटर दुरी के तय भएको थियो एक मझ्यौला कद, शिरमा ह्याट र रुक्स्याक बोकेका मानिस देखिए। चिनेचिने जस्तै लागेपछि हामी रोकियौं।
डाक्टर गोविन्द केसी पर्यटक झै लाग्ने गरी लम्कँदै रहेछन्।
'सर कहाँसम्म ?,'
गोविन्द केसीले सधैँ झै जवाफ फर्काए, 'जहाँ धेरै घाइते छन् त्यहाँसम्मै पुग्छु।'
धैबुङको कालिकास्थानबाट करिब १० किलोमिटर उनी पैदलै यहाँ आइसकेका थिए। अनुहारमा ऊर्जा र जोश प्रस्टै देखिन्थ्यो।
'आफ्नै स्वास्थ्यस्थिति कमजोर भएको बेला तपाईँ एक्लै हिँड्नु नहुने नि,' हामीले उनको अवस्थाबारे औल्याउँदै चिन्ता प्रकट गर्दा उनी मुस्काए। भने, 'मभन्दा मुलुक कमजोर भएको छ।'
उनी आज रसुवाको धुन्चे बजार पुग्ने मनस्थितिमा थिए। त्यहाँबाट माथितिर जहाँ पीडित छन् त्यही र जति दिन आवश्यक पर्छ त्यति दिन बस्ने उनको तयारी छ।
लामो यात्रा र थकित हाम्रासामु पीडाका तस्बिरमात्र आँखामा थिए। सबैभन्दा पीडाको तस्बिर ८० वर्षीय वृद्धाकै थियो। याचनापूर्ण उनको बोली मनमा बिझिरहेकै समय अस्ताउँदो सूर्यको पारबाट उदाइरहेका डा गोविन्द केसी देख्दा हाम्रो मन हलुको भयो।
'केही माथि एक वृद्ध आफ्नी पत्नीलाई लिएर आएका छन्। तीन दिनभयो तर उपचार गराउन सकेका छैनन्,' हामीले आफ्नै पाराले बह पोख्यौं।
'कहाँनेर हो ?'
'५ किलोमिटरजति माथि हो'
'हस् म हेरिहाल्छु नि'
हँसिलो मुहार पार्दै उनले उपचार गर्ने सुनाउँदा हाम्रो मन केही हलुंगो भयो। जाजरकोटबाट सिन्धुपाल्चोक चहारेर एक्लै रसुवा पुगेका उनीप्रतिको सम्मान थप बढ्यो।