PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

चिकित्सकको लापरवाहीले विरामीको मृत्यु भएको भन्दै ओम अस्पतालमा तनाव, अस्पताल तोडफोड



सागर बुढाथोकी

चिकित्सकको लापरवाहीले विरामीको मृत्यु भएको भन्दै ओम अस्पतालमा तनाव, अस्पताल तोडफोड

काठमाडौंः नाकको शल्यक्रिया गर्दा बिरामीको मृत्यु भएको भन्दै मृतकका आफन्तले ओम अस्पतालमा नाराजुलुस गरेका छन्। 

बुटवलकी ४० वर्षीया कमला भट्टरार्इको नाकको शल्यक्रिया गर्दा चिकित्सकको लापरवाहीले  मृत्यु भएको बिरामीका आफन्तहरुले बताएका छन्। 
भट्टराई बुटवल अस्पतालको अहेव थिइन्।

मृतकका आफन्त र अस्पताल प्रशासनबीच अहिले वार्ता भइरहेको छ। मृतकका आफन्तहरुले नारा जुलुस गर्दै अस्पतालको सिसा तोडफोड गरेका अस्पतालका प्रशासन प्रमुख विनय प्याकुरेलले बताएका छन्।

बुटवलबाट घुम्न आएकी कमलालाई नाकको समस्या भएपछि गत शनिवार ओम अस्पतालमा भर्ना गरिएको थियो।

 मृतकका भाइ नारायण न्यौपानेका अनुसार शल्यक्रियापछि उनलाई वार्डमा सारिएको थियो।

‘वार्डमा सारेपछि अत्यन्तै गाह्रो भयो। डाक्टरहरु थिएनन्। नर्सहरुले ग्यास्ट्रिक भन्दै औषाधि खुवाए। त्यतिले पनि नभएपछि मध्यराति १२ बजे आइसीयुमा सारियो।’ न्यौपानेले भने, ‘ त्यसको डेढ घण्टापछि नर्सहरुले हृदयघाट भएको खबर दिए। कार्डियोलोजिस्ट थिएनन्। औषाधिमात्र खुवाए।धेरै अनाआवश्यक औषधि खुवाएको कारण मृत्यु भएको हो।’

रातिदेखि बिरामी जोखिममा रहेपनि आइतवार बिहान मात्रै कार्डियोलोजिस्ट डाक्टर चन्द्रमणी अधिकारी अस्पताल आएका न्यौपाने बताउँछन्।

भन्छन्, ‘ डाक्टर अधिकारीले हृदयघाट नभएको भन्दै गए। त्यसपछि डाक्टर प्रकाश शाह आएर मृगौला फेल भएको बताए। प्रेसर लो भयो। अगंहरुले काम गर्न छोड्यो। आइसियुमा राख्दा राख्दै आज मृत घोषणा गरे।’

मृतकका आफन्तले मृत्युको स्पष्ट कारण नखुलाए आन्दोलन गर्ने चेतावनी दिएका छन्। 

अस्पतालका प्रशासन प्रमुख प्याकुरेलका अनुसार डाक्टरको लापरवाहीको कारण मृत्यु भएको होइन। सम्वेदनशील अंग भएकाले शल्यक्रियापछि इन्फेक्सन भएको हो। उनले भने , ‘हामीले बचाउने प्रयास गर्दा गर्दै मृत्यु भयो। डाक्टरको लापरवाहीले मृत्यु भएको भए हामी कारवाही भोग्न तयार छौँ।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell