PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

स्थलगत रिपोर्ट : गोरखामा भत्केका घर ५८ हजार, वितरण भएको त्रिपाल तीन हजार



स्थलगत रिपोर्ट : गोरखामा भत्केका घर ५८ हजार, वितरण भएको त्रिपाल तीन हजार

  • ऋग्वेद शर्मा/पहिलोपोस्ट
गोरखा : शनिबारको भूकम्पले गोरखामा ५८ हजार घर भत्किए। तर, सरकारी तवरबाट अहिलेसम्म तीनहजार एकसय ७९ वटा त्रिपाल मात्रै बाढिएको छ।
 
जिल्ला दैवी प्रकोप उद्दार समितिका अनुसार अहिलेसम्म विभिन्न संघ संस्थाले जिल्लामा १५ हजर आठसय ५१ वटा त्रिपाल पठाए पनि त्यो अहिलेसम्म वितरण हुन सकेको छैन। यो पनि बाढ्ने हो भने जिल्लाका १८ हजार पीडित परिवारले राहत स्वरुप त्रिपाल पाउने छन्। तर यसरी पालै नपाउनेको संख्या पनि अझै ४० हजार छ।
 
शनिबारको विनासकारी भूकम्पको केन्द्रविन्दु रहेको गोरखाका कतिपय ग्रामीण बस्तीमा अझै पनि मानसिहरु त्रसित छन्। छिन छिनमा गइरहने भूकम्पको धक्काले मानिसहरुलाई थप त्रसित बनाएको छ।
 
शनिबार राति चलेको हावा हुरीका कारण मानिसहरु निकै त्रसित बनेका छन्। भूकम्पको धक्का र हावाहुरीका कारण खुला चौरमा बस्न पनि समस्या भएको बताउँछन् गोरखाका मोहनलाल श्रेष्ठ।
 
जिल्लामा पुगेका सम्पूर्ण राहत  सामग्री एकद्वार प्रणालीमार्फत वितरण गरिएको दैवी प्रकोप उद्दार समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी उद्धव तिमल्सिनाले बताए। पहिलो चरणको वितरण सकिए पनि धेरै पीडितले केही नपाएको गुनासो गरिरहेका छन्। 

राहत खोज्दै एक दिनको यात्रा

भूकम्पले क्षतिग्रस्त गाउँ मान्बुका केही स्थानीय युवा एक दिन हिडेर आरुघाट आम्लेचौरमा राहतको आशामा झरेका छन्। पाएको थोरै राहत पनि गाउँसम्म पुर्या‍उन समस्या भएको उनीहरुले बताए। 

मान्बुका कुमार गुरुङ भन्छन्, ‘सरकारको हेलिकोप्टर हाम्रो गाउँमा जाँदैन, अवस्था नाजुक हुँदै गएको छ, यसलाई रोक्न सबैले पहल गरिदिनुपर्यो।’ मान्बुकै बेशबहादुर गुरुङ पनि पहुँच हुनेले मात्रै राहत पाएको भन्दै आफूहरुको बिचल्ली भएको गुनासो गर्छन।
 
गोरखाका बिकट गाउँहरु काशिगाउँ, केरौँजा, लापु, गुम्दा, लाप्राक र रुनचेतमा पनि राहत पुग्न सकेको छैन। 

कालोबजारी गर्ने व्यापारी पक्राउ

गोरखा बजार स्थित शक्तिचोकमा रहेको खोप्लाङी पसलका व्यापारी कृष्णकुमार श्रेष्ठलाई महँगोमा त्रिपाल बेचेको भन्दै प्रहरीले पक्राउ गरेको छ। जिल्ला विकास समितिमा राहतका सामानहरु आइसकेको भएपनि सबैतिर वितरण सुरु नभएकाले केही व्यापारीले फाइदा उठाएको भन्दै अनुगमन गर्दा उनले महँगोमा बेचेको पाइएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

श्रेष्ठले त्रिपाललाई तीन गुणा महँगोमा बेचेका थिए। प्रहरीले उनको पसलमा रहेको २३ वटा त्रिपाल पनि जफत गरेको छ। 

हल्लाले मानिसहरुमा तनाव

शनिबार विहानको भूकम्प र त्यसपछि बारम्बार धक्का महसुस हुनाले मानिसहरुमा भूकम्पको भय व्याप्त छ। यस्तोमा विभिन्न प्रकारका हल्लाले मानिसहरुमा त्रासदी झनै फैलिरहेको छ। आधिकारिक निकायबाट हल्लाको पछि नलाग्न बारम्बार अनुरोध भइरहे पनि नचाँहिदो हल्लाले पटकपटक भागाभाग भइरहेको छ। 

घर सुरक्षित भएकाहरु पनि फेरि खुल्ला ठाउँमा त्रिपाल राखेर बस्न थालेका छन्। हल्ला हो भन्ने थाहा हुदाँहुँदै पनि हुन्छ कि त भन्ने डर लागेर बाहिर निस्केको बताउँछन् स्थानीय सन्जोग मास्के।
 
गोरखा बजारमा एउटा छोरा भएकी आमाले १२ वटा चकलेट किनेर एउटा छोरा भएका अरु महिलालाई बाढ्यो भने भूकम्प रोकिन्छ भन्दै केही महिलाहरु चकलेट बाँढ्दै गरेका समेत भेटिएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell