PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

स्पोर्ट्स अवार्ड : उत्कृष्ट प्रशिक्षकको मनोनयनमा फुटबलबाट दुई जना



पहिलोपोस्ट

स्पोर्ट्स अवार्ड : उत्कृष्ट प्रशिक्षकको मनोनयनमा फुटबलबाट दुई जना

काठमाडौं : खेलाडीको सफलताको पछाडि गुरु अर्थात् प्रशिक्षकको मुख्य भूमिका रहेको हुन्छ। त्यसैले पल्सर स्पोर्ट्स अवार्डमा पनि वर्षका उत्कृष्ट प्रशिक्षकको अवार्ड आकर्षणको रुपमा रहेको छ। यस विधामा यसपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक योतोकु कोजी र थ्रीस्टार क्लबका मेघराज केसी, एथलेटिक्सका पुष्पराज ओझा, क्रिकेटका जगत टमाटा र ब्याडमिन्टनका किरण थापा मनोनयनमा परेका छन्।

अघिल्लो संस्करणमा वर्षका उत्कृष्ट खेलाडी पुरुष, महिला र पिपुल्स च्वाइस अवार्डका विजेतालाई पल्सर मोटरसाइकल पुरस्कार दिइएको थियो। प्रशिक्षक विधाका विजेतालाई पनि मोटरसाइकल थप गरिएको छ। यसपाली पल्सर मोटरसाइकल विजेता बन्नका लागि पाँच प्रशिक्षक बीच प्रतिस्पर्धा हुँदैछ।

जापानी कोजी एएफसी सोलिडारिटी कपमा नेपाली राष्ट्रिय टिम च्याम्पियन हुँदाका प्रशिक्षक हुन्। मलेसियाको कुचिङमा भएको फाइनलमा मकाउलाई १–० ले हराएर नेपालले अन्तर्राष्ट्रिय फुटलबमा अहिलेसम्मकै सबभन्दा ठूलो उपलब्धि हात पारेको थियो। त्यही उपलब्धिको आधारमा नेपालले फेरि एसियन कप २०१९ को छनोट खेल्ने अवसर पनि पायो। उनले सम्हालेको नेपाली टिमले २०७३ सालमा ६ खेलमा ३ जित पारेको थियो भने २ बराबरी गरेको थियो। एक खेलमा भने हार बेहोरेको थियो।

अर्का फुटबल प्रशिक्षक मेघराज केसीले थ्रीस्टारलाई गत वर्ष दुई प्रतियोगितामा सफलता दिलाएका थिए। एएफसी कपको प्रारम्भिक छनोटमा मंगोलिया र कम्बोडियाली लिग च्याम्पियनलाई पन्छाउँदै थ्रीस्टार शीर्षस्थनमा रहेर अन्तिम प्ले–अफमा छनोट भएको थियो। उनकै नेतृत्वमा थ्रीस्टारले फाइनलमा इस्ट बेंगाललाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै गुवहाटीमा भएको ६४ औं बोर्दोलोई ट्रफिको उपाधि जितेको थियो।

रियो ओलम्पिकमा सरस्वती भट्टराई र हरिकुमार रिमालका प्रशिक्षक हुन्, पुष्पराज ओझा। उनका चेली सरस्वतीले रियोमा १५ सय मिटरमा २६ वर्ष पुराने राष्ट्रिय कीर्तिमान तोडेकी थिइन्। ओझाले सम्हालेको त्रिभुवन आर्मी क्लबले सातौं राष्ट्रिय खेलकुदको एथलेटिक्समा सर्बाधिक २२ स्वर्ण, १६ रजत र ८ कांस्यपदक पनि जितेको थियो।

जगत टामाटा नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक हुन्। उनले गत वर्ष विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाललाई ६ खेलमध्ये ४ खेल जिताएका थिए। त्यसक्रममा नेपाल शीर्षस्थानको नेदरल्यान्ड्सलाई पराजित गर्ने एक्लो टिम बन्यो। नेपालले च्याम्पियनसिपमा नामिबियाविरुद्ध २ र केन्यासँग १ खेल पनि जितेको थियो। त्यस्तै, इमर्जिङ टिम्स कपमा हङकङलाई पनि हराएको थियो।

गत वर्ष नेपालले अन्तर्राष्ट्रिय ब्याडमिन्टनमा ऐतिहासिक स्वर्णपदक हात पारेको थियो। उक्त सफलता नङ्सल तामाङ र रत्नजित तामाङले पाकिस्तान इन्टरनेसनल सिरिजको मिक्स डबल्समा दिलाएका थिए। तामाङ दिदी–भाइले ४ खेल जित्दै स्वर्ण हात पारेका थिए। उक्त प्रतियोगितामा नङ्सलले वुमेन्स सिंगल्समा पनि कांस्यपदक जितेकी थिइन्। त्यसबेला नेपाली टिमका मुख्य प्रशिक्षक हुन्, किरण थापा। उनी नेपाल इन्टरनेसनल सिरिजमा घरेलु टिमका ३ मध्येका एक प्रशिक्षक पनि हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell