PahiloPost

May 22, 2024 | ९ जेठ २०८१

खेलकुद राष्ट्रिय प्रतिभा सम्मानबाट ८ खेलाडी सम्मानित



पहिलोपोस्ट

खेलकुद राष्ट्रिय प्रतिभा सम्मानबाट ८ खेलाडी सम्मानित

काठमाडौं : युवा तथा खेलकुद मन्त्रालयले विभिन्न ७ खेलका ८ खेलाडीलाई खेलकुद राष्ट्रिय प्रतिभा सम्मान– २०७४ बाट सम्मान गरेको छ। खेलाडीसहित २ प्रशिक्षक र १ राष्ट्रिय खेल संघलाई पनि नगदसहित सम्मान गरियो।

सम्मानित हुने खेलाडीमा एथलेटिक्सका हरिकुमार रिमाल, फुटबलका किरण चेम्जोङ, पारा तेक्वान्दोकी सीता भण्डारी, जुडोकी ममिता श्रेष्ठ प्रधान, आर्चरीका जितबहादुर मोक्तान, ब्याडमिन्टनकी नङशल तामाङ तथा भलिबलका इमबहादुर राना मगर र प्रतिभा माली रहेका छन्। भलिबलका दुवै खेलाडीले समान ५०–५० हजार तथा बाँकीले जनही १ लाखसहित सम्मान पत्र पाए।

सम्मानित प्रशिक्षक ब्याडमिन्टनका किरण थापा र करातेका दीपक श्रेष्ठले जनही १ लाख रुपैयाँसहित सम्मान पत्र पाए। उत्कृष्ट खेल संघका रुपमा सम्मान गरिएको नेपाल भारोत्तोलन संघलाई पनि १ लाख दिइयो। उत्कृष्ट प्रायोजकका रुपमा एसियन थाइ फुड प्रा.लि. महेशकुमार जाजु र सिटिजन्स बैंकलाई सम्मान पत्र प्रदान गरी सम्मान गरियो। अखिल नेपाल लनटेनिस संघ र नेपाल ब्याडमिन्टन संघलाई सम्मान पत्रबाट सम्मान गरियो।

अन्तर्राष्ट्रिय पदक विजेता सम्मानति

आर्थिक वर्ष २०७३-७४ सालमा भएका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई पनि नगदसहित सम्मान गरियो।

उक्त आर्थिक वर्षमा पदक प्राप्त गर्न सफल ३ सय १६ खेलाडीलाई नगदसहित सम्मान गरिएको राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रशासकीय अधिकृत चन्द्रकुमार राईले जनाएका छन्।

यस अवधिमा नेपाली खेलाडीले विभिन्न खेलको व्यक्तिगत स्पर्धामा १०३ स्वर्ण, ८४ रजत र ७५ कांस्य तथा टिम स्पर्धामा २८ रजत र २४ कांस्य पदक राष्ट्रलाई दिलाएका थिए। व्यक्तिगत र टिममा स्वर्ण जित्नेलाई १५ हजार, रजतलाई ८ हजार र कांस्यलाई ४ हजारका दरले नगदसहित सम्मान पत्र प्रदान गरिएको थियो।

सबैलाई राखेपको ५४ औँ वार्षिकोत्सवका अवसरमा सातदोबाटोमा आयोजित एक कार्यक्रम बीच युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसी, राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, कोषाध्यक्ष सुरेन्द्रबहादुर हमाल, सदस्य गंगाबहादुर थापा, सुदिल शाही, उपेन्द्र पौडेललगायतले सम्मान गरे। सो अवसरमा सातौं राष्ट्रिय खेलकुदको स्मारिक पनि मन्त्री केसीले विमोचन गरेका थिए।


दाहाल र कठायत सर्वोत्कृट कर्मचारी

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले प्रशासनतर्फ मकवानपुर जिल्ला खेलकुद विकास समितिका प्रमुख खुशराज दाहाल र प्राविधिकतर्फ ब्याडमिन्टन प्रशिक्षक मेघराज कठायतलाई सर्वोत्कृष्ट कर्मचारीको पुरस्कार प्रदान गरेको छ।

प्रशासनतर्फ धनकुटा जिल्ला खेलकुद विकास समितिका प्रमुख नवीन प्रधान तथा प्राविधिकमा फुटबल सहायक प्रशिक्षक प्रकाश मल्ल उत्कृष्ट कर्मचारी बने। त्यस्तै आर्थिक प्रशासन शाखाकी रमा कोइराला प्रशासनतर्फ तथा तेक्वान्दो सहायक प्रशिक्षक पर्शुनारायण बोहरा परिषद् सेवा पुरस्कारबाट पुरस्कृत भए। सर्वोत्कृष्टलाई २५ हजार, उत्कृष्टलाई १५ हजार र सेवा पुरस्कारलाई १० हजार जनही प्रदान गरियो।

त्यस्तै राखेपमा २५ र २० वर्ष सेवा पूरा गरेका कर्मचारीलाई पनि सम्मान गरिएको थियो। २५ वर्ष पूरा गर्नेमा वरिष्ठ अधिकृत कमल खनाल मात्र सम्मानित भए। उनले ४ तोलाको चाँदीको पदक पाए। २० वर्ष सेवा गरेका १६३ जनालाई ३ तोलाको चाँदीको पदक प्रदान गरिएको थियो।
 

खेल पत्रकार सम्मानित

विभिन्न सञ्चारमाध्यका ६ खेल पत्रकार पनि सम्मानित भएका छन्। नेपाल टेलिभिजनका राजु सिलवाल, न्युज २४ का मुकुन्द दाहाल, नागरिक दैनिकका अजय फुयाँल, बीबीसी नेपाली सेवाका निरञ्जन राजवंशी, नेपाल लाइभ अनलाइनका नवीन अर्याल तथा कान्तिपुर दैनिका हिमेशरत्न वज्राचार्य सम्मानित भए। उनीहरुलाई जनही १० हजार र सम्मान पत्र प्रदान गरियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell