PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

काठमाडौं र दिल्ली जोडने वीरगञ्ज महानगर : को बन्ला मेयर?



सूर्य खड्का

काठमाडौं र दिल्ली जोडने वीरगञ्ज महानगर : को बन्ला मेयर?

उम्मेद्‍वार घोषित भैसकेका नेकपा एमालेका बसुरुद्धिन अन्सारी, कांग्रेसका अजय कुमार द्विवेदी, फोरम नेपालका विजय सरावगी वा माओवादी केन्द्रका रहबर अन्सारी मध्ये को बन्लान भावि मेयर अर्थात् वीरगञ्ज महानगरका पिता? यो अहिल्यै अनुमान गर्नु हतारो हुनेछ। किन भने नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मेयर बाहेक उप प्रमुखको उम्मेद्वार नै चयन गर्न सकेका छैनन्। यसले सत्ता सहयात्री दल कांग्रेस र माओवादीबीच सम्भावित चुनावी तालमेलको गुन्जायसलाई इंगित गर्छ।

यता राजपाले पूर्व मेयर विमल श्रीवास्तव र राजेशमान सिंह मध्ये कस्लाई मेयरको प्रत्यासी बनाउने भन्ने टुंगो नै लगाउन सकेको छैन। दुवै मेयरका शक्तिशाली दाबेदार रहेका कारण राजपा केन्द्रीय नेतृत्व अनिर्णयको बन्दी बनिरहेको छ। राजपाको उम्मेद्वारको प्रभाव समग्र उम्मेद्वारहरुको प्रदर्शनमा प्रभावी हुने पक्का छ।

राजपाले देशकै चुनाव हुन बाँकी एकमात्रै महानगरमा मेयरको उम्मेद्वार चयनमा नै गरिरहेको विलम्व उसको भावि महानगरपिताको पद र कुर्सीमा कमजोर दाबीको उदाहरण पनि हो। राजपाका तर्फबाट भावी मेयरका प्रत्यासी श्रीवास्तव, सिंह वा तेस्रो विकल्पमा सुरेन्द्र कुर्मी आदिको उदय भए, भावि मेयरको चुनावी अंक गणितमा अर्कै ट्वीष्ट आउन सक्छ।

नेपाल लोकतान्त्रिक फोरम अरु दलका उम्मेद्वारको पूरा कोर्ष हेरेर मात्रै कसैलाई सघाउने वा आफै उम्मेद्वारी दिने भन्ने पर्ख र हेरको छिर्के दाउमा देखिन्छ। राप्रपा वा अन्य साना दलको छिर्के दाउ पनि पूरा सतहमा आइसकेको छैन।

मधेश आन्दोलनका सबै आरोह अवरोहहरुमा रमिते बनेको लोकतान्त्रिक फोरमसँग सहकार्य गर्न कुनै पनि मधेशी दल इच्छुक देखिएका छैनन्। जात मिल्ने दल संघीय समाजवादी वा राजपामध्ये कसले विजय गच्छेदारसँग चुनावी सहकार्य गर्लान? माओवादी वा अन्य कुन दलसँग पो गच्छेदारको सहकार्य होला कि? यसले पनि वीरगञ्ज महानगरको भावी मेयरको चुनावी प्रतिष्पर्धालाई थोर बहुत प्रभाव पार्नेछ। 

खासगरी मधेश आन्दोलन र नाकाबन्दीका बेला काठमडौंको सत्तालाई घुँडा टेकाउन दबाब दिने वीरगञ्ज महानगरका स्थानीय जनताका लागि राजपा र संघीय समाजवादी फोरम बीच हुन नसकेको चुनावी तालमेल निकै पेचिलो छ। भाइ फुटे गवार लुटे भन्ने लोकोक्ति झै राजपा र संघीय फोरमले चुनावी एकता नगरेर एकमात्रै वीरगञ्ज महानगरको स्थानीय सत्ताबाट हात धुनुपर्ने खतराको राजमार्ग आफै खनिरहेका छन्। 

राजपामा दाबेदार बीच आफै विवाद रहेकाले उम्मेद्वारी चयनमा भएको विलम्व आत्माघातको पूर्वाभ्यास जस्तो बन्दैछ। उता संघीय समाजवादीले लोकप्रिय व्यापारिक समूहका साहुजी विजय सरावगीलाई मेयरको प्रत्यासीमा प्रस्तावित गरिसकेका छ। यसले अब मधेश आन्दोलनमा सँगै आन्दोलनको मोर्चामा रहेका राजपा र संघीय समाजवादी बीच वीरगञ्जको मेयरको ताज जित्न कुरा मिल्ने सम्भावनाहरु कम रहेको संकेत गर्दछ। 

अब राजपाले संघीय समाजवादीका सरवगीलाई समर्थन गर्ने सम्भावना जति कमजोर छ, उति नै राजपाले विमल श्रीवास्तव वा राजेशमान सिंह मध्ये जसलाई उम्मेद्वार बनाए पनि एकले वागी बन्ने वा अन्तरघात गर्ने खतरा पनि राजपा भित्र उत्ति नै बढी छ। मधेशी दलहरु बीचको सम्भावित चुनावी तालमेलको कोर्श निरर्थक साबित हुँदा कांग्रेस, एमाले वा माओवादीको पोल्टोमा चुनावी नतिजा नजाला भन्न सकिन्न। 

वीरगञ्जको भावी मेयरका एमाले प्रत्यासी रहेका बसुरुद्धिन अन्सारीलाई एमालेले टिकट दिनु र उनको काठमाडौंको घट्टेकुलोमा रहेको नाम मात्रैको नेशनल मेडिकल कलेजले पाएको सम्बन्धन तत्काललाई स्थागित हुनु एउटा कागताली संयोग मात्रै हो। तर, मुख्य विपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी ओलीले सो घटनालाई एमाले उम्मद्वारमाथिको राज्य हमलाको रुपमा दोषारोपण गरे। 

एमालेले अन्सारीलाई मेयरको टिकट दिएकै कारण बहु विवादास्पद नेशनल मेडिकल कलेजको सम्वन्धन खारेज भएको ओली आरोपले सिद्ध गर्छ, वीरगञ्ज महानगरको भावी मेयरको जीतका लागि उ जुनसुकै कुप्रचार गर्न पनि पछि पर्ने छैन। एमालेको गोयवल्स प्रचार शैलीका विरुद्ध अन्य दलहरुको कमजोर प्रचार शैली र त्यसमा पनि आफै भित्रको राजपा विवाद उनीहरुका लागि घातक सिद्ध हुन सक्छ।

आगामी असोज २ मा तेस्रो चरणमा हुँदै गरेको स्थानीय तह चुनावका लागि एक मात्रै महानगर हो वीरगञ्ज। नेपाल भारत सीमाको सबैभन्दा ठूलो र देशको राजस्व आयको मुख्य नाका वीरगञ्ज। मधेशको सडक शक्ति मधेश आन्दोलनका दौरानमा देखाएको महानगर पनि हो। 

करिब सवा लाख वीरगञ्जवासीले मधेश आन्दोलनको अनुमोदन गर्न चाहेमा उनीहरुको भावि मेयर मधेशी दल राजपा वा संघीय समाजवादीबाट चुनिने संभावना छ। तर संघीय समाजवादी र राजपा बीच चुनावी एकताको गुन्जायस नहुने र राजपाभित्रको गुटगत विवाद सतहमा पोखिँदै जाने हो भने कांग्रेसका लागि वीरगञ्जको मेयरको कुर्सी सुरक्षित नहोला भन्न सकिन्न। किन भने कांग्रेसको एक पुरानो प्रभाव क्षेत्र पनि हो वीरगञ्ज।

त्यही वीरगञ्ज हो जसले कांग्रेसका एक संस्थापक तथा पूर्व सभापति कृष्णप्रसाद भट्टराईलाई पर्साबाट चुनाव जिताएर निर्वाचित प्रधानमन्त्री बनाउने गुन पुर्नस्थापित प्रजातन्त्र कालमा लगाएको थियो। पूर्व सभासद तथा पूर्व उपमेयर र पूर्व जिल्ला पार्टी सभापति द्विवेधीले मधेशी दलको फुटपरस्त परिस्थिति र एमालेको विवादास्पद छबीका बीच बाजी मारे अन्यथा नहुन सक्छ। 

भर्खरै माओवादी त्यागेर एमाले बनेका अन्सारीलाई विवादास्पद नेशनल मेडिकल कलेज काण्डले मात्रै होइन, उसलाई मधेश विरोधी दलको रुपमा लागेको आरोपले सितिमिति नछाड्न सक्छ। त्यसैले वीरगञ्ज मेयरको कुर्सी एमालेका लागि चुनौतिपूर्ण नै छ। २०४९ को स्थानीय चुनावमा एमालेलाई जिताउने विमल श्रीवास्तव अहिले राजपा रहनु नै एमालेको अर्को कमजोरी र चुनौति हो। माओवादीका लागि आए आँप गए झटारो सरह हो। 

प्रचण्डको दोस्रो सत्ताकालमा गत असारमा महानगर घोषित वीरगञ्जमा दुई भारतीय अड्डा पनि छन् जसले यो चुनावलाई भित्र भित्रै अनपेक्षित परिणामतिर पनि पुर्‍याइदिन सक्छन। खुल्ला सीमा त चुनावका मुखमा बन्द गरिएलान् तर जनस्तरमा नै भिजेर भारतीय अड्डाका अधिकारीहरुले हरेक जसो दलका स्थानीय  मतदाता र दलका प्रतिनिधिमा पारेको गहिरो आर्थिक, सामाजिक र राजनीतिक प्रभावले पनि वीरगञ्जको भावि महानगर पिताको भाग्य र भविष्यमा भूमिका खेल्ने नै छ। 

जगजाहेर  सत्य के हो भने वीरगञ्जको भावि मेयर काठमाडौंका लागि जति महत्वपूर्ण हुनेछन्, उत्तिकै महत्वपूर्ण हुनेछन् तीनतिरको दक्षिण छिमेकका लागि पनि। भावी महानगर पिता जनताको मतले मात्रै छानिएलान वा भारतीय चलखेलका प्रभावमा पनि छानिएलान? त्यो भने असोज २ को वीरगञ्ज महानगरका ३२ वडाका एक लाख ८ हजार मतदाताबाटै हुनेछ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell