PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

उत्तर कोरियाद्वारा फेरि शक्तिशाली आणविक परीक्षण



रासस

उत्तर कोरियाद्वारा फेरि शक्तिशाली आणविक परीक्षण
फोटो श्रोतः REUTERS/KCN

सोल: अन्तर्राष्ट्रिय समुदायको आग्रह र संयुक्त राष्ट्रसंघको बारम्बारको चेतावनीकोसमेत बेवस्ता गर्दै आणविक परीक्षण गर्दै आएको उत्तर कोरियाले आइतबार पनि एक शक्तिशाली आणविक परीक्षण गरेको छ। 

परीक्षणका कारण उत्पन्न कम्पनले गर्दा अाणिवक परीक्षण भएकाे पुष्टि भएको छिमेकी देशहरुले बताएका छन्। छिमेकी देशमा पनि यसको कम्पन आएको उनीहरुको भनाई छ। 

त्यस लगत्तै उत्तर कोरियाले उक्त परीक्षण हाइड्रोजन बम भएको सङ्केत गरेको थियो। उत्तर कोरियाको आधिकारिक समाचारमा परीक्षण सफल भएको भनिएको छ।
 
उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमले उत्तर कोरियाले आइतबार बिहान हानेको हाइड्रोजन बम शक्तिशाली र सफल भएको जनाएका छन्। 

उत्तर कोरियाले बारम्बार यस्ता क्षेप्यास्त्रहरु परीक्षण गर्दै आएको छ। केही समय अघि पनि उसले अन्तर महादेशीय क्षेप्यास्त्र परीक्षण गरेको थियो। जुन जापानको समुद्रसम्म पुगेर निस्तेज भई खसेको बताइएको छ। 

दक्षिण कोरिया र जापानले परीक्षणको पुष्टि भएको बताएका छन्। चीनले पनि उक्त क्षेत्रमा आएको कम्पन सोही परीक्षणको कारण हुनसक्ने बताएको छ। 

उत्तर कोरियाकाे क्षेप्यास्त्र निर्माण क्षेत्रमा कम्तीमा पनि छ म्याग्निच्युड हाराहारीको कम्पन आएको जनाएको छ। 

यस परीक्षणलाई यस अघिकोभन्दा करिब दश गुणा धेरै शक्तिशाली रहेको दक्षिण कोरियाले बताएको छ। उसले भनेको छ, ‘उत्तर कोरियाले यसअघि गरेको पाँचौ पटकको परीक्षणभन्दा यो कम्तीमा पनि दश गुणा बढी शक्तिशाली छ।’ 

साथै दक्षिण कोरियाली विज्ञहरुले यस पटकको परीक्षणका कारण उक्त क्षेत्रमा ५।६ म्याग्निच्युडको कम्पन मापन गरिएको जनाएको छ। यो परीक्षण हाइड्रोजन बमको परीक्षण भएको हुनसक्ने अनुमान दक्षिण कोरियाली बिज्ञहरुले गरेका छन्। 

उत्तर कोरियाली नेताले आइतबार हाइड्रोजन बम निर्माणस्थलको निरीक्षण गरेको समाचार आएको थियो। त्यस लगत्तै यो कम्पन आएकोले सोही समयमा नै हाइड्रोजनसहितको क्षेप्यास्त्र परीक्षण गरिएको हुनसक्ने अनुमान गरिएको बताइएको छ। 

परीक्षणको कम्पनपछि प्रतिक्रिया दिँदै जापानी प्रधानमन्त्री सिन्जो अबेले भनेका छन्,‘यो परीक्षण निकै नै शक्तिशाली छ यस्ता क्रियाकलापहरु जापानका लागि अत्यन्तै अस्वीकार्य छन्।’ 

उत्तर कोरियाले पछिल्लो पटक गरेको यो परीक्षणका कारण संसारमा नै नयाँ हलचल पैदा भएको छ। संसारका नेताहरुले उत्तर कोरियाको यो परीक्षणले शान्तिपूर्ण समाधानभन्दा पनि संसारमा नै हतियार र शक्तिको दम्भ सुरु हुने चिन्ता व्यक्त गरेका छन्। 

यसै बीच अर्को समाचारअनुसार उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रमार्फत हान्न मिल्ने खालको एक अत्याधुनिक हाइड्रोजन बम बनाएको बताएको छ।  

उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले नेता किम जोङ उनले यस्तो खालको हतियार निर्माणस्थल र हतियार नै निरीक्षण गरेको जानकारी दिएको छ। उक्त बमको तस्वीर भने अझसम्म सार्वजनिक नगरिएको प्राप्त समाचारमा जनाइएको छ। 

यसै बीच, दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले आइतबार राष्ट्रिय सुरक्षा परिषदको आकस्मिक बैठक बोलाएका छन्। 

उनले उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण स्थलतर्फबाट मापन गरिएको एक भूकम्पीय प्रकम्पन आएकाले यसले कोरियाली प्रायद्वीपमा गम्भीर सुरक्षा खतरा उत्पन्न गरेको भन्दै बैठक बोलाएका हुन्।रासस/एएफपी/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell