PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बलराम जोशी पुरस्कार विपश्यना ध्यान केन्द्रलाई



रासस

बलराम जोशी पुरस्कार विपश्यना ध्यान केन्द्रलाई

काठमाडौँ  :  डा बलराम जोशी ज्ञान–विज्ञान राष्ट्रिय पुरस्कार प्रतिष्ठानले ५० हजार १०१ रुपैयाँ राशिको बलराम जोशी ज्ञान–विज्ञान राष्ट्रिय पुरस्कार विपश्यना ध्यान साधना केन्द्रलाई प्रदान गरेको छ। 

त्यस्तै, सुयोग्य शिक्षक पुरस्कार नेपाल संस्कृत विश्वविद्यालयका पूर्वशिक्षाध्यक्ष प्रा पुरुषोत्तम भट्टराईलाई प्रदान गरिएको छ। पुरस्कारको राशि २५ हजार १०१ रुपैयाँ छ। 

प्रतिष्ठानअन्तर्गत स्थापित चन्द्रकुमारी–हिमालयराज जोशी स्वास्थ्य सेवा कोषकातर्फबाट अछामका विपन्न वर्गको स्वास्थ्य सेवामा समर्पित संस्था ‘पसिबल’ लाई २५ हजार १०१ रुपैयाँसहित सम्मान तथा समाजसेवी विनोद शाहीलाई दीपकुमारी–पीताम्बरप्रसाद पन्त समाज सेवा सम्मान दिइयो।

गतवर्ष स्थापित वरिष्ठ अधिवक्ता कृष्णप्रसाद पन्त पुरस्कार पूर्वप्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठलाई दिइयो। पुरस्कारको राशि पनि २५ हजार १०१ रुपैयाँ छ। 

सो अवसरमा पूर्वराष्ट्रपति डा रामवरण यादवले संविधानमार्फत शान्ति, स्थिरता र विकासको जनताको आशा पूरा गर्न सबै राजनीतिक दल एक जुट हुनुपर्ने बताए। 

कार्यक्रममा अंगुरबाबा जोशीको नेपाली भाषामा लेखिएको आत्मकथा ‘अक्षर, साधना र गोधूली’ र अंग्रेजी भाषाको ‘दीक्षा’ पनि विमोचन गरिएको थियो।

कार्यक्रममा पुरस्कृत प्रा भट्टराई, प्राज्ञ प्रा दिनेशराज पन्त, पुस्तक प्रकाशन संस्था उत्कृष्ट प्रकाशन प्रालिका अध्यक्ष हरिप्रसाद रिमाल, प्रा जयश्री अमात्य, प्रा निर्मला पोखरेललगायतले पुरस्कृत व्यक्तित्वले समाजमा पुर्याएको योगदानका विषयमा चर्चा गरे। 

वैज्ञानिक बलराम जोशीले ‘अधिक विभव स्थिरविद्युत् उत्पादक’ नामक कृतिका लागि विसं २०१४ को मदन पुरस्कार प्राप्त गरेका थिए। जोशीको विसं २०५० मंसिर २४ गते निधन भएको थियो। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell