PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

स्थलगत रिपोर्ट : अविरल रोइरहेछ इन्द्रावती



स्थलगत रिपोर्ट : अविरल रोइरहेछ इन्द्रावती

  • ​ऋषिकेश दाहाल 
सिपाघाट : मेलम्चीबाट करिब १० किलोमिटर दुरीमा रहेको सिपाघाट बजार ध्वस्त भएकाले बाटो खेततिर मोडिएको थियो। हिलाम्मे बाटो पार गरेर इन्द्रावती पारी भीमटार ३ ढोटार पुग्दा सिंगो गाउँ नै बगेजस्तै देखियो। फराकिला र समथर भूबनोट भएको माझी गाउँ त्यही हो जसलाई साहित्यकार रमेश विकलले अविरल बग्दैछ इन्द्रावतीमा समेटेका थिए।

विकलको उपन्यासमा काजीले सताएको यो गाउँलाई भूकम्पले केही नरहने गरी थङथिलो पारेको छ अहिले। भूकम्पको झड्का बेहोरेको पाँचौ दिन यहाँ पुग्दा दुई शव भर्खरै निकालिएको थियो। करिब १ सय ५० घरमा एउटा पनि सग्लो थिएन। जति विभेद माझीहरुले पाएका उपन्यासमा उल्लेख छ त्यो भन्दा चौखण्ड पीडा भोगेको छ अहिले यो सुन्दर गाउँले।

यसकारण रुँदैछ इन्द्रावती १

यी हुन् मसुरी माझी। यिनका पति भूकम्पको शिकार भए। ८० वर्षका दीर्घबहादुर माझी र मसुरी भान्सामा थिए त्यतिखेर। बिहानको खाना खाँदै गर्दा जमिन हल्लिन थाल्यो। घर पूरै काँप्यो। अनि छत झर्न थाल्यो। माटोले जोडिएका ढुंगा पल्टन थाले। दीर्घबहादुरले हुत्याएर मसुरीलाई बाहिर पुर्‍याए र आफू त्यहीभित्र पछारिए। 'भित्रबाट जोडले हुत्यायो,' मसुरीले कमजोर आवाजमा सुनाइन्।

७० वर्ष काटेकी मसुरीले दिसापिसाब गर्न नसकेको ५ दिन भयो। घरमा पुरिँदाको चोट बल्झिएको छ। पेट फुलेर छातीसम्मै पुगेको छ अस्पताल पुर्‍याउन कसैले सकेको छैन। अर्धनग्न आङ लिएर ओतभित्र छटपटिरहेको अवस्थामा देखेपछि उनलाई स्याहारी रहेकी उनकी बुहारीलाई सोधेँ : उपचार गर्न किन नलगेको ?

'बाटो छैन। न पैसा नै छ। खान त पाइएको छैन भने उपचार कहाँबाट गर्न लैजानु ?,' बुहारी माइली माझीले दिएको यो जवाफपछि थप प्रश्न गर्ने ठाउँ थिएन। भत्केको घरको टिनका छाना उप्काएर यिनीहरुको आश्रयस्थल बनेको थियो। यिनको गाउँ आइपुग्ने बाटो बन्द छ। बजारको बाटो भत्केका घरले छेकेको छ। हामीलाई यो गाउँसम्म आइपुग्न पनि हम्मे नै परेको थियो। उपचार गर्ने टोली यहाँसम्म आइपुगेको छैन।


यसकारण रुँदैछ इन्द्रावती २

यो गाउँ पुग्दा एक जना युवक पैसा उठाइरहेका थिए। 'सय रुपैया झिक त,' उनले पैसा उठाउँदै हिँडेको देखेपछि अनौठो लाग्यो र केही समय ती २२/२३ वर्ष लाग्ने युवालाई पछ्याएँ।

'गन्हाएर मर्न त भएन नि,' उनले यति भनिसकेपछि यहाँ पुरिएका गाईवस्तु उठाउन रकम जोहो गर्न लागेको अनुमान गर्न कठिन भएन। अनुमान करिब सही नै ठहरियो।

'एक्सकाभेटर ल्याएको तेल नै सकियो। अब डिजेल किन्नुपर्यो भनेर पैसा उठाउन थालेको हो,' खम्बे माझीले सुनाए। ती युवको हातमा चार सय जुटेको थियो। मागेर हिँड्दा पनि उनीहरुले पैसा दिन सकिरहेका थिएनन्।

'हामी यही इन्द्रावतीमा बस्ने मानिस। आज क्रसर कम्पनीका मानिससँग हात जोडेर (एक्सकाभेटर)ल्यायौं,' खम्बेले भने, 'मुस्किलले ४० लिटर डिजेल दिएका थिए। यहाँ खोतल्दा खोतल्दै सकियो। अब जसरी पनि २० लिटर ल्याउन पैसा उठाउनुपर्‍यो।'

घर भत्केको छ। गाउँको सबै १ सय ५० घरधुरीको ओत लाग्ने ठाउँ छैन। १८ जनाको शव निकालिसकेका छन्। पहिले १० दिने क्रिया बस्नेहरु अहिले ५ दिनमा झारेका छन् भूकम्पकै कारण। शव निकाल्यो, तल बगिरहेको इन्द्रावतीमा लगेर जलायो अनि बचेखुचेका कुरा बटुल्यो। त्यही बाँडिचुडी खायो। स्काभेटर ल्याएपछि पुरिएका ६ जनाको शव निकालिएको छ।

यसकारण रुँदैछ इन्द्रावती ३

तारा माझी गाउँले अरु महिलासँगै आधा घन्टा हिँडेर सिपाघाट पुगिन्। हातमा नाम्लो बोकेर पीडितलाई दिन ल्याएको चामलको बोरा घर पुर्याउने उनको आशा। राहत बाढ्नेहरु आएका रहेछन् सिपाघाट बजारमा। तर उनीहरुले चामल ल्याएका रहेनछन्। एक-एक वटा डेनिस पाउरोटी उनीहरुलाई थमाएर राहत वितरण गर्नेहरु फर्के। तारासँगै गएका मानिसहरु पनि त्यही पाउरोटीको टुक्रो च्यापेर गाउँतिरै फर्किए।

'यही पनि ल्याएँ,' ताराले सुनाइन्, 'आमा वितेको छोरो छ यही भए पनि खाला भनेर।' ताराको भाइ बुहारी संगीता भूकम्पको अर्को शिकार हुन्। इन्द्रावतीमा बालुवा चालेर परिवारको पेट पाल्दै आएकी उनको ९ वर्षको छोरो छ। ताराले पाएको राहतको टुक्रो पाउरोटी यही ९ वर्षे टुहुरोका लागि हो।

सिपाघाट पुगेका केही माझी महिला शरीरमा एकसरो लुगामा मात्रै थिए। उनीहरुको लुगा पुरिएको थियो। बजारसम्म ओर्लिएर रित्तो नाम्लो बोकेर गाउँ (खण्डहर) फर्किँदा उनीहरुको मन कति रोयो होला अनुमान गर्न सकिन्न।
 

यसकारण रुँदैछ इन्द्रावती ४

भत्केको घरहरुकै बीचमा रहेको एउटा अस्थायी छाप्रोबाट कोलाहाल सुनियो : 'मेरो बाबा। मेरो बाबा।' यो चित्कार छोरी गुमाएकी एक महिलाको थियो। उनी छाप्रोभित्रै लडिबुडी गरिरहेकी थिइन्। नजिकै दुईवटा बोरामा लाश रहेछ। एउटा यिनै रोइरहेकी महिलाको २० वर्षीया छोरी मालती माझीको र अर्को कबे माझीको।

भूकम्पको ५ दिन वितिसकेपछि यिनीहरुको शव एक्जाभेटरले खोतलेर निकालेको थियो। उनीहरुको शरीरबाट दुर्गन्ध निस्किरहेको थियो। एक युवकले बासनादार स्प्रे मालतीको शरीरमा छरिरहँदा उसको सहयोगी युवक भनिरहेका थिए, 'अब अरु छैन पूरै नसिध्या है। यहाँ खपिनसक्नु छ।'

सुकेका बाँसमा दुईवटा खट बनाएर यी दुवैलाई गाउँलेले बोकेर तल इन्द्रावतीमा लैजाँदा आकाशबाट पानीका थोपा फाट्टफुट्ट चुहिरहेका थिए, अविरल वगिरहेको थियो इन्द्रावती।

गाउँले अझै २ वर्षे बालकको खोजीमा छन्। उ पनि यही कतै पुरिएको छ। उसको पनि यसैगरी सद्गत हुनेछ इन्द्रावती किनारमा।

कथा माझी र काजीको विकलको उपन्यासको खलपात्र काजीको बगैचा इन्द्रावती पारीबाट अहिले पनि देखिन्छ। त्यो वगैचामा आँपका चिचिला लागिसकेका छन्। माझीहरु उपन्यासको समयभन्दा फरक जीवन भोगिरहेका छैनन्। काजीहरु क्रसर चलाएर इन्द्रावतीबाट धन आर्जन गरिरहेका छन्। माझीहरु त्यही क्रसरमा बालुवा चालिरहेका छन्। माझी र काजीको भेदभावपूर्ण परम्परा कायमै रहँदा प्रकृति पनि यी अवोध माझीहरुमाथि नै आइलागिन्। विकलको उपन्यासमा जस्तो विद्रोही कोही छैन यहाँ। सबै शोकमा छन् किनकि इन्द्रावती आफैँ अविरल रोइरहेकी छिन्।













 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell