PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधन- ‘पहिलो कर्तव्य नागरिकको जीउ–धनको सुरक्षा’



देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधन- ‘पहिलो कर्तव्य नागरिकको जीउ–धनको सुरक्षा’

काठमाडौं : प्रधानमन्त्री सुशील कोइरालाले पहिलो कर्तव्य नागरिकको जिउधनको सुरक्षा भएको र यसबाट सरकार कदापि विचलित नहुने बताएका छन्। 

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ सम्बोधन गर्दै उनले सरकारले विपत्तिको सामना गर्ने कार्यमा नागरिकको खोजतलास, उद्धार र स्वास्थ्योपचारलाई पहिलो प्राथमिकतामा राखेको र सोसँगै भूकम्पपीडित एवम् प्रभावित नागरिकको राहत तथा पुनः स्थापनाप्रति सरकार गम्भीर भएको स्पष्ट गरे। 

उनले भने, ‘क्षतिग्रस्त भौतिक संरचनाको मर्मत तथा पुनःनिर्माणमा पनि हामी दत्तचित्त भएर लाग्ने विश्वास दिलाउन चाहन्छु।‘ 

प्रधानमन्त्री कोइरालाले राष्ट्रिय विपत्तिको यस घडीमा भूकम्पबाट जीवन गुमाउने समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइ र विदेशी नागरिकमा श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरे।

प्रधानमन्त्री कोइरालाको सम्बोधनको पूर्ण विवरण यस प्रकार छः

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरु, 

२०७२ साल वैशाख १२ गते दिउँसो अप्रत्याशित रुपमा आएको भूकम्प र त्यसपछि पटक पटक आएका कम्पनहरुले ल्याएको विनाशले मुलुकलाई स्तब्ध र समस्त नेपालीलाई अत्यन्त मर्माहत बनाएको छ। राष्ट्रिय विपत्तिको यस दुःखद् घडीमा भूकम्पबाट जीवन गुमाउनु हुने समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइ र विदेशी नागरिकमा भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दछु। उहाँहरुका स्वजनमा हार्दिक समवेदना प्रकट गर्दछु। 

भूकम्पका कारण घाइते बन्नुभएका समस्त दिदीबहिनी तथा दाजुभाइमा शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु। यस दुःखद घटनामा घाइते हुनुभएकाहरुको निःशुल्क स्वास्थ्योपचार गराउने ब्यवस्था मिलाइएको छ। 

यस दुःखद् प्राकृतिक प्रकोपमा पर्नुभएका नागरिकको खोजतलास, तत्काल उद्धार, राहत, उपचार र पुनःस्थापना कार्यलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद्, नेपाल सरकारका चार वटै सुरक्षा निकाय, राष्ट्रसेवक कर्मचारी, प्रमुख प्रतिपक्षसहित समस्त राजनीतिक दल, निजी क्षेत्र, मानवीय सहयोगको क्षेत्रमा काम गर्ने समस्त सरकारी र स्वदेशी तथा विदेशी गैरसरकारी संस्था, नागरिक समाज, सञ्चारकर्मीले हालसम्म गर्नुभएको स्वस्फूर्त प्रयासको म उच्च प्रशंसा गर्दछु। 

यस प्रयासलाई अझ प्रभावकारी र सुव्यवस्थित बनाउन मन, वचन र कर्मले समर्पित रहन सम्बन्धित सबैमा हार्दिक अपिल गर्दछु। समस्त युवा उद्धार र राहत कार्यमा अग्रपङ्तिमा रहनुहुने मैले विश्वास गरेको छु। 

सरकारको पहिलो कर्तव्य आम नागरिकको जिउधनको सुरक्षा हो। यसबाट सरकार कदापि विचलित हुने छैन। सरकारले विपत्तिको सामना गर्ने कार्यमा नागरिकको खोजतलास, उद्धार र स्वास्थोपचारलाई पहिलो प्राथमिकतामा राखेको छ। यससंँगै भूकम्पबाट पीडित एवम् प्रभावित नागरिकको राहत र पुनःस्थापनाप्रति हामी गम्भीर छौँ। क्षतिग्रस्त भौतिक संरचनाको मर्मत तथा पुनःनिर्माण कार्यमा पनि हामी दत्तचित्त भएर लाग्ने कुरा विश्वास दिलाउन चाहन्छु। 

भूकम्पले तहसनहस पारेका ऐतिहासिक, पुरातात्विक र साँस्कृतिक र धार्मिक महत्वका सम्पदाको सरकारले क्रमिक रुपमा पुनर्निर्र्माण गर्नेछ। पुनःस्थापना र पुनर्निर्माणको यस महत्वपूर्ण कार्यमा धैर्यपूर्वक सक्रिय रहन म समस्त दिदीबहिनी र दाजुभाइमा निवेदन गर्दछु। 

इन्डोनेसियाको जकार्तामा सम्पन्न एसिया–अफ्रिका शिखर सम्मेलनमा सहभागी भएर फर्कने क्रममा प्राप्त यस अकल्पनीय दैवीप्रकोपकोे समाचारपछि भारतका महामहिम प्रधानमन्त्री नरेन्द्र मोदी, चीनका महामहिम राष्ट्रपति सी जिनपिङ, पाकिस्तानका महामहिम प्रधानमन्त्री नवाज शरिफ, श्रीलङ्काका महामहिम राष्ट्रपति मैत्रीपाल सिरिसेना, भुटानी नरेश जिग्मेकेशर वाङ्चुकलगायत विभिन्न देशका राष्ट्रप्रमुख र सरकार प्रमुखहरुले नेपालप्रति सहानुभूति प्रकट गर्दै उद्धार र राहतमा सहृदयतापूर्वक गर्नुभएको सहयोगको मैले उच्च मूल्याङ्कन गरेको छु।

भुटानका प्रधानमन्त्री स्वयं उपस्थित भएर सद्भाव र मैत्री प्रकट गर्नुभएको छ। हामीले बङ्गलादेश, अमेरिका, बेलायत, फ्रान्स, नर्वे, जापान, फिनल्यान्ड, अस्ट्रेलिया, मलेसिया, इजराइल, टर्की, पोल्यान्ड, दक्षिण कोरिया, अरब राष्ट्रलगायत मित्र राष्ट्र र संयुक्त राष्ट्र सङ्घसहित विकासका साझेदार एसियाली विकास बैंक, विश्व बैंक र अन्तर्राष्ट्रिय समुदायको पूर्ण सहयोगको प्रतिबद्धता पनि प्राप्त गरेका छौँ। 

अन्य मित्र राष्ट्रहरुबाट पनि सहयोग प्राप्त हुने आशा गरेका छौँ। दुःखको यस घडीमा हामीलाई यसबाट ठूलो भरोसा मिलेको छ। म उहाँहरुको यो तत्परता, सद्भाव र मित्रताप्रति नेपाल सरकार र नेपाली जनताका तर्फबाट आभार प्रकट गर्दछु। नेपाल अत्यन्तै उदार, सहयोग, सद्भाव र भाइचाराको संस्कृृतिले भरिएको समृद्ध मुलुक हो। कुनै पनि समस्या र सङ्कटको समाधान राष्ट्रिय एकताबिना सम्भव छैन। यो विपत्तिको घडीमा हामी जो जहाँ बसे पनि सबै नेपालीले एक ढिक्का भई मुलुकलाई सङ्कटबाट पार लगाएर विश्वसामु एक उदाहरण प्रस्तुत गर्नुपरेको छ। 
जतिसुकै ठूला राष्ट्रिय विपत्ति र सङ्कटहरुलाई पनि हामीले आपसी सहयोग, सहकार्य, एकता र मेलमिलापका माध्यमबाट झेल्दै, सामना र समाधान गर्दै आएका छौँ र आगामी दिनमा पनि गर्नेछौँ। 

भर्खर गति लिन लागेको विकास प्रक्रियामा पनि यस भूकम्पका कारण अझ बढी चुनौती थपिएका छन्। यो सङ्कटलाई पार गरेर हामीले विकास प्रक्रियालाई पुनः गति दिन परेको छ। सबैको सामूहिक प्रयासले यो अग्निपरीक्षामा हामी सफल हुने मैले विश्वास लिएको छु। 

हामीसंँग भएको सीमित साधन र स्रोतलाई भरपूर प्रयोग गर्दागर्दै पनि अप्रत्याशित र अकल्पनीय प्राकृतिक विपत्लाई व्यवस्था गर्ने क्रममा हुन गएका कमीकमजोरीबाट पाठ सिक्दै हामीले उद्धार, राहत र पुनःनिर्माण कार्यलाई प्रभावकारी बनाउन अत्यधिक प्रयास गरिरहेका छौँ। प्राकृतिक प्रकोप व्यवस्थापनमा संस्थागत विकास गर्नुपर्ने शिक्षा हामीलाई यो दुःखद् घटनाले दिएको छ। 

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माण गरी मुलुकमा दिगो शान्ति, राजनीतिक स्थिरता र लोकतान्त्रिक शासन पद्धतिको माध्यमबाट द्रुत गतिमा देशको विकास गर्ने हाम्रो आवश्यकता र जनताको चाहनालाई पूरा गर्ने दायित्वलाई यथाशक्य पूरा गर्न समस्त राजनीतिक दलबाट सहकार्य र सहयोग हुने मैले अपेक्षा गरेको छु। 

यो विनाशको घटनाबाट अत्यन्त मर्माहत भएर उद्धारलगायत प्रकोपपछिको पुनःस्थापना र पुनःनिर्माणलाई सघाउन स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइबाट अभिव्यक्त सहानुभूति, सान्त्वना र उदारतापूर्वक प्राप्त सहयोगको प्रशंसा गर्दछु। स्वेच्छाले यस्तो परोपकारी कार्यमा हात बढाउनुहुने समस्त महानुभावप्रति म कृतज्ञता प्रकट गर्दछु। पुनःनिर्माणको चरणमा पनि हामीलाई मित्रराष्ट्र र विकासका साझेदारबाट निरन्तर सहयोग र सद्भाव प्राप्त हुने अपेक्षा लिएको छु। 

यस विनाशकारी भूकम्पमा परी जीवन गुमाउनुभएका नेपाली तथा विदेशी दिदीबहिनी, दाजुभाइ र बालवृद्धको सम्झनामा आजदेखि तीन दिनसम्म हामीले शोक मनाउने र स्वदेशका सम्पूर्ण सरकारी कार्यालय र विदेशस्थित कुटनीतिक नियोगमा राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेका छौँ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell