PahiloPost

May 22, 2024 | ९ जेठ २०८१

विश्वकै दोस्रो महँगो खेलाडी बन्दै बार्सिलोना पुगेपछि डेम्बेलेले भने : मेसीसँग खेल्न उत्साहित छु



पहिलोपोस्ट

विश्वकै दोस्रो महँगो खेलाडी बन्दै बार्सिलोना पुगेपछि डेम्बेलेले भने : मेसीसँग खेल्न उत्साहित छु

जर्मन क्लब बोरुसिया डर्टमण्डबाट विश्वकै दोस्रो महँगो खेलाडीको रुपमा बार्सिलोना पुगेका ओसमान डेम्बेलेले मेसीसँग खेल्न उत्साहित रहेको प्रतिक्रिया दिएका छन्।

स्पानिस जायन्ट बार्सिलोनाले फ्रान्सेली युवा फरवार्ड डेम्बेलेलाई नेमारको स्थानमा सोमबार ९६.८ मिलियन पाउण्ड (१०५ मिलियन युरो) मा अनुबन्धन गरेको छ। यो रकम १३५.५ मिलियन पाउण्ड (१५० मिलियन युरो) सम्म बढ्न सक्ने बार्सिलोनाले जनाएको छ।

'मेसीसँगै खेल्न पाउनु सम्मान हो। उनी फुटबलको इतिहासमै उत्कृष्ट खेलाडी हुन्। म यहाँ सिक्नकै लागि आएका हुँ।' बार्सिलोनासँग ५ वर्षको सम्झौतापछि डेम्बेलेले भने 'म यहाँ आउन पाउँदा एकदमै खुसी छु। बार्सिलोनाको लागि खेल्नु सँधै नै मेरो ड्रिम थियो। म अहिले यहँ छु र खुसी छु।'

'बार्सिलोना विश्वका उत्कृष्ट खेलाडीहरु रहेको उत्कृष्ट क्लब हो।'

बार्सिलोनाले डेम्बेलेको लागि ४०० मिलयन युरो 'रिलिज क्लज' तोकेको छ। डेम्बेलेले अब बार्सिलोनमा नेमारले छाडेका ११ नम्बरको जर्सी लगाउनेछन्।

फ्रान्सका अन्तर्राष्ट्रिय खेलाडी समेत रहेका २० वर्षीय डेम्बेले र बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बार्तामेउले सम्झौतामा हस्ताक्षर गरे।

डेम्बेलेले म्यानचेष्टर युनाइटेडका पउल पोग्वालाई पछि पार्दै विश्वको दोस्रो महँगो खेलाडी बनेका हुन्।

आइतबार बार्सिलोना पुगेका डेम्बेलेको सोमबार स्वास्थ्य परीक्षण भएको थियो। त्यसपछि उनलाई बार्सिलोनाको खेलाडीको रुपमा नोउ क्याम्पमा प्रस्तुत गरियो।

जर्मन बुण्डेसलिगा साइड डर्टमण्डले डेम्बेले किन्ने बार्सिलोनाको सुरुवाती प्रस्ताव अस्वीकार गरेको थियो। डेम्बेलेले अन्तिम पटक डर्टमण्डका लागि अगस्ट ५ मा सुपर कप खेलेका थिए।

ट्रेनिङ छोडेका कारण उनलाई क्लबले सस्पेन्ड समेत गरेको थियो।

यस्तै बार्सिलोनाले लिभरपुलका फिलिप काउटिन्होलाई भित्र्याउन गरेको तीन प्रयास लिभरपुलले अस्वीकार गरिदिएको थियो।

अहिलेसम्म बार्सिलोनाले किनेको सबैभन्दा महँगो खेलाडी लुइस सुवारेज हुन्। उनलाई सन् २०१४ मा बार्सिलोनाले ८२.३ मिलियन युरोमा किनेको थियो।

तर बार्सा अध्यक्ष बार्तामेउका अनुसार सन् २०१३ मा नेमारलाई ब्राजिलियन क्लब सान्तोसबाट भित्र्याउन ओभरभल १०० मिलियन  युरो खर्च भएको बताएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell