PahiloPost

May 15, 2024 | २ जेठ २०८१

निर्वाचन अधिकृतको कार्यालय भोलि खुल्दै : मतदान केन्द्रको छैन टुङ्गो



पहिलोपोस्ट

निर्वाचन अधिकृतको कार्यालय भोलि खुल्दै : मतदान केन्द्रको छैन टुङ्गो
फाइल फोटो

काठमाडौं :  प्रदेश नम्बर-२ का १ सय २८ स्थानीय तहमा भोलि (सोमबार) निर्वाचन अधिकृतका कार्यालय खुल्ने भएको छ। आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि १ सय २८ स्थानीय तहमा निर्वाचन अधिकृतका कार्यालय खुल्न लागेका हुन्। 

निर्वाचन आयोगले यही भदौ ७ गते प्रदेश नम्बर-२ का ८ वटै जिल्लाका न्यायाधीशको नेतृत्वमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकेको छ। भोलि १ सय २८ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेसँगै एक सय ३६ वटै स्थानीय तहमा कार्यालय स्थापित हुनेछन्। 

'प्रदेश नम्बर २ का आठ जिल्लामा गएको ७ गते मुख्य निर्वाचन अधिकृतका कार्यालय खोलिसकिएको छ,' निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने, '१२ गते सबै स्थानीय तहमा निर्वाचत अधिकृतका कार्यालय खोलिँदै छ।'

निर्वाचन आयोगले निर्वाचन अधिकृतका कार्यालय खोलिसक्दा पनि मतदान केन्द्र भने निर्धारण गरिसकेको छैन। सरकारले प्रदेश नम्बर-२ मा थपेका ९ स्थानीय तह समेतमा निर्वाचन गराउनुपर्ने भएका कारण मतदान केन्द्र निर्धारण हुन बाँकी रहेको हो। 

'थपिएका स्थानीय तहमा मतदान केन्द्र निर्धारणको काम पनि भइरहेहो छ,' प्रवक्ता शर्माले भने, 'पुराना मतदान केन्द्र भएका ठाउँमा कायम नै हुन्छन् भने केही नयाँ मतदान केन्द्र समेत कायम हुने छन्।' 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell