PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

नेपाल भर्सेस भारत : उपाधि कसले जित्ला?



गोविन्दराज नेपाल

नेपाल भर्सेस भारत : उपाधि कसले जित्ला?
फोटो : एन्फा

काठमाडौं : साफ यू-१५ च्याम्पियनसिप शुरु हुनु अघिको प्रि-म्याच कन्फ्रेन्समा भारतीय यू-१५ टोलीका प्रशिक्षक बिलियानो फर्नान्डेजले घरेलु टोली नेपाल यू-१५ लाई सबै भन्दा बलियो टोली भनेका थिए।

नेपाल र भारत एकै समूहमा थियो र उनले बलियो भनेको टोली नेपाललाई भारतले २-१ ले हरायो। त्यसपछि फर्नान्डेजले फाइनलमा नेपालसँग खेल्न चाहेको प्रतिक्रिया दिए। नेपाल फाइनलमा पुग्यो। उता भारत पनि फाइनल पुग्यो।

अब साफ यू-१५ को च्याम्पियन बन्न आइतबार यी दुवै टोली एकआपसमा भिड्दैछन्।

फुटबल होस् या अन्य खेल जुनकुनै प्रतिस्पर्धामा पनि नेपाल र भारतबीचको राइभर्ली गजबको हुने गर्छ। खेल जित्नलाई कडा प्रतिस्पर्धा हुन्छ र त्यसको नतिजाले पनि महत्व राख्छ।

नेपालले अहिलेसम्म यो उमेर समूह (यू-१६, यसअघिका ३ संस्करण यू-१६ को भएको थियो) हराउन सकेको छैन। अहिले नेपाल सामु घरेलु मैदानमा भारतलाई पराजित गर्दै उपाधि जित्ने सुनौलो मौका छ। र नेपाल त्यौ मौका गुमाउन पनि चाहँदैन। नेपालका प्रशिक्षक सुनिल श्रेष्ठले फाइनल पुगेपछि नै भारतलाई हराउँदै इतिहास रच्ने अवसर आएको प्रतिक्रिया दिएका थिए।

शनिबार भएको फाइनल अघिको प्रि-म्याच कन्फ्रेरेन्समा पनि उनले सोही कुरा दोहोर्‍याए। 'भारतलाई हराउँदै इतिहास रच्ने अवसर छ। हामी त्यसैको लागि खेल्छौँ।'

उता भारतका प्रशिक्षक फर्नान्डेज एउटै प्रतियोगितामा एउटै टिमलाई लगातार दुई खेलमा हराउन कठिन हुने बताउँछन्। 'समूह चरणको खेल र फाइनल खेल फरक हुन्छ। नेपाललाई घरेलु मैदानको फाइदा छ।' उनले सेमिफाइनलमा नेपालको खेलको हाइलाइट्स हेरेको र त्यो नेपालको अहिलेसम्मकै राम्रो खेल भएको समेत प्रतिक्रिया दिए।

समूह चरणको खेलमा नेपाल भारतसँग २-१ ले हारेको थियो। नेपालले आफ्नै गल्तीका कारण दुवै गोल बेहोरेको थियो।

दुवै टोली उपाधि जित्न चाहन्छन्। तर दुवै टोलीका प्रशिक्षक एक अर्कालाई टफ (कठिन) प्रतिद्वन्दी भन्दै कुटनितिक जवाफ दिन्छन्।

भारत जारी प्रतियोगितामा एक मात्र अपराजित टिम हो भने नेपाल भारतसँग मात्र पराजित भएको थियो। नेपालले समूह चरणमा माल्दिभ्सलाई हराएको थियो। भारतले यी दुवै टोलीलाई हराएको थियो।

यस्तै नेपालले सेमिफाइनलमा बंगलादेशलाई ४-२ ले हराउँदा भारतले अर्को सेमिफाइनलमा भुटानलाई ३-० ले हराएको थियो।

फाइनलमा भारतलाई हराउँदै नेपाल सामु समूह चरणमा भोगेको हारको बदला लिने अवसर समेत छ भने यस उमेर समूहमा पहिलो पटक च्याम्पियन बन्ने अवसर पनि छ।

प्रशिक्षक सुनिल श्रेष्ठले त्यसका लागि फरक रणनितिका साथ फाइनलमा मैदान उत्रने बताए। उनले खेल अघिको ब्रिफिङपछि टिममा केही परिवर्तन गर्ने बताएका छन् भने मैदानमा सट पास खेल्ने र भारतको लङ पासलाई विफल पार्ने योजना बुनेका छन्।

यता भारतिय प्रशिक्षक पनि समूह चरण र फाइनल खेल फरक भएका कारण फाइनलमा नेपाललाई कमजोर रुपमा नलिने बताइरहँदा जित्नकै लागि नेपालसँग खेल्ने बताउँछन्।

दुई वर्षअघि बंगलादेशमा भएको तेस्रो साफ यू-१५ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलमा भारतसँग पराजित हुँदै घर फर्केको थियो। त्यसअघि पहिलो काठमाडौंको दशरथ रंगशालमा भएको पहिलो संस्करणमा पनि सेमिफाइनलमा भारतसँगै हारेको नेपाल काठमाडौंमै भएको दोस्रो संस्करणको फाइनलमा पनि भारतसँग पराजित भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell