PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

लम्बिँदो तीज, छोटिँदै मौलिक मान्यताहरु



स्वेच्छा राउत

लम्बिँदो तीज, छोटिँदै मौलिक मान्यताहरु

काठमाडौं : हरितालिका तीजको माहोलले गाउँ-सहर रंगिएका छन्। तीजेगीतको भाकामा कम्मर मर्काउनेहरु नाच्न थालिसकेका छन्।
 
ठूलो उत्साह र ऊर्जा बोकेर तीज भित्रिएको छ, नेपाली समाजमा। विशेषगरी हिन्दु नारीहरुले मनाउने तीजमा अन्य जातीसमुदायका नारी पनि खुसीसाथ रमाउन थालेको देखिन्छ। उनीहरु समेत रातो सारीमा सजिएर सँगसँगै नाच्न थालेका छन्। गीतको भाकामा भाका मिलाउँदैछन्।  
 
हरितालिका तीजको अघिल्लो दिन आज दर खाने दिन पनि हो। प्रचलनअनुसार आज दर खाइने भए पनि केही दिनअघिदेखि नै दर खान थालिएको छ पछिल्ला वर्षहरुमा। आधुनिकताको प्रभावको नाममा तीजको समय लम्बिएको छ।
 
भोलिपल्ट व्रत बस्ने भएकाले छोरीचेलीका लागि माइतीले दूधका शुद्ध र मिठो परिकार बनाएर राति खुवाउने परम्परा हो दर। समयसँगै दरमा खुवाउने खानामा परिवर्तन आयो र दर खाने खुवाउने कार्यक्रमहरु फेसन बन्न पुगे।
 

के हो दर?


पौराणिक मान्यतालाई तीजको पहिलो रात माइतीमा गएर खाने शुद्ध परिकार नै दर हो। जुन भाद्र शुक्ल द्वितीयाका रात खाने गरिन्छ।
भगवान् शिवलाई पाउन पार्वतीले व्रत बसेको दिनको अघिल्लो रात माइतीमा खाने परिकारलाई दर भनियो। दर सामान्य दिनहरुमा खाने भन्दा शुद्ध, सफा र मिठो हुन पर्ने मान्यता छ।

गाईको दुधलाई हिन्दु धर्ममा सधैं पवित्र पेय पदार्थका रुपमा लिइन्छ। त्यसैले पूजापाठमा पनि गाईको दूध, दही घ्युको छुट्टै महत्व छ। तीजसँग जोडिएको 'दर' पनि विशेषगरी दुग्ध पदार्थ नै हो भन्ने बुझाइ छ।

किंवदन्तीलाई मात्र आधार नबनाई हेर्ने हो भने तीजको दिन व्रत बस्दा स्वास्थ्यको हिसाबले गाह्रो वा कमजोरी हुन सक्ने भएकाले व्रत बस्ने अघिल्लो रात खाने दुग्ध वा अन्य पौष्टिक खानालाई दर भनिन्छ।
 

त्यो तीज


दरसँगै नेपाली चेलीबेटीको सम्बन्ध पनि जोडिएको छ। दर खाने दिन दिदीबहिनी माइतीमा जम्मा भएर आ-आफ्नो सुखदु:ख, मर्म आदिबारे कुराकानी गर्ने गर्थे। चोखोनितो गरी मिठा परिकार बनाउँदै नाचगान गर्दै रमाइलो गर्ने दिन पनि मानिन्छ भाद्र शुक्ल द्वितीयालाई।

दर रातको १२ बजेसम्म खाने त्यसपछि तीज सुरु भएको मानिन्छ। धेरै विवाहित र केही अविवाहित हिन्दु नारीहरु निराहर व्रत समेत बस्ने गर्थे।
राति खाएको दरको भरमा नाच्थे, गाउँथे, रमाउँथे। तीजको साँझ शिवको आरती गरेर अन्नबाहेक अन्य खानेकुरा खान्थे।

डाक्टर चन्द्रशेखर लामाका अनुसार व्रतको नाममा त्यसरी दिनभर भोको बस्दा ब्लड प्रेसरमा समस्या आउन सक्छ। उनी सुझाउँछन्, 'संस्कृति हो व्रत बस्छु भनेर ६ घण्टासम्म बस्दा त ठिकै हो तर पानी पनि नपिई भोकै बस्नाले स्वास्थ्यमा कुनै पनि हिसाबले राम्रो गर्दैन।'
  

यो तीज


अहिले दरको परिभाषा मिठामिठा खानेकुरा खाने, नाच्ने रमाउने जस्ता कार्यक्रममै सीमित भएको छ। दर खानलाई भाद्र शुक्ल द्वितीयाको रात नै कुर्ने विरलै होलान्। पहिले माइतीमा मनाइने तीज अहिले पार्टी प्यालेस र होटलहरुमा पनि मनाइन थालिएको छ।

कलाकार बसुन्धारा भुसाललाई पनि अहिलेको दर खाने प्रवृत्ति खासै चित्त बुझेको छैन। भन्छिन्, 'साथीसंगी, दिदीबहिनी भेट्ने राम्रो अवसर भए पनि अहिले दर शब्दको दुरुपयोग भएको छ।'

उनी अहिले दर खाने भनेर आयोजना हुने विविध कार्यक्रमलाई दर नभई सांस्कृतिक कार्यक्रम भन्न रुचाउँछिन्।

केही वर्षयता त तीजको दरको नाममा भड्किलो तरिकाले पार्टी प्यालेसमा कार्यक्रम नगर्न गृह मन्त्रालयले सूचना समेत सार्वजनिक गर्नुपर्‍यो। तीज विशेष मात्र होइन दरको पनि विभिन्न कार्यक्रम आयोजना हुने ट्रेन्ड बढ्दो छ। दरको नाममा भड्किलोपन पनि बढेको देखिन्छ। अहिले दरमा दुग्ध मात्र होइन चिल्लो, पिरो अमिलो, मादक पदार्थ लगायत सबै खालका परिकार पाक्न थालेको छ।
 
डाइटिसियन पुनम पाण्डेका अनुसार दरको नाममा पाक्ने पकवानहरुले सबैको शरीरलाई फाइन नगर्न सक्छ। 'पेटभरि दर खाएको भोलिपल्ट पानी पनि नखानु आफैंलाई बिरामी पार्नु हो,' उनी भन्छिन्, 'व्रत बसे पनि अन्न नखानाले असर गर्दैन तर दूध, जुस, फलफूल त खानैपर्छ।'
 
प्रेसर, सुगर जस्ता समस्या धेरैमा देखिन थालेको छ। त्यसैले जाँच गराएका, नगराएका सबैले दर खाँदा र व्रत बस्दा खानामा ख्याल राख्नुपर्ने उनको भनाइ छ।

दर खाने दिनदेखि ॠषिपञ्चमीको दिनसम्म मनाइने तीज अहिले लम्बिएको छ। तीज नारीहरुको महान् पर्व भनिन्थ्यो तर अहिले पुरुषहरु तीजका कार्यक्रममा सामेल हुन थालेका छन्। तीजको दर कार्यक्रमहरुमा हुने नाचगानमा महिला बराबर पुरुष नाच्छन्, गाउँछन् र दर पनि खान्छन्।
 
दर र तीजको नाममा हुने भड्किलो कार्यक्रममाथि भने प्रश्नहरु उठ्न थालेका छन्। सामाजिक सञ्जालमा पनि यसको राम्रो-नराम्रो पाटोबारे बहस चलिरहेकै छन्।

आधुनिकताले कतै दर र तीजको मौलिकपन विस्थापित त गर्दैछैन?

(१८ भदौ २०७३ मा पहिलो पटक प्रकाशित)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell