PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

काठमाडौँका नयाँ प्रहरी प्रमुख धानुकले जिम्मेवारी सम्हाले, भन्छन्- 'चुनौतिलाई अवसरमा परिणत गर्छु'



काठमाडौँका नयाँ प्रहरी प्रमुख धानुकले जिम्मेवारी सम्हाले, भन्छन्- 'चुनौतिलाई अवसरमा परिणत गर्छु'

काठमाडौः बैतडी स्थायी घर भएका एसएसपी रविन्द्र धानुक बुधवार बिहानै महानगरीय प्रहरी परिसर काठमाडौं पुगे। निधारमा रातो टीका लगाएका धानुकले आजदेखि काठमाडौँ प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले। 

गएको साउन ३१ गते २५ जना एसपीबाट एसएसपीमा बढुवा हुँदा ७६.४६६० अंकसहित बढुवा सुचीमा पूछारमा परेका थिए धानुक। तर काठमाडौँ जस्तो महत्वपूर्ण ठाउँको प्रमुख बन्ने दौडमा भने सबैभन्दा अगाडि भए उनी। 

प्रायः एसएसपीहरु काठमाडौं प्रहरी प्रमुख हुन लालायित हुन्छन्। तर सबैले यो अवसर भने पाउँदैनन्।  काठमाडौँ जिल्लाकै प्रमुख भएर रमेश खरेल र सर्वेन्द्र खनाल लगायतले नाम कमाएका छन्। एसएसपी धानुकलाई पनि यसरी नै नाम कमाउन कति पसिना बगाउनु पर्ने हो, त्यो समयले नै बताउला। 

बुधवार मात्र जिम्मेवारी सम्हालेका धानुक काठमाडौं प्रहरी प्रमुख हुनुमा अवसर र चुनौति दुवै भएको बताउँछन्। एसएसपी धानुक भन्छन्, 'चुनौतिलाई अवसरमा परिणत गर्न सकेमात्र सफल भइन्छ। त्यही अनुरुप नै काम गर्ने छु।' 

२०४९ सालमा प्रहरी निरीक्षकबाट प्रहरी संगठनमा प्रवेश गरेका धानुकको पहिलो पोस्टिङ इटहरीमा भयो। त्यसपछि अहिलेसम्ममा उनले थुप्रै जिल्लामा प्रहरी प्रमुख भएर पनि काम गर्ने अवसर पाए। 

१० वर्षे जनयुद्ध कालमा रुकुम, दार्चुलाजस्ता जिल्लामा प्रमुख भएर काम गरे। काभ्रे, सर्लाही र पछिल्लो समय रुपन्देही प्रहरी प्रमुख थिए धानुक। 

धानुक आफूलाई संगठनले पठाएका कारण यो जिम्मेवारीमा आएको बताउँछन्। 

दिवेश लोहनीले पनि आजबाट जिम्मेवारी सम्हाले

महानगरीय अपराध महाशाखा प्रमुखमा सरुवा भएका दिवेश लोहनीले पनि बुधवार बिहानबाट नै जिम्मेवारी सम्हालेका छन्। लोहनी यसअघि सप्तरी जिल्ला प्रहरी कार्यालयका प्रमुख थिए। 

सप्तरी गोलीकाण्डपछि लोहनी प्रहरी प्रधान कार्यालय नक्साल तानिएका थिए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell