PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

जाजरकोटमा थपिए पाँच हजार मतदाता



पहिलोपोस्ट

जाजरकोटमा थपिए पाँच हजार मतदाता
तस्बिर : फाइल

जाजरकोट: जाजरकोटमा पाँचहजार भन्दा बढी मतदाता थपिएका छन्। निर्वाचन आयोगले भदौ ३ गतेसम्मको मितिमा संकलन गरेको तथ्यांक अनुसार जिल्लामा पाँच हजार ३९४ मतदाता थपिएका हुन्।

यसमध्ये तीन हजार ७६ महिला र दुई हजार ३१८ पुरुष मतदाता थपिएको कार्यालयले जनाएको छ। प्रदेश तथा संघीय संसद्को चुनावलाई मध्यनजर गरी निर्वाचन आयोगको निर्णय अनुसार जिल्ला निर्वाचन कार्यालयले साउन १ गतेदेखि भदौ ३ गतेसम्म फोटोसहितको मतदाता नामावली संकलन गरेको थियो।

कार्यालयका अनुसार जिल्लामा सबैभन्दा बढी भेरी नगरपालिकामा दुई हजार ४४२ मतदाता थपिएका छन् भने सबैभन्दा कम जुनीचाँदे गाउँपालिकामा २०० मात्र मतदाता थपिएका छन्।

त्यस्तै, नलगाड नगरपालिकामा ८९६, छेडागाड नगरपालिकामा ६७३, कुसे गाउँपालिकामा २५२, वारेकोट गाउँपालिकामा ३१८ र शिवालय गाउँपालिकामा ६१३ मतदाता थपिएको निर्वाचन कार्यालयले जनाएको छ।

जिल्लामा यसअघि स्थानीय तहको निर्वाचनका बेला जिल्लाको कुल मतदाता ८० हजार दुई भएपनि १८ वर्ष उमेर पुगेका मतदाता ७८ हजार ९५४ थिए, जसमध्ये ४२ हजार ४१० पुरुष र ३६ हजार ५४३ महिला तथा एकजना तेस्रो लिंगी रहेको कार्यालयले जनाएको छ।

वैशाख ३१ गते सम्पन्न पहिलो चरणको स्थानीय तहको निर्वाचनमा जिल्लाका ६१ हजार ९२८ मतदाताले भाग लिएका थिए। नयाँ विवरणअनुसार जिल्लाको कुल मतदाता ८५ हजार ३९६ पुगेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख हरिबहादुर बुढाथोकीले बताए। उनले जिल्लाका सातवटै स्थानीय तहमा संकलन केन्द्र स्थापना गरेर मतदाता नामावली संकलन गरिएको बताए।

नागरिकताको अभाव र विदेशमा रोजगारीका लागि स्थानीय गएका कारण अझै धेरै मतदाताको नामावली संकलन हुन नसकेको उनले बताए। उनका अनुसार जिल्लामा अझै २० प्रतिशत योग्य नागरिकको मतदाता नामावलीमा नाम दर्ता हुन बाँकी छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell