PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

बाबुरामले निकालेका र विप्लवले पिटेका नेताहरु माओवादी केन्द्रमा

बाबुरामले निकालेका र विप्लवले पिटेका नेताहरु माओवादी केन्द्रमा

आकाश क्षेत्री/पहिलोपोस्ट


काठमाडौँ : नयाँ शक्तिबाट निश्कासित देवेन्द्र पौडेलसहितका १५ नेताहरुको समूह र नेत्रविक्रम चन्द 'विप्लव'ले कुटेको आरोप लगाउने एक नेता आज माओवादी केन्द्रमा प्रवेश गरेका छन्। 

नयाँ शक्तिमा पार्टीको नीति विपरीत काम गरेको भन्दै १५ जनालार्इ नयाँ शक्तिका संयोजक बाबुराम भट्टरार्इले पार्टीबाट निकालेका थिए।  

अर्का नेता पदम खड्का 'जीवन' ले भने आफूलार्इ विप्लवले कुटपिट गरेको आरोप लगाउँदै माओवादीमा प्रवेश गरेका छन्। विप्लवको पार्टीमा मार्क्सवादका विचारहरु विचलित भएको र वर्ग पहिचान तथा स्थायित्व नभएको उनको जिकिर थियो।  

ध्रुवीकरण कार्यक्रममा बोल्दै जीवनले भने, 'विप्लवले मलार्इ आक्रमण गर्नुभयो, भर्खरै हस्पिटलबाट आएको छु। यो आक्रमण मलार्इ मात्र भएको होइन, सारा माओवादीलाई नै भएको हो।' सबै माओवादी एक भए विप्लवको अस्तित्व हराउने समेत उनले कार्यक्रममा बताए। 

नयाँ शक्तिबाट निकालिएका नेता देवेन्द्र पौडेलले नेपालका सबै परिर्वतनकारी शक्तिहरुलार्इ एक हुन कसैले रोक्न नसक्ने बताए। अबको पाँच वर्षभित्र ध्रुविकरण भएको माओवादी देशको प्रमुख नेतृत्वमा हुनेसमेत नेता पौडेलले दावी गरे। 

पार्टी विभाजनको नतिजा :  दाह्रा, नङ्ग्रा, सिङ भाँच्चिए 

ध्रुवीकरण कार्यक्रममा बोल्दै माओवादी केन्द्रका पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफूहरुका दाह्रा, नङ्ग्रा, सिङ सबै भाँचिएको बताए। 

शान्ति प्रक्रियामा आउने बित्तिकै मओवादीलार्इ जनताले सबैभन्दा ठूलो पार्टी बनाएपछि पार्टीका सबै नेतामा एक किसिमको अहम् पैदा भएको र अब बिस्तारै त्यो अहम् मरेर गएको उनले बताए। 

नेपालको सबैभन्दा ठूलो पार्टी हुँदा ठूला नेताको घमण्डका कारणले पनि माओवादी विभाजन भएको उनको जिकिर थियो। अब सबै नेताहरु यस घटनाबाट भुक्तभोगी भएर आएको र सबैको एकताको पहल आफूले गर्ने समेत प्रचण्डले बताए। 

राजपाका नेता पनि माओवादीमा आउने

मधेशकेन्द्रित दलहरु एक भएर गठन भएको राष्ट्रिय जनता पार्टीका केही नेता माओवादी केन्द्रमा आउन चाहेको समेत माओवादी अध्यक्ष प्रचण्डले खुलासा गरे। 

नयाँ शक्ति केन्द्रीय ध्रुविकरण समिति, नेकपा माओवादी र माओवादी केन्द्र तीन पार्टी ध्रुवीकरण कार्यक्रममा बोल्दै राजपाबाट धेरैको संख्यामा नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गर्न लागेको दावी उनले गरे। 

उनले भने, 'जनआन्दोलनबाट शान्ति प्रकृयामा आउँदा मधेशमा माओवादीमा जुन जनलहर थियो, त्यो फेरि फिर्ता आउँदै छ। राजपाबाट नेता तथा कार्यकर्ता हजारौंको संख्यामा माओवादी केन्द्रमा प्रवेश गर्दै हुनुहुन्छ।'
 

कार्यकर्ता व्यवस्थापन गर्न कार्यदल

माओवादी केन्द्रले विभिन्न तहका नेता तथा कार्यकर्ता व्यवस्थापनका लागि सातवटा प्रदेशहरुमा रामबहादुर थापा बादलको नेतृत्वमा कार्यदल गठन गरेको छ। 

कार्यदलमा देवेन्द्र पौडेल, परशुराम तामाङ, मातृका यादव, बामदेव क्षेत्री, महेन्द्र पासवान, कुमार आले, पासाङ शेर्पा, विश्वभक्त दुलाल र विप्लवनिकट नेकपा छाडेर माओवादी केन्द्रमा प्रवेश गरेका पदम खड्का रहेका छन्। 
 


ट्रेन्डिङ पोस्ट

Ncell