PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रधानमन्त्रीको भारत भ्रमण बाढी नियन्त्रण, व्यापार र विकास निर्माणमा केन्द्रीत हुने



रासस

प्रधानमन्त्रीको भारत भ्रमण बाढी नियन्त्रण, व्यापार र विकास निर्माणमा केन्द्रीत हुने

काठमाडौँ :  उपप्रधानमन्त्री कृष्णबहादुर महराले प्रधानमन्त्री शेरबहादुर देउवाको बुधबारदेखि हुने भारतको राजकीय भ्रमण फलदायी बनाउन द्विपक्षीय छलफलका कार्यसूची तय भइसकेको बताएका छन्। 

आफ्नै कार्यकक्षमा आज रासससँग कुरा गर्दै परराष्ट्रमन्त्री महराले भ्रमणमा खास गरी तराई क्षेत्रको बाढी र डुबान नियन्त्रण, द्विपक्षीय व्यापार र विकास निर्माणसँग सम्बन्धित विषयमा छलफल हुने बताए।

प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा भदौ ७ देखि ११ गतेसम्म भारतको भ्रमण गर्दै छन्।

प्रधानमन्त्री देउवाका साथमा धर्मपत्नी डा आरजु राणा, उपप्रधानमन्त्री महरा, मन्त्री, सांसद, सचिव तथा उच्चसरकारी अधिकारी रहनु हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। 

भ्रमणका बेला प्रधानमन्त्री देउवाले भारतीय राष्ट्रपति रामनाथ कोविन्द र उपराष्ट्रपति एम वेंकैया नायडुसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नाका साथै आफ्ना भारतीय समकक्षी मोदीसँग औपचारिक बैठक गर्नेछन्। 

भ्रमणका बेला छलफल हुने विषय धेरै रहेको अवगत गराउँदै उपप्रधानमन्त्री महराले भने,‘भूकम्पपछिको पुनः निर्माणमा सहयोग प्याकेज, घर टहरा निर्माण, तराईमा सडक निर्माण सञ्जाल विस्तार, मेची पुलको स्तरोन्नति तथा निर्माण, लागूऔषध कारोवार नियन्त्रण र व्यापारिक वस्तुको गुणस्तर मापनसम्बन्धी विषयमा सम्झौता हुनेछ।’

केही दिनअघि भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवालाई टेलिफोन गरी बाढीपहिराबाट पुगेको क्षतिप्रति दुःख व्यक्त गर्दै भारतीय २५ करोड रुपैयाँ अनुदान सहयोगको घोषणा गरेका थिए।

सो अनुदान सहयोगअन्तर्गत भ्रमणका बेला भारु १० करोड घरटहरा निर्माण, पाँच करोड पुरातात्विक सम्पदा निर्माण, पाँच करोड शिक्षा र पाँच करोड स्वास्थ्यमा सहयोग पुग्ने गरी सम्झौता हुने मन्त्रालयले जनाएको छ। 

उनले भने,‘अरुण तेस्रो जलविद्युत् परियोजनाका सम्बन्धमा भने दुई पक्षबीच छलफल टुंगिएपछि मात्र त्यसमा सम्झौता हुन सक्छ।’

दुवै मुलुकका पुराना सन्धिसम्झौता कार्यान्वयनको विषय छलफलका रुपमा मात्र उठ्ने उल्लेख गर्दै उपप्रधानमन्त्री महराले त्यसबाहेक सिमानामा रहेका बाँध तथा चुरे संरक्षणसँग सम्बन्धित विषयमा पनि छलफल हुने बताए। 

दुई ठूला छिमेकी मुलुक भारत चीनबीच पछिल्लो समयमा देखिएको विवादका सम्बन्धमा सोधिएको प्रश्नमा उपप्रधानमन्त्री महराले द्विपक्षीय समस्या शान्तिपूर्ण वार्ता र संवादका माध्यमबाट समाधान हुनुपर्छ भन्ने नेपालको स्पष्ट धारणा रहेको बताए।

उपप्रधानमन्त्री महराले भने,‘द्विपक्षीय वार्ता र संवादका माध्यमबाट समस्याको निकास खोज्नुपर्छ भन्ने नेपालको स्पष्ट धारणा छ, जुन कुराको दुवै देशले सम्मान गरेका छन् र यो कुरा दुवै देशले बुझेका पनि छन् ।’ 

सरकारले प्रधानमन्त्री देउवाको भारत भ्रमणमा भूकम्पपछिको पुनःनिर्माणमा सहयोगसहित भारतले गरेको प्रतिबद्धता, पुराना सन्धिसम्झौता, लक्ष्मणपुर बाँध, कोशी बाँध र त्यसबाट भएको नोक्सानीका बारेमा छलफल गरिने कार्यसूची तय गरिसकेको छ। 

बहुप्रतीक्षित पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको प्रभावकारी कार्यान्वयनका लागि केही प्राविधिक पक्षका बारेमा दुवै मुलुकबीच काम भइरहेको उनको भनाइ थियो।

महराले नेपाल भारतबीच विगतमा भएका सन्धिसम्झौताको पुनरवलोकनका सम्बन्धमा दुवै मुलुकका विज्ञ सम्मिलित प्रबुद्ध समूहले काम गरिरहेको र उक्त काम सकारात्मक रुपमा अघि बढिरहेको बताए। 

भ्रमणका बेला दुई देशबीच विगतमा भएका सन्धिसम्झौता कार्यान्वयन तथा द्विपक्षीय सम्बन्ध एवं सहयोग विस्तारमा केन्द्रीत हुन परराष्ट्र मामिलाका जानकारले दिएको सुझाव मननयोग्य भएको उल्लेख गरे। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell