PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मेरो काव्यिक धार विद्रोह हो, कविता लेख्न नै जन्मिएकी हुँ



पहिलोपोस्ट

मेरो काव्यिक धार विद्रोह हो, कविता लेख्न नै जन्मिएकी हुँ

पुस्तक छापिनेबित्तिक्कै झापाको दमकमा त्यसको परिचर्चा कार्यक्रम गरियो। परिचर्चा पछिको अनौपचारिक कुराकानीमा साहित्यकार लोकेन्द्र बन्जाराले फ्याट्टै भनिदिए, ‘तपाईंको पुस्तकले मदन पुरस्कार पाउँछ, नपाए पनि उत्कृष्ट १० मा अवश्य पर्छ।’

त्यसपछि झल्याँस्स भएँ म। कविता सङ्ग्रह छापिनेबित्तिकै चर्चाको स्पिड बढिरहेको थियो तर मदन पुरस्कारका बारेमा मैले कल्पना पनि गरेकी थिइन।

बन्जाराजीको कुरामा धेरैले सही थापे। यसपछि मलाई लाग्यो, मदन पुरस्कारका लागि अयोग्य किताब त होइन तर यसका लागि कहिल्यै सोचिएन।

नभन्दै मदन पुरस्कार गुठीले उत्कृष्ट ९ पुस्तकको नाम सार्वजनिक गर्यो अहिले लाग्छ, मेरो कृति ‘म स्त्री अर्थात् आइमाई’ कविता सङ्ग्रह मदन पुरस्कार पाउन योग्य छ। मेरा रचनामा मलाई विश्वास छ, ती शक्तिशाली छन। 

कविता विधाले मदन पुरस्कार नपाएको १२ वर्ष भएछ । यस पटक कवितालाई पुरस्कृत गर्ने हो भने मेरै कृति पर्छ भन्ने मलाई विश्वास छ । तर म पुरस्कार पाउनकै लागि फन्डा गरिरहेकी चाहिँ छैन।

विद्रोह मेरो मूलधार हो
मलाई लाग्छ, म विद्रोही धारकी कवि हुँ, पाठकले पनि यसै भन्छन्। मेरो मूलधार विद्रोह नै हो। सानैदेखि विद्रोह गरियो। विद्रोह नगरेको भए यहाँ आएर यो मञ्चमा उभिएर बोल्न सक्ने हुन्नथेँ होला।

घर, समाज, राज्य व्यवस्था, शाहीकाल सबैसित विद्रोह गरियो। त्यसैले मेरा कवितामा कोमलता नभेटिएको होला। मसित धेरै साथी र पाठकले कवितामा कोमलताको केही अभाव भएको प्रतिक्रिया व्यक्त गर्नुहुन्छ। मभित्र यो छँदैछैन भने कसरी पाउनु हुन्छ त भनिदिन्छु। म बरु ओखर हुँ, फुटाएपछि मिठो गुदी निस्कन्छ। वाह्य कोमलता छैन।

यसरी सुरु भयो कविता–यात्रा
ओखलढुङ्गामा २०५७ मा एसएलसी पास गरेपछि क्याम्पस पढ्न विराटनगर आइयो। विद्यार्थीकालदेखि नै राजनीतिमा लगाव थियो।

हाम्रो सबै परिवार काङ्ग्रेसमा आबद्ध थियो त्यसैले नेविसङ्घको राजनीतिमा ओखलढुङ्गादेखि नै संलग्न थिएँ। विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा स्ववियुको निर्वाचनमा कोषाध्यक्षमा उम्मेदवार भएँ।

स्ववियु निर्वाचनको भोट माग्न विराटनगरको सहरी क्षेत्रका घरघर जाने चलन अझै छ। यही क्रममा हामी प्रख्यात कवि कृष्णभूषण बलका घरमा पुगेछौँ। 

‘खाना नखाएको कति दिन भयो ?’, मेरो अनुहार देखेर भूषण दाइले सोध्नुभयो, ‘किन यस्तो निन्याउरो अनुहार ?’
मैले भनेँ, ‘तीन दिन भयो दाजु खाना नखाएको । समोसा र चाउचाउका भरमा छौँ।’

यसपछि भूषण दाइले द्रवित भएर खुसुक्क हातमा १ हजारको नोट राखिदिनु भयो। म फुरुङ्ग भएँ।

विराटनगरको वाणी प्रकाशनमा हो उहाँसित परिचय भएको। त्यहाँ नियमित साहित्यिक कार्यक्रम हुन्छ भनेर कवि एवम् पत्रकार मीनकुमार नवोदितले पुर्याउनु भएथ्यो।

खासमा म ओखलढुङ्गाबाट कविताको वीज लिएर विराटनगर झरेकी थिएँ। यहाँको उर्वर साहित्यिक भूमि, वाणी प्रकाशनका नियमित गोष्ठी र कार्यक्रम अनि भूषण दाइको वात्सल्य र स्कुलिङले आज एक कविका रूपमा उभिन सफल भएकी छु।

कवितै लेख्न जन्मेकी रहेछु
मलाई अहिले लाग्दैछ, म कवितै लेख्न जन्मेकी रहेछु। विराटनगरमा स्नातक गरेर अङ्ग्रेजी विषयमा एमए गर्न कीर्तिपुर जाँदासम्म नेविसङ्घको राजनीतिले छाडेको थिएन। 

कीर्तिपुर क्याम्पस एकाइको सहसचिव थिएँ, एक दिनको बैठकमा आन्दोलनको कार्यक्रम बन्दै थियो। आन्दोलनमा ढुङ्गामुढा गर्ने कुरामा सबै एकमत देखिए।

हो, त्यही दिनदेखि मैले सक्रिय राजनीति त्यागें। लाग्यो, यो कीर्तिपुरमा बौद्धिक मनुवाको मात्र जमात हुन्छ भत्रे सुनेकी थिएँ। तर एमए पढ्नेहरू पनि ढुङ्गा हात्रे कुरा गर्छन्। अहँ, यस्तो राजनीति मलाई सुहाउँदैन। 

मलाई लाग्छ, सृष्टिको आत्मा साहित्य हो र साहित्यको पनि आत्मा कविता। मलाई आख्यानका लागि विभिन्न प्रकाशन संस्थाबाट धेरै अनुरोध आए। राम्रै रकमका प्रस्ताव थिए तर मैले कविता नै रोजेँ।

कथा, उपन्यास, कथा जुनसुकै गद्य विधाको चर्चा र समालोचना गरियोस् तिनमा काव्यिक लयको खोजी गरिन्छ । काव्यिकता आखिर सबै विधामा चाहिने रहेछ। त्यसैले अरू अङ्ग समाउनुभन्दा आत्मा नै किन नपक्रने भनेर मेरो मोह पद्यमै छ। 

कविता लेखेर बाँचिन्छ भन्ने आत्मविश्वासमा छु। सङ्घर्ष गर्दैछु। यो एक वर्षमा ‘म स्त्री अर्थात् आइमाई’– को तेस्रो संस्करण छापिइसकेको छ। प्रकाशकले इमाानपूर्वक रोयल्टी दिइरहेका छन्। 

हामी आइमाई नै हौँ  
धेरै गैरसरकारी र अन्तर्राष्ट्रिय सङ्घ संस्थाले हामी नारी जातिलाई आइमाई भन्नु हुँदैन भन्ने अभियान नै चलाएका छन्। 

तर मेरो मत छ हामी आइमाई नै हौँ। संस्कृत भाषाको ‘आर्यमाता’ भन्ने एउटा विशिष्ट र इज्जतदार शब्दबाट अपभ्रंश हुँदै भएको हो आइमाई। 

हामीलाई बुझाउने महिला, नारी, स्वास्नी मान्छे, केटीलगायत सबै शब्दका विपरीतार्थक अर्थात् पुलिङ्गी शब्द छन् तर आइमाई एउटा उपल्लो कोटिको र स्वायत्त शब्दका रूपमा प्रस्तुत छ। यसको पुलिङ्गी शब्द छैन। 

हामी महिलामा केही विशिष्ट गुण छन्। जस्तै मासिक स्राव, गर्भधारण, प्रसूती आदि। यस्ता गुण पुरुषसित हुँदैनन्। यस्ता पृथक् र विशिष्ट गुण भएकै हुनाले हामीलाई आइमाईजस्तो स्वायत्त शब्दले सम्बोधन गरियो भने हामीलाई मर्यादा प्रदान गरिएको हो भन्ने मलाई लाग्छ। 

नाम राख्नै भयो गाह्रो
कविता सङ्ग्रह त तयार भयो तर यसको नाम राख्न धेरै सकस पर्यो। आफ्ना नजिकका साहित्यिक मित्र, विद्वान् र अन्य अनुरागी साथीभाइ धेरैसित सल्लाह गरियो तर जुर्दै नजुर्ने। प्रकाशकले सङ्ग्रहको नाम छिटो दिनूस् भनेर फोन गरेको गर्यै गर्छन्, यता नाम जुर्दैन। कस्तो फसाद थियो।

‘हेर सीमा, तिम्रा अधिसङ्ख्य कविता नारीसित सम्बन्धित छन्’, एक दिन कवि देवान किराँतीले भन्नुभयो, ‘तिमीलाई कि हान्छन् कि मान्छन्। सङ्ग्रहको नाम ‘म स्त्री अर्थात् आइमाई’ राख।

मलाई एकदम ठिक लाग्यो यो सुझाव। ‘मेरो सङ्ग्रहको नाम जुर्यो’, तत्काल प्रकाशकलाई फोन गरेर भनेँ, ‘लेखिदिनूस्– म स्त्री अर्थात् आइमाई।’
प्रकाशक मान्दैनन्। यो नाम हुँदैन भन्छन्। यो नामको पुस्तक बजारमा चल्दैन भन्ने अड्डी लिन्छन्।

यहाँनेर मैले झुठ बोलेँ। प्रकाशकलाई भनेँ, ‘यो नाम कवि मनु मञ्जिल दाइले राखिदिनु भएको हो।’

प्रकाशक यसपछि मत्थर भए। मनु दाइलाई तत्काल फोन गरेँ। मेरो समस्या बुझ्नु भएका उहाँले पनि प्रकाशकलाई सम्झाइदिनु भयो  यसरी तयार भयो मदन पुरस्कारको सर्ट लिस्टमा परेको मेरो कृति ‘म स्त्री अर्थात् आइमाई’। 

(मदन पुरस्कारका लागि उत्कृष्ट ९ पुस्तकमध्ये ‘म स्त्री अर्थात् आइमाई’ कविता सङ्ग्रहका स्रष्टा सीमा आभाससित अनन्तराज न्यौपानेले गरेको कुराकानीमा आधारित ।)  
  
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell