PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

निशान भट्टराई बचे, सुरज थापाको नेपाल आइडल यात्रा समाप्त



निशान भट्टराई बचे, सुरज थापाको नेपाल आइडल यात्रा समाप्त

काठमाडौँ : एपिवान टेलिभिजनबाट प्रसारण भइरहेको रियालिटी शो नेपाल आइडलमा सुरज थापाको यात्रा समाप्त भएको छ। 

शुक्रबार प्रसारित कार्यक्रममा दर्शकको कम भोट पाएको आधारमा सुजाता पाण्डे, निशान भट्टराई र सुरज थापा बटम थ्रीमा परेका थिए। त्यसमध्ये नेपाल आइडलकी एक मात्र महिला प्रतिस्पर्धी सुजाता सुरुमै सुरक्षित भइन्। 

सुजाता सुरक्षित भइसकेपछि निशान वा सुरजमध्ये एक जना आउट हुने स्थिति देखियो। दुवै यसअघि पनि कम भोट पाएका आधारमा डेन्जर जोनमा परिसकेका थिए। 

निर्णायकमध्येकी एक इन्दिरा जोशीले अहिले नै दुई जना बटम थ्रीमा परेको देखौँला भन्ने नसोचेको बताइन्। 'अहिले नै उनीहरु यहाँ देख्ने बेला भइसकेको थिएन', उनले भनिन्। 

दर्शकले सबैभन्दा कम मत सुरज थापालाई दिएको भन्दै उनी टप फाइभमा जान नसक्ने बताइएपछि होस्ट, प्रतिस्पर्धीदेखि निर्णायकहरुसम्मका आँखा रसाए। तर सुरजले भने, 'म दुःखी छैन, खुसी नै छु। म जितेर नै गइरहेको छु जस्तो लागेको छ। तपाईँहरु सबैको माया पाएको छु, यही नै ठूलो कुरा हो।'

सुरज थापाले बिहीबार गाएको गीतमा तीनै जना निर्णायकले आफ्नो सिटबाट उभिएर प्रशंसा गरेका थिए। 

नेपाल आइडलका प्रतिस्पर्धीमध्ये सबैभन्दा बढी उमेर अर्थात् ३० वर्षका सुरजले राजधानीबाट अडिसन दिएका थिए। नेपालगञ्जका सुरज आधुनिक, सेमी क्लासिक र सेन्टिमेन्टल गीत मन पराउँछन्। उनले आरआर कलेजमा पढ्दा बेनी जंगम, दिनेश थापा र लाक्पा शेर्पाबाट गायनसम्बन्धी प्रशिक्षण लिएका थिए।

बुबाले आर्मी बनाउन चाहेका सुरजले एक दशकसम्म राजधानीमा संघर्ष गरेका थिए। त्यो संघर्षले नपाएको नाम नेपाल आइडलमा आएको चार महिनामा पाएको भन्दै उनले सन्तुष्टि जनाए। 

नेपाल आइडलमा अब निशान भट्टराई, सुजाता पाण्डे, सागर आले, प्रताप दास र बुद्ध लामा मात्र बाँकी छन्। ती मध्ये बुद्ध लामामात्रै अहिलेसम्म बटम थ्रीमा परेका छैनन्। 

अबका दुई हप्ता एक एक प्रतिस्पर्धी आउट भएपछि टप थ्री प्रतिस्पर्धी बाँकी रहेपछि ग्रान्ड फिनाले हुने र त्यसैबाट पहिलो नेपाल आइडल चुनिने छ।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell