PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

मदारीको सर्कसजस्तो देश



किशोर नेपाल

मदारीको सर्कसजस्तो देश

कवि थोमस ग्रेको भनाइ छ : उपेक्षा त्यही वरदान सावित हुन्छ जहाँ ज्ञानीहरु मूर्ख ठहरिन्छन। (Where ignorance is bliss, it is folly to be wise) अहिले हाम्रो देशको अवस्था यस्तै छ।

देश मानौँ मदारीको सर्कस हो। यो सर्कसको रिंगमा केही मानिसको वर्चस्व छ। जादूगरीको यो खेलको सर्कसमा एउटा मेच राखिएको हुन्छ। तीनजना मानिसका बीच मेचमा को बस्ने प्रतिस्पर्धा हुन्छ। अन्त्यमा, फैसला जन–प्रतिनिधिहरुको नाममा त्यही भिडले गर्छ जसलाई सुन्ने र बोल्ने होइन हात हल्लाउने र कराउने अधिकार मात्र हुन्छ।

देश अहिले प्राकृतिक प्रकोपले आक्रान्त छ। सन्चार माध्यम र सामाजिक संजालले प्रवाहित गरेका सूचनाको भेल देख्दा नै कहाली लाग्दछ। अझ, यथार्थ कस्तो होला? सीमित मानिसको हातमा भएको क्यामराले खिचेका तस्वीरहरुले यति दर्दमय दृश्य देखाइरहेका छन भने वास्तविक अवस्था कस्तो होला ?

देश अहिले संवेदना र संवेदनाहीन हिसाबले विभाजित छ। कवियत्री सरस्वती प्रतीक्षाले आफनो फेसबुक पोस्टमा खरो कुरा लेखेकी छिन् – यस्तो विपत्तिको बेलामा पनि तपाईहरुलाइ दर खाएका र छमछमी नाचेका फोटोहरु पोष्ट गर्न कस्तो मनले मानेको? 

देशमा अहिले एकथरि मानिस कोशी बाँध भत्काउनुपर्ने नारा लगाउँदैछन्। कोशी बाँधको ढोका खोल्ने कि भत्काउने? भत्काउने भन्दा शक्तिको प्रदर्शन हुन्छ। बाँधको ढोका खोल्न गृह मन्त्रीले परराष्ट्र मन्त्रीलाई परराष्ट्रले भारत सरकारलाई, भारत सरकारले बिहार सरकारलाई भन्दाभन्दै यो सालको वर्षात सकिइहाल्छ। वर्षातको भेलमा बाँध भत्काउने जंगी नारा कताबाट र कसरी आयो? कसैलाई थाहा छैन। तर, नारा आएको छ। यतिबेला हाम्रो दिमागमा राष्ट्रवादको भूत सवार भएको छ। उस्तै परे देश विदेश जहाँसुकै बसेका नेपाली बोलाएर टिष्टादेखि काँगडासम्मको भूमि पुन: प्राप्तिको मुहिममा लाग्ने आह्वान गर्न सक्छन् मदारीहरुले। डिमडिम डिमडिम डमरुको आवाज सुनेर आत्म–बलिदानीहरु ढर्रढ्याम्म ढर्रढ्याम्मको संगीतमा आफना पाइलाहरु अगाडि बढाउने छन्। 

आइतवार बिहानै प्रधानमन्त्री शेरबहादुर देउवाले देशवासीलाई बाढी पहिरोको सूचना दिँदै आफूले जंगी निजामति कर्मचारीलाई छिटो उद्दार कार्यमा लाग्ने निर्देशन दिएको बताए। विचरा भएका छन् प्रधानमन्त्री। एक त स्थानीय तहको दुवै पटकको चुनावमा प्रमुख प्रतिपक्षले सोझै मात दिएकोले अहिलेसम्म दिमाग आतंकित छ। अर्कोतिर, दुई नम्बर प्रदेशमा हुन लागेको तेस्रो चरणको चुनावमा सय स्थानमा कसरी विजयी हुने? चिन्ता थपिएको छ। 

कर्मचारीतन्त्र सरकारलाई टेर्नेवाला छैन। महिना दिनअघि मुख्य सचिव र सम्बन्धित कर्मचारी डाकेर प्रधानमन्त्रीले कमसेकम राजधानी शहरका सडकमा परेका खाल्डाखुल्डी त टाली दिनुस् भनेर निर्देशन दिएका थिए। कागजमा खाल्डाखुल्डी टालिए पनि काठमाडौंको सडकमा दिनहुँ आवागमन गर्नेहरु खाल्डोमा पर्न छाडेका छैनन्। अर्को विपद् छ मुग्लिन नारायणघाट सडक। प्रधानमन्त्रीले जति निर्देशन दिए पनि पहिरो रोकिने होइन। 

अहिलेको वर्षातले कति घर डुवानमा परे, कतिको क्षति भयो, कति विस्थापित भए, कतिवटा पुल बगे, कति परिवारको बिचल्ली भयो, कति किलोमिटर पक्की सडक भत्किए, आफनो गाउँ आफै बनाउने धूनमा बनेका कच्ची बाटाहरुले कति पहिरो खसाले? यी सबै विवरण प्रधानमन्त्रीको टेबुलमा आइपुग्न निश्चय पनि केही समय लाग्नेछ। चाडवाडको मौसम शुरु हुनुअघि आएको प्राकृतिक प्रकोपले सामान्य नेपाली जनताको मन कुँडिएको छ। 

नेपालका प्रधानमन्त्रीहरु र नेताहरुको बानी गर्छु भन्ने र नगर्ने, अप्ठेरो कुरालाई सजिलो बनाएर बोल्ने र सामान्य काममा पनि जाँगर नदेखाउने हो। नाकाबन्दीका बेला एमाले–माओवादी सरकारले ‘जनताको सुविधाका लागि’ के मात्रै गरेन र ? ठोरीको जंगल बीचमा तेल र ग्याँसको वितरण डिपो खोल्यो। चीनबाट तेल र इन्डक्सन चुलो मगायो। चीनसंँग पारवहन सम्झौता गर्‍यो। समुद्रमा पानी जहाज चलाउने निर्णय गर्‍यो। हुने बेलामा केही भएन। अब अहिले कांग्रेस–माओवादी सरकार छ। हुन् त जनताले सरकारबाट केही हुने आशा मार्न थालिसके। तै पनि, यिनीहरुले केही गर्लान कि भन्ने झीनो आश मनमा राखेकै छन्। यो अवस्थामा प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना पाइलाहरु विचार पुर्‍याएर चालेनन् भने उनलाई चिप्लिनबाट कसैले रोक्न सक्ने छैन।

कांग्रेसमा शेरबहादुर देउवाको छवि ‘काम गर्ने नेता’ (डुअर्स) को बनेको छ। उनीप्रति मानिसको विश्वास कुनै न कुनै हिसाबले बचेको पनि छ। खास गरेर, प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्री देउवाको छवि पहिरो ल्याएर पुर्ने नियत राखेको छ। बितेको चुनावका बेला देउवाका नाममा यति धेरै चरित्रहीन प्रचार भयो कि त्यसको लेखाजोखा कसैले राख्न सक्ने थिएन। सरकार प्रमुखमाथि प्रमुख प्रतिपक्षको आक्रमण कहींँ पनि अस्वाभाविक मानिदैन। तर, व्यक्तिको मर्यादामा आघात पुग्ने खालको प्रचार कहींँ गरिँदैन।

प्रधानमन्त्री देउवाले निर्देशन दिएर पुग्दैन। अहिले निर्देशन मात्रै प्रभावकारी र पर्याप्त छैन। अहिले त कति ठाउँमा एण्टीवायोटिक उपचारको आवश्यकता छ, कति ठाउँमा सर्जरीको आवश्यकता छ। यी कुरामा उनले गम्भीरतापूर्वक सोच्नै पर्दछ र ध्यान दिनै पर्दछ।

डा.गोविन्द केसीको अनसनले नेपाली समाजमा एक प्रकारको मानसिक प्रकोप ल्याइसकेको छ। प्राकृतिक प्रकोपले त्यसलाई दोव्वर बढाइ दिएको छ। यो अवस्थामा प्रधानमन्त्रीले सुस्त निर्णय लिने होइन। उनले आफनो क्षमता र जनतासम्मको पहूँच देखाउने बेला यही हो। देशमा औषधिको स्टक छ कि छैन, खाद्यान्नको आपूर्ति हुने अवस्था छ कि छैन ? मोटरको बाटो भत्किएको ठाउँमा हेलिकप्टरबाट सामान ढुवानी हुने अवस्था छ कि छैन ? संकटका बेला यी साना–मसिना कुरामा प्रधानमन्त्रीको ध्यान जानु अपरिहार्य हुन्छ। 

मदारीको सर्कस देखाएर जनताको मन जित्ने जमाना होइन यो। राजनीतिक दलहरुले आफूलाई सुधार्न सकेनन् भने जनताले नेता र व्यवस्थाकै विकल्प खोज्न थाल्दछ। देशका प्रमुख दलका नेताहरु यो कुरासँग परिचित होलान्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell