PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

बाढीपीडितका लागि एनआरएनद्वारा राहत कोष स्थापना, शेष घले दम्पत्तिले दिए १ करोड रुपैयाँ   



बाढीपीडितका लागि एनआरएनद्वारा राहत कोष स्थापना, शेष घले दम्पत्तिले दिए १ करोड रुपैयाँ   

काठमाडौँ : दर्जनौंको मृत्यु र हजारौं परिवार घरवारविहीन हुनेगरी तराईमा आएको बाढी पहिरो पीडितलाई राहत प्रदान गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आपतकालीन राहत कोषको स्थापना गरेको छ । कोषमा अध्यक्ष शेष घले र जमुना घलेले एक करोड रुपैयाँ सहयोगको प्रतिवद्धता जनाएका छन् ।
 
एनआरएनए अन्तराष्ट्रिय समन्वय परिषदको आइतबार बसेको आकस्मिक बैठकले आपतकालीन राहत प्रदानका लागि कोष स्थापना गर्ने र तत्कालै राहत वितरणमा खटिने निर्णय गरेको छ ।
 
'यो दुःखको घडीमा हामी देशबासीको साथमा छौं' अध्यक्ष घलेले भने- बैठकबाट हामीले एक करोड बढी रकम संकलन गरिसकेका छौं, आवश्यक राहत सामाग्री खरिद गरी हामी तत्कालै वितरणमा खटिने छौं ।'
 
संघका अध्यक्ष घले र उनकी पत्नी जमुना गुरुङको एमआईटी फाउण्डेसनले बाढी पीडितका लागि १ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
साथै एनआरएनका संरक्षक जीवा लामिछाने, उपाध्यक्षहरु भवन भट्ट र कुमार पन्तले एक/एक लाख रुपैयाँ सहयोग गरेका छन् । संघका अन्य पदाधिकारी र सदस्यहरुले पनि सहयोग गर्ने घोषणा गरिसकेका छन् ।
 
बाढीपहिरो पीडितलाई के-कस्तो सहयोग जरुरी छ भनी संघका अध्यक्षले आइतबार नै गृहमन्त्री जनार्दन शर्मासँग टेलीफोनमा छलफल गरेका थिए । सहयोगको आवश्यकताबारे गृहमन्त्रालयले विस्तृतमा जानकारी दिएपछि सोही आधारमा राहत सामाग्री उपलब्ध गराउने संघले निर्णय गरेको छ ।
 
तत्कालका लागि राहत कोषको रकम दुई करोड रुपैयाँ पुर्‍याउने र सामाग्री खरिद प्रकृया सुरु गर्ने जनाइएको छ । राहत वितरणको समन्वय गर्न संघका अध्यक्ष घले तत्कालै अष्ट्रेलियाबाट नेपाल आउने बताइएको छ ।
 
संघले विश्वभरि छरिएर रहेका नेपालीहरुलाई आफ्नो गच्छेअनुसार रकम सहयोग गर्न आह्वान गरेको छ । साथै संस्थाको मातहतका सबै देशका राष्ट्रिय समन्वय समितिहरुलाई पनि रकम संकलनमा तीब्रताका साथ लाग्न र संकलित रकम एक साताभित्र एनआरएन केन्द्रीय कार्यालयको खातामा पठाइसक्न संघले विज्ञप्तिमार्फत् अनुरोध गरेका छन् ।
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell