PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

अविरल वर्षाले देशभर बाढीपहिरो र डुबान; सिन्धुलीमा ४ बाँकेमा ३ को मृत्यु



अविरल वर्षाले देशभर बाढीपहिरो र डुबान; सिन्धुलीमा ४ बाँकेमा ३ को मृत्यु

काठमाडौँ : अविरल वर्षाका कारण देशभर बाढीपहिरो र डुबानको समस्या देखिएको छ। सिन्धुलीमा पहिरोले घर पुरिएर चार जनाको मृत्यु भएको छ भने बाँकेमा तीन जनाको मृत्यु भएको छ। 

रातभर भीषण वर्षा हुने देखिएपछि गएराति तराईका सबै जिल्लामा उच्च सतर्कता अपनाउन निर्देशन दिइएको थियो। 

बाढी पूर्वानुमान शाखाका अनुसार देशको पूरे तराईदेखि महाभारतसम्मको क्षेत्रमा हिजो दिउँसोदेखि भिषण पानी पर्न सुरु भई कन्काई, मोहना लगायत नदीहरुमा हिजो बेलुकी नै जलसतहले खतराको स्तर पार गरेको, रातको १ बजे पश्चिम राप्तीको कुसुम जलसतह केन्द्रम खतराको तह पार गरेको थियो। आज बिहान ५ बजे बबई चेपाङ जलमापन केन्द्रमा जलसतहले चेतावनी र खतराको तह पार गरेको छ। 

आज पनि विशेष गरी पूर्वी भागमा भारी वर्षाको र अन्य भागमा मध्यम वर्षाको सम्भावना देखिएको छ। पूर्वको झापा, इलाम, सुनसरी, मोरङ, सप्तरी, उदयपुर, धनकुटा, मध्यको रौतहट, सर्लाही, मकवानपुर, बारा, पर्सा, चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु र पश्चिममा
कञ्चनपुर, कैलाली र बर्दियाका मुख्यतः चुरे र महाभारतबाट प्रवाह हुने मेची, निन्दा, बिरिङ, कन्काई, पथरी, त्रियुगा, बूढीखोला, बागमती, पूर्वराप्ती, रिउ खोला, विनय खोला, अरुण खोला, तिना, वाणगंगा र पश्चिममा मछेली, मोहना, बबई लगायतमा आज बेलुकीसम्मै अति
जोखिम हुनेतर्फ शाखाले सचेत गराएको छ।  

सिन्धुलीमा चारको मृत्यु

राससका अनुसार  सिन्धुलीमा शुक्रबार बिहानैदेखिको अविरल वर्षापछि आएको पहिराले पुरिएर आज बिहान एकै परिवारका चार जनाको ज्यान गएको छ । 

सिन्धुलीमाढी, २ नं बजारका उदयबहादुर खड्का परिवारका चार सदस्यको ज्यान गएको हो । आज बिहान करिब २ बजे घर माथिबाट आएको पहिराले पुरिएर खड्काकी ३७ वर्षीया श्रीमती दुर्गाकुमार, १५ वर्षीया छोरी शोभा तथा छोरा १० वर्षीया अनिष र आठवर्षीय मनिष रहेको परिवार स्रोतले जनाएको छ । 

सिन्धुलीमाढीमा दैनिक ज्याला मजदुरी गर्ने खड्काको परिवार नेपाल पत्रकार महासंघ सिन्धुलीको जग्गामा घर बनाएर बसेको थियो । जिल्ला प्रहरी कार्यालयको आवासीय भवन नजिकैबाट झरेको पहिराले घर पुरिएको थियो । राति २ बजेतिर पहिराले घर भत्काएपछि आफू भागेर बाँच्न सफल भएको तर राति हारगुहार गर्दा उद्धार गर्न ढिलो हुँदा परिवारका सबै सदस्यको मृत्यु भएको खड्काले बताए। 

“राति २ बजेतिर पहिरो आएछ । म ढोकाको छेउमा सुतेको थिएँ । श्रीमती र छोराछोरी भित्तापट्टि सुतेका थिए । पहिरो आउनासाथ म भागेँ, उनीहरु भाग्न भ्याएनन् । राति २ बजेदेखि चिच्याएँ, ठूलो पानी परेकाले कोहीले थाहा पाएनन् क्यार, करिब ४ बजेतिर छिमेकीले प्रहरीमा खबर गरिदिए” खड्काले भने। 

पहिरामा परेकाहरुलाई ढिलो उद्धार गर्दा ज्यान गइसकेको थियो । शव सिन्धुली अस्पतालम राखिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले उद्धार प्रयास गरेको थियो । राति परेको अविरल वर्षाको कारण अन्य क्षेत्रबाट भने कुनै क्षति विवरण अहिलेसम्म नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 

दुई सडकखण्ड अवरुद्ध

हेटौँडा–कुलेखानी सडकखण्डअन्तर्गत पर्ने सिस्नेरीको रामचन्द्र भञ्ज्याङ र मदन भण्डारी राजमार्गअन्तर्गत फाखेल सडकखण्डको सुकौरामा आज राति परेको वर्षाले पहिरो गई हेटौँडा–काठमाडौँ यातायात सेवा अवरुद्ध भएको छ । 

कुलेखानी–काठमाडौँ र फाखेल–काठमाडौँ सडकखण्ड अवरुद्ध भएकाले बिहानदेखि भैँसेस्थित त्रिभुवन राजपथबाट काठमाडौँतर्फको यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । त्यसैगरी हेटौँडाबाट गएका यातायातका साधन चिसापानीगढीबाट फर्काई भीमफेदी हुँदै भैँसेतर्फ लगिएको नारायणी यातायात व्यवसायी संघका अध्यक्ष बद्रीप्रसाद चौलागाईंले जानकारी दिए। 

वीरगञ्ज, जनकपुर, चन्द्रनिगाहपुर र हेटौँडा गरी दैनिक करिब ७५० सुमो जिप हेटौँडा,कुलेखानी हुँदै काठमाडौँ जाने गर्छन् ।

 

पहिरोले घर पुरिँदा महिलाको मृत्यु

पहिराले घर पुरिँदा लेटाङ नगरपालिका–१ मा आज बिहान एक महिलाको मृत्यु भएको छ । दुई दिनदेखि लगातार परेको वर्षापछि पहिराले घर पुरिँदा ४० वर्षीया गोपीमाया तामाङको मृत्यु भएको सो वडाका कार्यालय सचिव धनमान तामाङले राससलाई जानकारी दिए। मृतककी ९० वर्षीया सासू टुलकीमाया, ५० वर्षीय श्रीमान् टंक र १० वर्षीय छोरालाई भने स्थानीयवासीले उद्धार गरेर बचाएका छन् । 

पूर्वपश्चिम राजमार्ग अवरुद्ध 

अविरल वर्षापछि सुन्दरहरैँचा नगरपालिका–४ स्थित बूढी खोलामा आएको बाढीले पुल कटान गर्न थालेपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । बाढीले पुल नै जोखिममा परेपछि राजमार्ग भएर आवतजावत नै बन्द गरिएको सुन्दरहरैँचा नगरपालिका प्रमुख शिवप्रसाद ढकालले जानकारी दिए। बेलबारी नगरपालिका–५ स्थित भित्री सडकखण्डमा लोहन्द्रा खोलामा रहेको पक्की पुल बाढीले बगाएको इलाका प्रहरी कार्यालय हरैँचाले जनाएको छ । 

यस्तै बूढीगंगा गाउँपालिका–२ बौराहा टोलमा बूढीखोलाको बाढी पसेर एक सय ५० घर, मुडेरी टोलका एक सय ५० घर र दिपुटोलका ५० घर डुबानमा परेका छन् । इलाका प्रहरी कार्यालय निमुवाबाट प्रहरीको टोली खटिएर पीडितको उद्धार गरिरहेको रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

यसैगरी उर्लाबारी नगरपालिका–८ स्थित माझीटोलमा बक्राहा खोलाको पानी गाउँ पसेर १५ घर र मिक्लाजुङ गाउँपालिकामा–६ खाबेझोडामा १८ घर डुबानमा परेका छन् । त्यस्तै रतुवामाई नगरपलिका–५ गोविन्दपुरमा रहेको प्रहरी चौकी गोविन्दपुर पूर्णरुपमा डुबानमा परेपछि त्यहाँ कार्यरत प्रहरी छतमा बस्नुपरेको छ ।
 
रतुवामाई नगरपलिका–५, ७, ८ र ९ मा रतुवा खोला र बक्राहा खोलाको बाँध फुटेर बस्तीमा पसेको प्रहरीले जनाएको छ । सो स्थानका विस्थापित अन्दाजी सात सय घरपरिवारलाई सुरक्षित स्थानतर्फ सार्ने कार्य भइरहेको प्रहरी चौकी इटहराले जनाएको छ । यस्तै धनपालथान गाउँपालिका–६ स्थित लोहन्द्रा खोलाको बाँध फुटेर एक सय ५० घर डुबानमा परेका छन् ।

घर भत्किँदा तीनको मृत्यु

बाँकेमा राप्तीसोनारी गाउँपालिका–४ लालपुर गाउँका कमीलाल थारुको घर भत्किँदा तीन जना बालिकाको मृत्यु भएको छ । गए रातिदेखि परेको अविरल वर्षाले घरभित्र पानी पसेर एक्कासि घर भत्किँदा तीन छोरी मृतावस्थामा भेटिएको र तिनकी आमा बेपत्ता भएको बाँकेका प्रहरी उपरीक्षक टेकबहादुर तामाङले राससलाई बताए। मृतकको अझैसम्म नाम खुलेको छैन । 

बिहानैदेखि प्रहरी परिचालन गरिए पनि सबै स्थानमा उद्धार गर्न नसकिएको तामाङले बताए । बाढीपीडितलाई सकुशल उद्धारका लागि हेलिकप्टरको प्रयोग गरिए पनि मौसम प्रतिकूलताका कारण ढिलाइ भएको प्रहरीले जनाएको छ ।
 

पीडितलाई हेलिकप्टरमार्फत उद्धार 

लगातारको वर्षाले जिल्लाका विभिन्न स्थान डुबानमा परेको छ । गए राति १ बजेदेखि परेको वर्षाले राप्तीसोनारी गाउँपालिकाका बैजापुर, बिनौना र फत्तेपुर गाउँ तथा डुडुवा गाउँपालिकाका होलिया, बेतहानी, वनकटी र कम्दी गाउँ डुबानमा परेका छन् । 

यस्तै कोहलपुर नगरपालिकाका पनि केही गाउँ डुबानमा परेका छन् । अहिले राप्ती नदीको सतह बढ्दै गएपछि गाउँमा बाढी पस्ने जोखिम बढेको छ । घरभित्र पानी पसेपछि मानिसहरु घरको छत तथा अग्लो स्थानमा बसेर हारगुहार गरिरहेका छन् । 

स्थानीय प्रशासनले बाढी प्रभावित क्षेत्रमा गए रातिदेखि नै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरेको निमित्त प्रजिअ कृष्ण खड्काले बताए । उनका अनुसार जिल्लाका बाढी प्रभावितलाई उद्धारका लागि हेलिकप्टरको प्रयोग गरिएको छ । सुर्खेतमा रहेको हेलिकप्टर अहिले नेपालगञ्ज ल्याएर बाँकेको बैजापुरका नागरिकलाई उद्धार गर्न लागिएको छ । बाढीले बैजापुर, फत्तेपुर र होलियामा सबैभन्दा बढी प्रभावित बनाएको छ । त्यहाँका नागरिकलाई सुरक्षित स्थानतर्फ लग्ने प्रयास भइरहेको छ । 

यसैबीच पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको खासकुश्मामा मुख्य राजमार्गमा तीन रुख ढलेका छन् । अहिले ती रुख हटाउने काम भइरहेको बाँकेका प्रहरी प्रमुख टेकबहादुर तामाङले बताए। 

 

जनकपुरमा घर घरमा पानी पस्यो

अविरल वर्षाका कारण जनकपुर उपमहानगरपालिका जलमग्न भई यहाँका घर घरमा पानी पसेको छ । 

पानीको निकास हुन नसकेकाले मुख्य सडक जलाशयमा परिणत भएको छ। एकीकृत शहरी विकास आयोजनाले नाला निर्माणमा गरेको ढिलाइ र लापर्बाहीले गर्दा पानीको बहाव बन्द भई प्रजिअ, सुरक्षाकर्मी आवास परिसर, राष्ट्रिय समाचार समिति, आन्तरिक राजस्व, हुलाक, परिवार नियोजन, महिला विकास, कोष तथा लेखा नियन्त्रण, जिल्ला प्रहरी कार्यालय, अञ्चल प्रहरी कार्यालय परिसर डुबानमा परेका छन् । 

जनकपुर अञ्चल अस्पतालमा दुई फिटभन्दा अधिक पानी जमेको छ भने रासस र हुलाक कार्यालयका कोठामा पानी पसेर कागजातलाई भिजाएको छ । अञ्चल अस्पतालमा पानी जमेका कारण बिरामीले सास्ती भोग्नुपरिरहेको छ । यहाँका नालाका पानीले परिसर दुर्गन्धित भएको छ । 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell