PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

राजमार्ग आसपासमा अत्याधुनिक क्यामरा जडान गरी बन्यजन्तुको अनुगमन



रासस

राजमार्ग आसपासमा अत्याधुनिक क्यामरा जडान गरी बन्यजन्तुको अनुगमन

चितवन :  चितवनको टिकौली जंगलस्थित जैविक मार्ग (करिडोर) क्षेत्रमा वन्यजन्तुमा परेको असरबारे क्यामरा जडान गरी अनुगमन सुरु गरिएको छ। 

यहाँका विभिन्न स्थानमा अत्याधुनिक प्रविधिको क्यामरा जडान गरी अनुगमन सुरु भएको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा चिरञ्जीवी पोखरेलले जानकारी दिए। 

पोखरेलका अनुसार राजमार्गको वरिपरि वन्यजन्तु तलमाथि गर्दा कस्तो असर परिरहेको छ भनेर अध्ययन गर्न क्यामरा ट्रापिङ–विधिको प्रयोग गरिएको हो। भरतपुर महानगर र रत्ननगर नगरपालिकाको बीचमा टिकौली जंगलको जैविक मार्ग पर्छ। 


सो क्षेत्रमा १६ स्थानमा ३२ वटा अत्याधुनिक क्यामरा राखेर अनुगमन थालिएको कोषका संरक्षण अधिकृत सन्ताष भट्टराईले जानकारी दिए। 

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले बरण्डाभार क्षेत्रमा बाघको उपस्थितिबारे अनुगमन गरिएको भएपनि सडकलाई नै केन्द्रित गरेर क्यामरा ट्र्यापिङबाट अनुगमन भएको यो पहिलो पटक भएको बताए।

चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, जिल्ला वन कार्यालय तथा स्थानीय सामुदायिक वन र बरण्डाभार उपभोक्ता समितिको सहकार्यमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो। 

जैविक मार्ग हुँदै चितवन निकुञ्जका दुर्लभ र संरक्षित वन्यजन्तु बाघ, हात्ती, गैँडा, भालु, चित्तल चुरे पर्वत र महाभारत पर्वत क्षेत्रका वनमा आवतजावत गर्ने करिडोर टिकौली जंगल हो। यसरी आवतजावतका क्रममा सवारीको ठक्करबाट वर्षेनी वन्यजन्तु मर्ने गरेका छन्। 

सो क्षेत्रमा हिँड्ने वन्यजन्तुको सुरक्षामा चुनौती थपिएपछि अहिले अस्थायी सुरक्षा चौकी स्थापना गरेर गाडी रोक्नसमेत निषेध गरिएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell