PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

दुई दिनकी सुत्केरीलाई आतंककारी भन्दै मारेको कसरी बिर्सनु ?



दुई दिनकी सुत्केरीलाई आतंककारी भन्दै मारेको कसरी बिर्सनु ?
छिन्ताङका सहिदहरुको सालिक। फोटो : http://purbelitimes.com/

  • सुभाषचन्द्र देवकोटा -
खोकु छिन्ताङ् दुख्यो कि अरुण सुसाउँदा
मन सबको रुन्छ कि दुःख बिसाँउदा।
अन्धकारमा बन्दूकहरु पड्किएको बेला
छाती भरि संगीनहरु गडिएको बेला।
 
गणेश जिसमले लेखेको यो गीतले ३६/३७ वर्षअघि धनकुटाको खोकु छिन्ताङ्मा पञ्चायती शासकहरुले गरेको नरसंहारको र त्यहाँका जनाताका बलिदानको याद दिलाउँछ। भनिन्छ, त्यो नरसंहारका योजनकार तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापा नै थिए। उनको  मृत्युसँगै फेरि एक पटक आँखाभरि, छातिभरी खोकु छिन्ताङ्  सुकसुकाएको छ। इतिहास फेरि एक पटक चिहानबाट जुरुक्क उठेको छ र सहिदहरुको रगतको गाथा स्मरण गराएको छ। आज हामीले भोग्दै गरेको स्वत्रन्तताको जगमा जनताको बलिदानी र योगदानको सम्झना दिलाएको छ।

मान्छेहरु जन्मन्छन् र मर्छन्। प्रकृतिको यो शास्वत नियम नै हो। तर इतिहास कहिल्यै मर्दैन। त्यसमा पनि जनताको रगतले लेखिएको इतिहास हरेक युगमा सत्य र न्यायको खबरदारी गरिरहेको हुन्छ। मान्छे हार्न सक्छ तर जनताको इतिहास कहिल्यै हार्दैन। हो, खोकु छिन्ताङ्को रक्तरञ्जित इतिहास जस्तै।

“मरे भनेर फ्याकिँएका जुरु जुरु उठ्छन्” भनेर ठीकै भनेका थिए जन गायक स्वर्गीय गोकुल जोशीले। इतिहास साक्षी छ तानाशाहीहरुले  संगीनले घोचीघोची मारेँ भनि फ्याकिँएका सहिदहरु कहिल्यै मर्दैनन्। अहिले त्यस्तै भएको छ। खोकु छिन्ताङका सहिदहरु रक्तबीज भएर फेरि एक पटक खबरदारी गर्दै चिहान उधिन्दै जागेका छन्।

तानाशाहहरु जब सत्तामा पुग्छन्, उनीहरु आफूलाई कालजयी ठान्छन्। विश्व इतिहासले त्यस्तै देखाएको छ। त्यसको अपवाद नेपाल मात्र कसरी हुन सक्थ्यो ?

सत्ताको शक्तिले मदहोश भएका राजा र राजा कै  आर्शिवाद पाएका सूर्यबहादुर थापाहरु कुनैबेला त्यस्तै ठान्थे। आफूलाई अजम्वरी ठान्ने सत्ताका नायक र उनका आसेपासेहरु सत्ताको आडमा जनतामाथि दमन र अत्याचारको सेतो आंतक मच्चाउँदै खुनी खेल खल्थे। हो त्यै खुनी सत्ताको आडमा सत्ताका भिजिलान्तेहरुले २०३६ साल तिर खोकु छिन्ताङ्, आँखी सल्ला गाँउहरुमा स्वेत आंतक मच्चाएका थिए र जनता छोरा छोरीहरुको  हत्या गरेका थिए।

३६/३७ वर्ष अघिका ती दिनहरु अझै पनि छिन्ताङ्वासीको आँखामा सिनेमाको रिल घुमे झै घुमिरहेको छ। त्यसताका खोकु छिन्त र आँखी सल्ला कम्युनिष्टहरुको राम्रो प्रभाव भएको ठाँउ थिए। चरम गरिवी र अभावमा जनता पिल्सिएका थिए। त्यही नजिकै मुगाका काजी सूर्यबहादुर थापा कम्यूनिष्ट मास्ने कसम खाएर पञ्चायती सरकारका प्रधानमन्त्री भएका थिए। राजाको सपना साकार पार्न उनै मुगाली काजीको निर्देशनमा त्यो नरसंहार गरिएको थियो। १५ जना भन्दा बढीलाई कसैलाई भीरबाट खसालेर, कसैलाई नदीमा फ्याँकेर र कसैलाई छातीमा संगीन रोपेर, गोली हानेर मरिएको थियो। जो बाँचे उनीहरुलाई झुट्टा मुद्दा लगाएर वर्षौं सम्म जेलमा यातना दिएर राखियो। केटाकेटी, बुढा पाका कुरै छाडौं २/३ दिनका सुत्केरीलाई समेत घिसारीघिसारी मारेका थिए। दुई दिनकी सुत्केरी श्रीमाया रार्ईलाई समेत आतंकारी भन्दै हत्या गरेका थिए।

कठै, खोकु छिन्ताङ्ले ठूलो कुरा के खोजेको थियो र ? पञ्चायती दमनको कालरात्रीमा अलिकति उज्यालो खोजेको थियो। स्वतन्त्रतापूर्वक बाँच्नका लागि गोडा तन्काउने जमर्को गरेको थियो। अलिकति मनको आवाज निकाल्न खोजेको थियो,  स्वतन्त्रातापूर्वक फट्फटाएर उड्ने जमर्को गरेको थियो र अन्याय विरुद्ध न्यायको कुरा गरेको थियो। हो यै अपराध थियो खोकु छिन्ताङ्को।

तिमी जे सुकै भन, हामी कसरी भुल्न सक्छौ त्यो भयानक दिनहरु, जुनबेला हाम्रा बाबाहरुलाई पञ्चायती जल्लादहरुले छातीमा संगीनले घोचीघोची मारेका थिए। कसरी देखेको नदेख्यै गर्न सक्छौं हाम्रा सुत्केरी आमाहरुलाई पञ्चायती जल्लादहरुले घिसारीघिसारी मारेका। हामी कसरी कृतघ्न हुनसक्छौं, हाम्रा सहिदहरुप्रति, हाम्रा पौरखी पुर्खा प्रति ? त्यसैले आज पनि हामी मुठ्ठी उठाएर भनी रहेका छौं ‘खोकु छिन्ताङ् जिन्दावाद।‘

खोकु छिन्ताङ् जनताको स्वन्त्रतन्त्रताको उत्कृष्ठ  अभिलाषाको प्रतीक हो। छिन्ताङ् जनताको सपनाको इतिहास पनि हो। आज पनि हामी यो हाम्रो इतिहासमाथि गर्व गरिरहेका छौं। हामी कसरी बिर्सिन सक्छौं, आफन्तहरुको रक्तिम  इतिहास। कसरी आफनै पुर्खाहरुले लेखेको  इतिहासमा डँडेलो लगाउन सक्छौं ? त्यसैले आज फेरि हामी छिन्ताको माटो अञ्जुलिमा उठाएर भन्दै छौं ‘खोकु छिन्ताङ् जिन्दावाद।‘

जसले जे भनुन् हमी गर्व गर्छौं हामो पवित्रता माथि। हामी गर्व गर्छौं हाम्रो पुर्खा र हाम्रो पौरख माथि। खोकु छिन्ताङ् अझै थाकेको छैन, हामी थाकेका छैनौं। हामी अझै भनिरहेका छौं, हाम्रा वा आमाहरुले बगाएको रगत खेर जानु हुँदैन। हामी खबरदारी गरिरहेका छौं, हाम्रा बा आमाको पवित्र सपनाहरुलाई - तिम्रा अपवित्र महत्वकांक्षासँग मोलतोल नगर। सक्छौं तिमी पनि गर्व गर। सक्दैनौं, यो पवित्रतामाथि दाग नलगाउ।  जनताको  सपना माथि  तिम्रो सत्ताको राजनीति नगर।

हो हमी मर्न सक्छौं। तर मर्न सक्दैन, खोकु छिन्ताङ्को इतिहास। त्यसैले हामी खोकु छिन्ताङ्को पवित्र इतिहास साक्षी राखेर भनिरहेका छौं, खबरदार हाम्रो पवित्रतालाई तिम्रो सत्ता महत्वकांक्षाको कलुसित आँखाले नहेर। सहिदहरुको यिनै पवित्रतामाथि छिन्ताङ्को उभिएको छ, समग्र देश उभिएको छ, तिमी, हामी सबै उभिएका छौं।

खोकु छिन्ताङ् जिन्दावाद।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell