- भावना शर्मा -
म बादलको सानो थुम्कोमा
बनाइरहेछु सपनाको घर
निलगिरि शिरको ठ्याक्कै माथि
उऽऽऽऽ त्योऽऽऽऽऽ सेता भुवाहरु उडिरहेको देख्यौ?
हो, त्यही रेशमी आँगनमा!
त्यहीँबाट म निहुरिएर हेर्नेछु
चाँदी टल्किरहेको हिमाल
अनि सुनजस्ता केही अनुहारहरु......
म कहिलेकाहीँ ओर्लन पनि सक्छु
मेरो आँसु खसेको माटोमा
इन्द्रेणी खोज्न झरेको बेला
चौरमा खेलिरहेका स-साना नानीसँग
सोध्नेछु ठेगाना
पठाउनेछु एक झर मिठो झरी
बादलदेखि जमीनको दुरी कति नै छ र!
देखेका छौ?
बादलको घर निकै उजेलो हुन्छ
हाम्रो मनभन्दा उजेलो/आँखाभन्दा उजेलो
साउनको अन्तिम रात
केही ताराहरु पठाइदिउँला
अलिकति उजेली झारिदिउँला
बादलको घरमा कहिले अँधेरो हुन्न !
किरणले धोएको बगैंचाहरुमा
जून ताराका थुंगाहरु ओइलिन्न
यहाँ काँडाले चस्स चस्स घोच्दैन पनि
र त म बनाइरहेछु
बादलमा मेरो आफ्नै साम्राज्य.....
यो जमीनमा मेरो घर कहिल्यै नहोस्!