PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

रक्त क्यान्सरले थलिएका जयन्तको उपचारमा सघाउन परिवारको याचना



रासस

रक्त क्यान्सरले थलिएका जयन्तको उपचारमा सघाउन परिवारको याचना

  • विनोदसिंह विष्ट 
बैतडी : बुढेसकालको सहारा भन्ठानेको छोरो रक्त क्यान्सरबाट ग्रसित भएपछि बैतडीको पुर्चौडी नगरपालिका–८, खेतालीकी दुर्गा बमलाई खाएको एक गाँस पनि आङ लाग्दैन। 

छोराको चिन्ताले खाना खानु नखानु एकै सरह भएको छ। १४ वर्षीय छोरा जयन्त बम रक्त क्यान्सरबाट पीडित भएपछि उपचारमा सहयोग गरिदिन उनले आग्रह गरिरहेकी छन्। १८ महिनादेखि जयन्तको काठमाडौँको महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ। 

विसं २०७२ को फागुन महिनाअघिदेखि बिरामी भएका जयन्तलाई सुरुमा घरमै राखेर उपचार गरिएको थियो। घरायसी उपचारले निको नभएपछि डडेल्धुराको एक क्लिनिकले ब्लड क्यान्सर भएको भनेर काठमाडौँस्थित कान्ति बाल अस्पतालमा लैजान सुझाएको थियो।

विसं २०७२ को फागुनमा उपचारका लागि कान्ति बाल अस्पतालमा भर्ना गराएपनि पैसा नभएर बीचमै उपचार गर्न छाडेर उनी घर फर्किएका थिए। जयन्तलाई हाल पुनः कान्ति बाल अस्पतालमा भर्ना गरिएको छ। 

एक वर्षदेखि कान्तिमा उपचार गराइरहेका जयन्तको उपचारका लागि उनको परिवारले भएको सम्पत्ति, जग्गा जमिनसमेत बिक्री गरेका छन्। दुर्गाले भनिन्,‘हालसम्म छोराको उपचारमा सात लाख खर्च भइसकेको छ।’ 

जयन्तलाई पूर्णरुपमा निको पार्न तीन वर्ष दुई महिना लगातार उपचार गराउनुपर्ने र त्यसका लागि २० लाख रुपैयाँ खर्च लाग्ने दुर्गाले बताइन्।

जयन्तमा विसं २०७२ फागुन अगाडि हातखुट्टा दुख्ने, टाउको दुख्ने, ज्वरो आउने, शरीर भारी हुनेलगायतका लक्षण देखा परेका थिए।

यस्ता लक्षण देखा पर्दा सुरुमा घरमै राखेर उपचार गरिएको थियो। पछि डडेल्धुराको एक क्लिनिकले रक्त क्यान्सर भएको ठम्याएर एक दुई दिनभित्रै कान्ति बाल अस्पतालमा लैजान सुझाव दिएको थियो। कान्तिमा आएपछि जयन्तलाई रक्त क्यान्सर भएको पुष्टि भयो। 

जयन्तको उपचारमा सहयोग गर्न चाहनेलाई जयन्तका बुबाको नाममा नबिल बैंक कुलेश्वर, काठमाडौँ शाखामा रहेको खाता नम्बर ३११००१७५०५०१७ मा रकम जम्मा गरिदिन परिवारले आग्रह गरेको छ।रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell