PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

शेरबहादुरको रामचन्द्रलाई सर्त : भोटिङमा नजाने भए मात्र पदाधिकारी नियुक्ति



शेरबहादुरको रामचन्द्रलाई सर्त : भोटिङमा नजाने भए मात्र पदाधिकारी नियुक्ति
फाइल फोटो

काठमाडौं : कांग्रेस सभापति शेरबहादुर देउवाले आफूले गर्नुपर्ने निर्णय समेत कसैले विरोध नगरेर मात्र गर्ने बताएका छन्।
 
केन्द्रीय समिति बैठकमा रामचन्द्र पौडेल र उनका समुहका नेताले पदाधिकारी नियुक्तिसहित सभापतिले गर्ने निर्णय नगरेको आरोप लगाएपछि सभापति देउवाले उनीहरुलाई नै दंग्याउदै नयाँ सर्त राखेका हुन्।

शनिबार सुरु केन्द्रीय समिति बैठक समापनका क्रममा सभापति देउवाले पदाधिकारी नियुक्ति विरोध नगर्ने भए मात्र तत्काल गर्ने बताए।
 
'साथिहरुले पार्टीलाई पूर्णता दिनुपर्ने, विभाग र समिति गठन गर्नुपर्ने तथा पदाधिकारी नियुक्ति गर्नुपर्ने भनि दिएका सुझाव सकारात्मक छन्,' बैठकमा उठेका प्रश्नको जवाफ दिदै सभापति देउवाले भने, 'अब म सबै कुरा गर्छु, विभाग पनि बनाउँछु समितिहरु पनि बनाउँछु।'

देउवाले पदाधिकारी चयन भने भोटिङ्मा नलगी समर्थन गरे मात्र चाडै बन्ने बताए।

'रामचन्द्रजीहरुले भोटीङ्मा नलाने हो भने मात्र तत्काल पदाधिकारी बनाउँछु नत्र अलि पछि मात्र,' देउवाले केन्द्रीय समिति बैठकमा भने।

देउवाले केन्द्रीय समितिमा त्यस्तो भनेपछि केन्द्रीय समिति बैठक हल हासोले गुञ्जीएको थियो। 

पार्टीको विधान अनुसार महाधिवेशन भएको दुई महिना भित्र पार्टीका विभाग तथा समितिहरु बनाउने, केन्द्रीय समितिलाई पूर्णता दिने तथा पदाधिकारी नियुक्ति गर्ने काम सकिसक्नुपर्थ्यो। तर, देउवा भने महाधिवेशन सकेर पदभार ग्रहण गरेको १७ महिना पछि पनि विरोध नगरे मात्र आफूले विधानका निर्णय गर्ने बताएका हुन्।
 
केन्द्रीय समिति बैठकमा बोलेका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने पार्टीमा लिन केही बाँकी नभएकाहरुले अब पनि लोभ गर्नु उपयुक्त नहुने बताए। 

'म पार्टीका लागि त्याग गर्न तयार छुँ, म भन्दा धेरै चिज पार्टीबाट लिसक्नुभएका शेरबहादुरजीले लोभगर्नुपर्ने कुनै कारण छैन,' पौडेलले भने, 'आउनुस् मिलेर सबै काम गरौ, पार्टीलाई पूर्णता दिउँ। संगठनलाई चुस्त र सशक्त बनाउँ।'

उनले देउवा हुनुपर्ने सबै भएको भन्दै अब आफू बलियो हुनका लागि भन्दा पनि संगठन बलियो बनाउनेगरी काम गर्नुपर्ने बताए। 

पूर्वमहामन्त्री प्रकाशमान सिंहले भने सभापति देउवाकै कारण संगठन कमजोर भएको तथा चुनावमा हारेको आरोप लगाए।
 
'सुशील कोइराला सभापति हुँदा पार्टी विधान अनुसार चलेन भन्ने शेरबहादुरजी नैं हुनुहुन्थ्यो। आज आफू सभापति हुँदा विधानको कुनै अर्थ हुँदैन?,' सिंहले भने, 'तपाई पार्टीको नेतृत्व, तर आज तपाईकै कारण पार्टी कमजोर भएको छ, सरकार समेत प्रभावकारी देखिएको छैन।'

उनले अधिवेशन गराएका भ्रातृ संस्था समेत गुटबण्दीको चंगुलमा फसेको भन्दै त्यही कारण निर्वाचनमा पार्टीलाई जिताउन उनीहरुको भूमिका नदेखिएको बताए।

पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले संगठमा बाडेर खाउँ भनेर रामचन्द्रले भनिसकेको भन्दै त्यसरी संगठन नचल्ने बताए।
 
'रामचन्द्रजीले मिलेर खाउँ त भनिसक्नु भएको छ,' सिटौंलाले  केन्द्रीय समिति बैठक सुरुवातको दिनको प्रसंग उल्लेख गर्दै भने, 'त्याग गरौ भन्दै दुइजना मिलेर पार्टीलाई भागबण्डामा चलाउने प्रस्ताव उहाँले राखिसक्नुभएको छ।'

उनले पार्टी कुनै नेताबीचको समझदारीमा नभएर पार्टी विधानमा आधारित भएर चल्नुपर्ने बताए। 

रामचन्द्रले गत शनिबार सभापति शेरबहादुर र आफू दुबै ७० वर्ष नाघेकाले अब पार्टीमा गुट बलियो बनाउने भन्दा पनि मिलेर संगठन बलियो बनाउन त्याग गर्नुपर्ने बताएका थिए। पौडेलले सभापति देउवा र आफू दुबैले धेरै कुरा पार्टीबाट लिइसकेको भन्दै आफूभन्दा बढी लिइसकेका देउवाले लोभ गर्नु नहुने र मिलेर स‌ंगरठन बलियो बनाउन लाग्नुपर्ने बताएका थिए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell