PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

काममा फर्कियो माथिल्लो त्रिशूली थ्री ‘ए’को ठेकेदार कम्पनी



रासस

नुवाकोट : भूकम्पले क्षति पुर्याएपछि निर्माणमा अन्योल रहेको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत आयोजनाको निर्माण गर्ने कार्यक्षेत्रमा ठेकेदार कम्पनी चिनियाँ गेजुवा ग्रुप अफ कम्पनी (सिजिजिसी) फर्किएको छ। 

आयोजनाको बाँधक्षेत्र नुवाकोटको मनकामनास्थित फालेटारमा ठेकेदार कम्पनीले विज्ञसहितको प्रारम्भिक जाँच र अध्ययनको काम हालै सुरु गरेको हो।

कम्पनीले क्षतिको जाँच एवं परीक्षणको काम जलविद्युत् आयोजनामा अत्यन्त संवेदनशील क्षेत्र मानिने बाँधस्थलबाट काम सुरु गरेको आयोजना प्रमुख फणीन्द्रराज जोशीले जानकारी दिए। 

अहिले विज्ञसहित कामदार समेत ल्याएर काम सुरु गरेकाले आयोजनाले गति लिन थालेको छ। 

ठेकेदार कम्पनी सिजिजिसीले डिसेन्डर (पानी थिग्रयाउने पोखरी) को पानी हटाएर त्यसको परीक्षण गरी पुननिर्माण अर्थात मर्मतका लागि जाँच गरेको छ।

विज्ञहरुले डिसेन्डर र सुरुङमार्ग (टनेल)मा भूकम्पले पुर्याएको क्षतिपछि अवरुद्ध भएकोमा सो खुलाउन अध्ययन सुरु गरेको आयोजना प्रमुख जोशीले बताए। 

सन् २०११ को जुन महिनादेखि काम शुरु गरिएको ६० मेगावाट क्षमताको आयोजना २०१४ को मे ३१ मा काम सम्पन्न गर्नुपर्ने भएपनि क्षमता वृद्धि तथा निर्माणमा स्थानीयबासीको अवरोधको कारण देखाएर तोकिएको समयमा पूरा हुन ढिलाइ भएको थियो। 

पहिलो पटक २६ महिना म्याद थप गरी सन् २०१६ जुन ३० मा काम सक्ने जिम्मेवारी पाएको कम्पनीले सो मिति अर्थात २०७३ जेठ १६ मा निर्माण सम्पन्न गर्नुपर्ने भएपनि भूकम्पका कारण ठोकेदार कम्पनीले काममा फर्कन ढिलाइ गर्दा आयोजना नै अन्योल भएको थियो।

आयोजनाको निर्माण गर्न चिनियाँ कम्पनीले आठ करोड ९१ लाख अमेरिकी डलरमा जिम्मा पाएको हो। वित्तीय व्यवस्थापनका लागि ऋणदाता चिनियाँ एक्जिम बैंकसँगको ऋण सम्झौता सन् २०१६ मे १८ बाट पूरा भएकाले समयमा नवीकरण नहुँदा वित्तीय व्यवस्थापन पनि अन्योलमा छ। 

ऋण सम्झौता नवीकरण नहुँदा आयोजनाको प्रशारण लाइनको जिम्मा पाएको चिनियाँ कम्पनी सीडब्लुइले समेत काम छाड्ने चेतावनी दिँदै आएको छ।

नुवाकोटको सिम्लेदेखि काठमाडौँको मातातीर्थसम्मको ४५ किलोमिटर दूरीमा १४२ वटा टावर निर्माण गर्नुपर्ने प्रशारण लाइनको काम हाल एक तिहाई मात्र भएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell