PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

शुभचिन्तकहरुले उत्साह र ऊर्जा दिए, भोट दिएनन् : प्रकाशचन्द्र परियार



शुभचिन्तकहरुले उत्साह र ऊर्जा दिए, भोट दिएनन् : प्रकाशचन्द्र परियार

इटहरीका प्रकाशचन्द्र परियार पत्रकारिता जगतमा परिचित नाम हो। एक दशक कान्तिपुर टेलिभिजनमा सामाजिक मामिला तथा राजनीतिक बिटमा पत्रकारिता गरेका परियारसँग व्यवसायिक तथा सामाजिक संस्थाको नेतृत्वदायी अनुभव छ। लेखन,पत्रकारिता,समाज सेवा हुँदै राजनीतिमा होमिएका परियारले आमसंचारमा स्नातकोत्तर गरेका छन्। परियारले हालै सम्पन्न स्थानीय तह निर्वाचनमा साझा पार्टीको तर्फवाट इटहरी उपमहानगरपालिकाको उपमेयरमा प्रतिष्पर्धा गरे पनि पराजित भए। साझा पार्टी केन्द्रीय संयोजन समितिका सदस्य प्रकाशचन्द्र परियारसँग कुराकानी।

सक्रिय राजनीतिमा हाम फाल्नु भो नि, सुझबुझसहित कि लहडमा ?
सक्रिय पत्रकारिता र सामाजिक काम गर्दागदै म क्रियाशील राजनीतिमा हाम फालेको हुँ। विगत देखिनै राजनीतिमा मेरो प्रगाढ रुची र गहन चासो थियो। त्यसैले मैले राजनीतिलाई नजिकबाट नियालिरहेकै थिएँ। पेशागत,संस्थागत नेतृत्वदायी भूमिका पनि निर्वाह गरेरै अघि बढिरहेको थिएँ। पेशाका हिसाबले पनि राजनीति बुझ्नु पर्ने, राजनीतिक दलका नेता, अगुवा र सरोकारवालाहरुसँग सम्पर्क,संगत गर्नु पर्ने छँदै थियो। अझ राजनीतिको महत्व बुझेको र रस भिजिरहेका बेला मास्क लगाएर के राजनीति गर्नु नि, खुलेर जिम्मेवारी र जवाफदेहिताका साथ राजनीति गर्नु पर्छ भन्ने बोध भइरहेको थियो। क्रियाशील पत्रकारितालाई चटक्कै छाडेर यत्ति छिट्टै मूलधारको राजनीतिमा होमिइहाल्न सक्छु कि सक्दिन भन्ने सवालमा पारिवारिक र अग्रजहरुसँग परामर्श गरेरै मैले राजनीतिक यात्रा अघि बढाउने निधो गरेको हुँ। खासमा कुनै लहड र रहरले मात्रै होइन, राष्ट्रिय अभिभारा पूरा गर्ने समय आएकाले राजनीतिमा होमिएको हुँ।

लामो पत्रकारिता चटक्कै छाडेर किन रोज्नु भयो धेरैले भन्ने गरेको फोहोरी खेलमा ?
पत्रकारितामा मेरो आफ्नो छुट्टै परिचय बनिसकेको थियो। दर्शक,पाठकले मन पराइरहेका थिए, पुरस्कार र सम्मानबाट विभुषित गरिरहेकै थिए। गौरवका साथ छाति फुलाएर मैले असल पत्रकारिता गरेको थिएँ भन्न हिचकिचाउन पर्दैन। प्रत्यक्ष अप्रत्यक्ष समाज र राष्ट्र रुपान्तरणमा मेरो पेशागत योगदान नहुने कुरै भएन। तर मेरो पेशाको सीमा थियो, यो अन्तिम सत्य थिएन। मैले वृहत्तर सम्भावनको क्षेत्र राजनीति अंगाल्ने सोच बनाएँ। किनकी, नीतिहरुको सर्वोत्कृष्ट नीति नै राजनीति हो, त्यो राजनीति बिग्रिएकालेनै नेपालको हाल यस्तो भएको हो।

सामाजिक न्याय सहितको समृद्ध नेपाल आफ्नै जीवनकालमा देख्न उत्कट चाहना राख्ने लाखौ नेपालीहरुको आशाको दियोमा तेल थप्न, सुसंस्कृत राजनीतिनै उत्तम विकल्प हो भनेर राजनीतिमा होमिएको हो। फोहोरी राजनीति भन्दै आलोचना गरेर बस्नु भन्दा त्यसलाई सफा गर्दै असल राजनीतिक अभ्यास गरेर राष्ट्रलाई योगदान दिन सकिन्छ भन्ने मेरो मान्यता हो। अब पनि कसैले विकास गरिदेला भन्दै आशा गरेर बस्ने हो भने, मुलुकको राजनीति यसरी नै चलिरहन्छ भन्दै विलम्व गरेर बस्ने हो भने विश्व मानचित्रमा समृद्ध नेपालको चित्र सम्भवै छैन, त्यही अभिभारालाई इमानदारीकासाथ अभ्यासमा ल्याउन राजनीतिमा प्रवेश गरेको हुँ। 

निकै उत्साहकासाथ राजनीतिमा प्रवेश गर्नु भएको मान्छे इटहरी उपमहानगरपालिकाको परिणाम त राम्रो आएन नि कस्तो अनुभूति गरिरहनु भएको छ,उमेदवारका रुपमा?
सुसंस्कृत राजनीतिक अभ्यास मार्फत समृद्ध नेपाल निर्माणको महायज्ञमा होमिएको मान्छे, तत्कालको निर्वाचन परिणामलाई हेरेर निराशा हुनु पर्ने  थकित,गलित र लज्जा महसुस हुनु पर्ने मेरो व्यक्तित्व हुँदै होइन। जनताको घर आँगन पुगेर आफूलाई प्रस्तुत गर्ने अवसरका रुपमा स्थानीय निकायको निर्वाचनलाई हामीले भरपूर सदुपयोग गर्ने अवसर पायौँ। योग्यता,क्षमता,इमान जमान सहित युवा पुस्ता राजनीतिमा आयो भन्ने सन्देश दिन हामी सफल भएका छौँ।
 
जनताको मत जितेर उपमहानगरको नेतृत्व गर्ने अवसर नपाए पनि जनतासँग साक्षात्कर गरेर उनीहरुको भावना बुझ्ने,कुरा सुन्ने,समस्या बुझ्ने र आफ्ना योजना,प्रतिवद्धता र कार्यक्रमहरु जनतामाझ पुराएर जनमन नियाल्ने साह्रै ठुलो अवसर पाइयो। जनताको मन जित्न पाइयो। परम्परागत राजनीतिले कसरी गाँजेको छ भनेर आफैले अनुभव संगाल्न पाइयो। राजनीतिक ऊर्जा अझ थपिएको छ।

जनमत किन यति धेरै कमजोर देखियो तपाईको पक्षमा? राजनीति फाप्दैन कि क्या हो?
संख्यात्मक रुपमा जनमत कमजोर देखियो, तर तुलनात्मक रुपमा कमजोर भन्न पटक्कै मिल्दैन । हामीप्रति जनताको मतादेश उल्लेख्य होइन। हामीले अपेक्षा गरेको भन्दा निकै कम हो। तर यो जनताको दोष होइन। धेरै कमी कमजोरी हाम्रै हो। पार्टी दर्ता नहुँदै,बिना संगठन, ढिलो उमेदवारी घोषणा गरेर,स्वतन्त्र हैसियतमा अन्तिम पलमा चुनाव चिन्ह पाएर पनि वर्षौदेखि राजनीति गरिरहेकाहरुको मुटुमा ढ्याङ्ग्रो ठोक्ने काम गरियो। निर्वाचन आचार संहिताको इमानदारीका साथ पालना गरियो । असल राजनीतिक संस्कारको विजारोपण गरियो । हार्दा पनि कसैले विचरा भन्नु पर्ने अवस्था आएन, तनाव झेल्नु परेन, राजनीति फाप्छ कि फाप्दैन भनेर गरिने चिज त होइन नि। कसै कसैले नाफा घाटाको राजनीति पनि गरिरहेका छन्, हामीले गर्ने राजनीति त्यो होइन। राजनीतिलाई प्राविधिक कसीवाट मात्र हेर्न हुँदैन। हामी प्रतिष्पर्धी परम्परागत दलका उमेदवार र कार्यकर्ताहरुको तौर तरिका ,शैली, खर्च वर्च र जित्न जे पनि गर्नु पर्छ भन्ने मान्यता राख्छौँ।

जनताको मनोभावना वुझ्ने क्षमतानै नराखेर पो हो की, नत्र किन पत्याएनन त जनताले?  
पत्याए नि । किन नपत्याउनु नि । तपाईहरु दक्ष, क्षमतावान , इमानदार, केही गरौ भन्ने मानिसहरु राजनीतिमा आउनु भएको छ ,तडक भडक छैन, हामी सहयोग गछौ भन्नेहरुको संख्या ठूलो थियो । तपाइहरुको चर्चा व्यापक छ निराश नहुनु, माहौल राम्रो छ भन्नेहरुको संख्या पनि उल्लेख्य थियो, ती सबै शुभचिन्तकहरुले उत्साह र ऊर्जा चै दिनु भयो भोट चै दिनु भएन। चुनावी दौरानमै अलि निकै ढिलो भयो तपाईहरुको उमेदवारी भन्ने गर्नु हुन्थ्यो, सायद उहाहरुले भोट कसलाई दिने भनेर सोच बनाइसक्नु भएको थियो होला।
 
मलाई पनि अचम्म लागिरहेको छ। उमेदवारलाई पत्याउन चै पत्याए, राम्रो रेस्पोन्स पनि गरे, तर भोटै दिने गरी विश्वास गरिहालेनन्। ढिलो भएका कारण हाम्रो चुनावी परिचालन पनि आक्रमक र प्रभावकारी भएन कि जस्तो लाग्यो। जनताको मनोभावना जस्तो हामीले घरदैलोमा गएर सबै जनासँग भोट माग्न सकेनौँ। सबैको चाहना घर घरमा आइदियोस्, भोट मागोस्, पटक पटक आओस्,भलाकुसारी गरोस् भन्ने चै अलि बढी थियो कि।

इटहरीको प्रचुर सम्भावनाको खोजी गरेर राम्रा र गर्न सक्ने योजना पस्कने,समृद्ध नगर निर्माणको खाका सहित आएका योग्य उमेदवार हुन भन्ने तिर खासै महत्व दिए जस्तो लागेन। अथवा हामीले बुझाउन सकेनौँ त होला नि। योजना, घोषणा पत्र, प्रतिवद्धता पत्र, काम गर्ने शैली र इमानदारीबारे खासै चर्चा भएन। वडा वडामा हाम्रा उमेदवार थिएनन्, जनताहरुलाई वडाबाटै ध्रुविकृत बनाइसकिएको थियो। हामीसँग संगठन त छँदै थिएन तर विकल्पको राम्रो माहौल श्रृजना भयो । 

साझा पार्टी र विवेकशील दलबीचको एकीकरणको चर्चा थियो , कहॉ पुग्यो ?
राम्ररी नै चलिरहेको छ। हामी अत्यन्त सकारात्मक तवरलेनै प्रस्तुत भइरहेका छौँ। विवेकशीलका साथीहरुपनि एकीकरणलाई महत्व दिएर अघि बढिरहनु भएको छ। धेरै सवालमा दुई पार्टीबीच समान धारणा छ, काम गर्ने शैलीदेखि सुसंस्कृत राजनीतिक अभ्यासका कुरामा समानता छन्। समृद्ध नेपाल निर्माण अभियानलाई सहयोग पुगोस् भन्ने साझा पार्टी र विवेकशीलका धेरेै शुभेच्छुक, सहयोगीहरुको मिलेर अघि बढे हुन्थ्यो भन्ने चाहनालाई केन्द्रमा राखेर पार्टी एकीकरणले स्प्रीट लिइरहेको छ। हामीले वार्तालाई अत्यन्त सकारात्मक तवरले अघि बढाइरहेका छौँ। जनमनको शुभेच्छालाई आत्मसाथ गरेर हाम्रै पौरखमा, हाम्रै पालामा समृद्ध नेपाल वनाइ छाडने प्रणलाई केन्द्रमा राख्दै एकीकरण प्रयास अघि बढिरहेको छ। ठोस रुपमा आउन धेरै कुर्न पर्छ जस्तो लाग्दैन।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell