PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कांग्रेस बैठक : पौडेल पक्ष 'अफेन्सिभ', 'डिफेन्सिभ' देउवा पक्ष



कांग्रेस बैठक : पौडेल पक्ष 'अफेन्सिभ', 'डिफेन्सिभ' देउवा पक्ष

काठमाडौं : स्थानीय तह निर्वाचनको समिक्षा तथा बाँकी रहेको स्थानीय तह तथा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको रणनीति बनाउन बसेको कांग्रेस केन्द्रीय समितिमा आज २१ जना केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेका छन्।

आजदेखि सुरु केन्द्रीय समिति बैठकमा पहिलो र दोस्रो चरणका निर्वाचन र दुबै चरणमा आएको मतपरिणाममा स्थानीय तथा केन्द्रीय नेतृत्वको भूमिकामा छलफल भएको छ।
 
छलफलमा पौडेल पक्ष अफेन्सिभ र देउवा पक्ष डिफेन्सिभ भूमिकामा देखिएका छन्। बैठकको सुरुवात गरेसँगै वरिष्ठ नेता रामचन्द्र पौडेलले समय लिएर १५ बुँदे अवधारणा राखेका थिए।
 
'नेपाली कांग्रेस जस्तो पार्टी नेपालको राजनीतिमा डिफेन्सिभ हुने अवस्था किन आयो?,' पौडेलले प्रश्न गरे, 'कांग्रेसले लिने राष्ट्र हितका नीति र निर्णयहरुको परम्परामाथि कहाँबाट प्रहार भएको छ?'

उनले सरकारमा जाने भनेको पार्टीले लिएका नीति तथा कार्यक्रम कार्यान्वयनका लागि भन्दै त्यसको पालना भए कसैले कांग्रेसको आलोचना गर्न नसक्ने बताए।
 
'एउटा त हामीले राष्ट्रिय एजेण्डामा पार्टीका नीति ठिक भएकी भएनन् भनेर समिक्षा गर्न जरुरी देखियो, अर्को पार्टीले सरकारमा बसेर खेल्ने भूमिका पनि मूल्यांकन गर्न जरुरी देखियो,' पौडेलले भने, 'नेतृत्वको भूमिकामा पार्टी पूर्णरुपमा परिचालिन हुन सक्यो कि सकेन? त्यसको पनि समिक्षा जरुरी छ।'

उनले संसदीय दल गठन हुनुपर्ने, निर्वाचन परिचालन समिति अन्तर्गतका सबै उपसमितिहरुले आजैदेखि क्रियाशिलता सुरु गर्नुपर्नेलगायतका सुझावसमेत राखेका थिए। 

'पार्टीको संसदीय समिति गठन हुनुपर्ने र मापदण्डका आधारमा त्यहीबाट टिकट वितरण हुनुपर्‍यो,' पौडेलले भने, 'केन्द्रीय अनुशासन समिति पनि गठन हुनुपर्‍यो र अनुशासनहीनहरुलाई कारवाहीको पनि व्यवस्था गर्नुपर्‍यो।'

कांग्रेसले अनुशासन समिति नहुँदा देशभर बागी उम्मेदवारलाई कारवाही गर्न समेत नपाएर स्वतः सदस्यता खारेज हुनेगरी निर्देशन सर्कुलर गरेको थियो।

'निर्वाचन परिचालन समितिलाई र प्रचार प्रसार समितिलाई क्रियाशिल बनाउनुपर्‍यो, उम्मेदवार चयनको मापदण्डलाई पालना गर्नुपर्‍यो,' पौडेलले भने, 'कतिपय स्थानमा हामी उम्मेदवारकै कारण हारेका छौ, हामी किन डिफेन्सिभ हुनुपर्‍यो , अन्तर्घात भएका छन् भने किन भए छानविन हुनुपर्‍यो र कारवाही पनि हुन पर्‍यो ।'  

उनले सिंहदरवार (सरकार) र सानेपा (कांग्रेस) कसरी चलिरहेका छन्, त्यसको जानकारी पार्टीलाई हुनुपर्ने भन्दै पार्टीका विभागहरु पनि तत्काल गठन हुनुपर्ने बताए।

'पार्टीको केन्द्रीय समितिले तत्काल पूर्णता पाउनुपर्यो्, भ्रातृ संस्थाले पनि पूर्णता पाउनुपर्‍यो,' पौडेलले भने, '१३औं महाधिवेशनको दुई वर्ष प्रवेश गर्दा समेत ७४ जिल्लाको अधिवेसन हुँदा धनुशाको मात्र किन हुन सकेन? तत्काल गर्नुपर्‍यो।'
 
पौडेलले महासमिति बैठक समेत तत्काल बोलाउन माग गरे। 'तत्काल महासमिति बैठक डाकेर कांग्रेसको विधान र नीतिमा छलफल चलाउनुपर्‍यो,' बैठकमा पौडेलले भने, 'पार्टी संरचनालाई संघीयता अनुरुप बनाउनुपर्‍यो, प्रदेशमा समिति, जिल्ला समन्वय समिति र स्थानीय तह अनुसार पार्टी संगठनलाई ढाल्नुपर्‍यो।'

उनले क्रियाशील सदस्यता पनि छानविन हुनुपर्ने बताए। कतिपय स्थानमा क्रियाशील सदस्य भन्दा पनि कम भोट आएको विषयन नजोडी पौडेलले त्यस्तो माग गरेका हुन्। 

पौडेलले बोलेपछि पौडेलपक्षका महेश आचार्य,सहितले पनि नेतृत्वमा कमजोरी भए वा कार्यकर्तामा कमजोरी भए जसका कारण कांग्रेस दुबै चरणका निर्वाचनमा दोस्रो हुनु पर्‍यो भन्दै प्रश्न उठाएका थिए।

पौडेल पक्षकै केन्दरीय सदस्य कल्याण गुरुङ्ले अहिलेसम्म खाली हारेका ठाउँबाट प्रतिवेदन माग्ने र हारको समिक्षा गर्ने गरेको भन्दै जितेका स्थानबाट पनि प्रतिवेदन मगाउनुपर्ने बताए। 

'सधै हारको मात्र समिक्षाले हुँदैन जितेका स्थानबाट पनि कसरी जित सफल भयो भनेर प्रतिवेदन मगाउनुपर्छ,' गुरुङ्ले भने, 'हार हुँदा रिस उठेका व्यक्तिलाई पोल्ने गर्छन्। अब जीत ककसका कारण सम्भव भयो भन्ने कुरा पनि समिक्षा सुरु गर्नुपर्छ।'

उनले संगठनमा नियन्त्रण र अनुशासन नहुँदा संगठन र कार्यकर्ता अराजक बनेको भन्दै नेतृत्वले नियन्त्रण कायम गर्न सक्नुपर्ने बताका थिए।

देउवा पक्षका मानबहादुर विश्वकर्मा, फर्मुल्लाह मन्सुर, महेन्द्र यादव, मिन विश्वकर्मा भिष्मराज आङ्दम्बेलगायतले डिफेन्स गरेका थिए।

'टिकट सबैले बाँड्ने अनि हारको जिम्मेवारी नेतृत्वले मात्र लिनुपर्ने सिस्टम अन्त्य गर्नुपर्छ,' केन्द्रीय सदस्य महेन्द्र यादवले भने, 'जित भए श्रेय लिने र हार भए जिम्मेवारी नेतृत्वको टाउकोमा खन्याउने प्रवृति अन्त्य हुनुपर्छ।'
 
केन्द्रीय सदस्य मिन विश्वकर्माले नेतृत्वले लिएका निर्णय सबै गलत नभएको बताए।

'नेतृत्वले लिएका कतिपय निर्णय ठिक हुँदाहुँदै पनि पार्टीले त्यसलाई ठिक भनेर प्रचार गर्न सकेन,' विश्वकर्माले भने, 'माओवादी र कांग्रेसबीच तालमेल नभएको भए एमाले र माओवादीको तालममेल हुन सक्थ्यो। त्यशो भएको भए पार्टीलाई फाइदा हुन्थ्यो कि घाटा हुन्थ्यो?'

बैठकमा केन्द्रीय सदस्यहरु बलबहादुर केसी, महेश आचार्य, फरमूल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, भीष्मराज आङ्दम्वे, आनन्दप्रसाद ढुंगाना, चन्द्र भण्डारी, कमला पन्त, धनराज गुरुङ, महेन्द्र यादव, शंकर भण्डारी, मीन विश्वकर्मा, पार्वता डीसी चौधरी, गुरुराज घिमिरे, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ, रामकृष्ण यादव, देवेन्द्रराज कँडेल र सरिता प्रसाईले बोलेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell