PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

नगरपालिका भन्छ - बालिका ढलमा डुबेर मृत्यु हुनुमा स्थानीय दोषी



आकाश क्षेत्री

नगरपालिका भन्छ - बालिका ढलमा डुबेर मृत्यु हुनुमा स्थानीय दोषी

काठमाडौँ : गत शुक्रबार नेपालटारमा बालिकाको ढलमा डुबेर मृत्यु हुनुमा स्थानीय दोषी भएको दावी तारकेश्वर नगरपालिकाले गरेको छ। नगरपालिकाले अर्कै कामको लागि ल्याएको ह्युमपाइपलार्इ स्थानीयहरुले आफुखुसी प्रयोग गर्ने थालेपछि यस्तो घटना भएको दावी गरेको हो। 

तारकेश्वर नगरपालिकास्थित नेपालटारकी १० वर्षे विनिता फुँयालको ढलमा पसेर मृत्यु भएको थियो। ढलमा छिरेको १ घण्टापछि प्रहरीले करिब साढे तीन किलोमिटर तल पुगेपछि उनलाई भेट्टाएको थियो। तर अस्पताल नपुग्दै उनको मृत्यु भएको थियो।  

कसरी भयो घटना?

केही समय अघिमात्र तारकेश्वर नगरपालिकाले ढल विस्तारका लागि केही ह्यूमपाइप नेपालटारमा झारेको थियो। ढलको कामले काठमाडौं महानगरपालिकाबाट आउने खानेपानीका पाइपहरुलार्इ अवरोध गर्ने भएकाले खानेपानी विभाग सँग कुरा गर्नको लागि काम स्थगित गर्नुपरेको तारकेश्वर नगरपालिकाका कार्यकारी अधिकृत अग्निप्रसाद अधिकारी पहिलोपोस्टलार्इ बताए।

अधिकारीका अनुसार ढलको काम स्थगित भएपछि स्वागतम् चोकदेखि भित्री टोलका स्थानीयले ह्यूमपाइपको हामीलार्इ खाँचो छ भन्दै ती ह्यूमपाइपहरु घटनास्थल अगाडि झार्न लगाएका थिए।

ढकाल भन्छन्, ‘स्थानीय मर्कामा होलान भनेर हामीले ती ह्यूमपाइप त्यहाँ झारिदिएका थियौं।’  

ढकालका अनुसार ती ह्यूमपाइपहरु नगरपालिकाको सहयोग बिना नै स्थानीयले नालीमा लगाउन थालेका रहेछन्। तर, जग्गामा विवाद आएपछि ह्यूमपाइप लगाउने कामलार्इ स्थानीयले जस्ताको त्यस्तै छोडिदिए।  

घटना भएको ठाउँमा हरेक वर्ष वर्षातमा जस्तै त्यस दिन पनि पानी परेकाले जलमग्न भएको थियो। ह्यूमपाइप लगाउने काम अधुरै छोडिएको र बाटोमा पुरै पानी भरिएकाले बालिका हिँड्दा हिँड्दै  झुक्किएर अधुरै छोडिएको ह्युमपाइपभित्र पसेकी थिइन्। 

दोषी स्थानीय कि नगरपालिका? 

पहिलोपोस्टले घटनास्थलको अवलोकन गर्दा ह्यूमपाइप लगाउने सबै काम सकाएर माटोले पुरिएको थियो। त्यहाँका स्थानीयले घटनास्थलबारे बताउन चाहेनन्। 

हामीले मृतक बालिकाको परिवारको सहयोगमा घटनास्थल पत्ता लगाउनु परेको थियो। स्थानीयहरुले घटनास्थलबारे जानकारी किन दिन चाहिरहेका छैनन्? यस विषयमा तारकेश्वर नगरपालिका पनि आफ्नो कुनै किसिमले गल्ती नभएको बताउँदै आएको छ। 

‘हामीले हरेक काम टेन्डर दिएर गराउनु पर्छ। तर त्यहाँको टेन्डर नदिएर हामी कसरी काम सुरु गर्न सक्छौँ’ तारकेश्वर नगरपालिकाका कार्यकारी अधिकृत अग्निप्रसाद अधिकारीले पहिलोपोस्टसँग भने।    

यतिसम्म कि नगरपालिका तथा स्थानीयलार्इ घटनाको भोलिपल्ट अधुरो ह्युमपाइपको काम कसले सिध्यायो भन्ने कुरा पनि थाहा छैन। 
नगरपालिका भन्छ – स्थानीयले। स्थानीय भन्छन् - नगरपालिकाले। 

 परिवार गर्छ सुरक्षाको कुरा, नगरपालिका गर्छ राहतको कुरा

घटना भएको तीन दिनपछि घटना भएको नगरपालिकाको छिमेकी  काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य मृतक बालिकाको घरमा आए। परिवारलार्इ भेटेर २५ हजार राहत दिएर गए। 

तारकेश्वर नगरपालिका भने तुरुन्त खतराका स्थानहरु सुधार्ने काम छोडेर परिवारलार्इ राहत दिलाउने काममा लागेको बताउँछ।

नगरपालिकाका अधिकृत अग्निप्रसाद दाहाल जिल्लाबाट किरिया खर्चसहितको राहत दिलाउने काममा लागेको बताउँछन्। 'हामी यसका लागि प्रयास गरिरहेका छौँ', उनी भन्छन्।

काठमाडौँका मेयर शाक्यले २५ हजार राहत दिएको दिन जारी विज्ञप्तिमा तारकेश्वर नगरपालिकाका प्रमुख रामेश्वर बोहोराले पनि दोब्बर रकम ५० हजार रुपैयाँ राहत दिएको उल्लेख छ। 
 
  

मृतक बालिकाका बुवा झम्कनाथ फुँयाललाई राहतको मतलब छैन। यो विषयमा उनी कुरा गर्नै चाहँदैनन्। शोकमा रहेका उनलार्इ समाजमा बालबालिकाहरु सुरक्षित भएर हिँड्ने सुरक्षा चाहिएको छ। भन्छन्, ‘यो घटना भयो-भयो, अब अर्को हुनुहुँदैन।’

उनलाई यति कुरामा आश्वस्त बनाउन पनि कसैले सकेको छैन। 

सम्बन्धित सामाग्री
सडकको भेलमा बहिनी गुमाएका विजय रुन चाहँदैनन् तर आँसु रोकिँदैन



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell