PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

​आरोपी जेल गएपछि तेजाब आक्रमणबाट पीडित किशोरीहरु यसो भन्छन्



काठमाडौँ :  राजधानीको वसन्तपुरमा गएको फागुन १० गते तेजाब प्रहारबाट घाइते भएकी थिइन् सीमा बस्नेत र संगीता मगर। सीमा ३७ दिनको उपचारपछि वीर अस्पतालबाट घर फर्किसकेकी छिन् भने संगीता अझै पनि सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार गराइरहेकी छिन्।

बिहीबार जिल्ला अदालत काठमाडौंले तेजाब आक्रमणका आरोपी जीवन बिकलाई पुर्पक्षका लागि जेल चलान गरेका छन्। पीडक जेल चलान भएपछि पीडितहरु के भन्छन् त?  
 

राजनीति गर्छु : सीमा बस्नेत

जीवन बिक पूर्पक्षमा जेल चलान भयो,  कस्तो लाग्यो ?
सीमा :  जेल चलान भएपछि मलाई धेरै खुशी लागेको छ। तर पनि मेरो भित्री मन खुशी हुन सकेको छैन। जीवन बिकलाई न्यायाधीश ज्यूले हामी पीडितहरुको भावना अनुसार त्यसलाई फाँसीको सजाय दिनु पर्छ।

नेपालमा फाँसीको कानूनी व्यवस्था छैन नि ?
त्यस्तो छैन भने सरकारले कानून बनाउनु पर्छ। फाँसी नै दिनुपर्छ ताकि भोलिको दिनमा म जस्तै अरु कुनै नेपाली चेलीहरुलाई एसिड प्रहार नहोस्।

अदालतमा जीवन बिकसँग भेट हुँदा केही भन्यो कि?
मलाई भेट्ने (देख्ने) बितिकै जीवन बिकले मलाई हाई गरे। मलाई धेरै रिस उठिरहेको थियो। तैपनि मैले केही भनिनँ। त्यसपछि फेरि नमस्ते गर्‍यो। अनि मैले तपाईँले मलाई किन एसिड प्रहार गरेको भनेर सोध्दा, त्यसले तिमीलाई होइन अर्कैलाई थियो भन्यो। फेरि एकै छिनमा त्यसले मलाई धम्की दियो।

के भनेर धम्की दियो नि ?
जीवन बिकले सबैको सामुन्ने काठमाडौं जिल्ला अदालत परिसरमै मलाई ज्यान मार्ने धम्की दियो। जेलबाट निस्किने बितिकै तिमीलाई के-के गर्छु, मार्छु नि मार्छु। मलाई कसैको पनि डर लाग्दैन भन्यो।  

तपाईँ कति दिन अस्पतालमा बस्नुभयो?
म जम्मा ३७ दिन वीर अस्पतालमा बसे।

त्यस क्रममा को को भेट्नका लागि आए?
धेरै मानिसहरु आउनुभयो। गृहमन्त्री वामदेव गौतम, एमाले नेता माधवकुमार नेपाल, विभिन्न संघ संस्थाका प्रतिनिधि र पत्रकारहरु आउनु भयो।

घाउ अहिले कस्तो भएको छ?
पहिलेको तुलनामा धेरै ठीक भएको छ तर म कहिले पनि पहिलेको जस्तो हुन सक्दिन सर।

अनि एसएलसी परीक्षा कस्तो भयो नि?
ठीकै भयो तर मैले सोचेको जस्तो भएन। मैले जति राम्रोसँग एसएलसी परीक्षाको उत्तर पुस्तिकामा लेखे पनि मेरो ध्यान एसिडले पोलेको घाउमा गइहाल्थ्यो।

पढेर के बन्ने सपना बोक्नुभएको छ?
होइन सर, अब त मेरो सबै सपना एसिडले नै जल्यो कहिले पनि नपलाउने गरी। गायिका बन्ने सपना थियो तर अब पढेर राजनीति गर्छु।

किन राजनीति नि?
पहिले थियो एउटा सफल गायिका बन्ने सपना तर एसिड प्रहारपछि म ३७ दिन वीर अस्पतालमा बसेँ। त्यो समयमा मेरो मनमा धेरै कुरा खेल्यो। सबै कुरालाई राम्रो बनाउने माध्यम राजनीति नै हो तर हाम्रो देशमा त्यस्तो एक जना पनि राम्रो नेता छैन। अस्पतालमा म हुँदा दैनिक जस्तो महिला हिंसाको घटना सुनेँ। त्यो कुराहरुले मलाई लाग्यो कि म गायिका होइन कि पढेर राजनीति गर्नुपर्छ।

प्रहरी प्रशासनबाट कस्तो व्यवहार भयो?
खासमा भन्ने हो भने मलाई प्रहरीबाट धेरै राम्रो व्यवहार भयो र म सबै प्रहरी अंकलहरुलाई धन्यवाद दिन चाहन्छु।

मानिसको जीवन के हो जस्तो लाग्छ?
यो कुरा नसम्झाउनु सर। एसिड प्रहार भएपछि त मलाई बाँच्ने मन थिएन। मैले आफ्नो हजुरआमासँग मोबाइल मागेर टो खिचेर हेर्दा आफ्नो अवस्था देखेर धेरै रोएँ। त्यतिबेला मलाई आत्महत्या गर्न मन लागेको थियो तर मेरी हजुरआमाले सम्झाउनु भयो सबै ठीक हुन्छ भनेर। त्यसपछि मेरो मनमा धेरै कुराहरु खेल्न थाल्यो र बाँच्ने रहर पलायो। अब लाग्छ मेरो जीवन धेरै महत्वपूर्ण रैछ, मलाई केही गरेर सबैलाई देखाउनु छ।

तपाईहरुको औषधी उपचार खर्च सरकारले व्योहोर्ने भनेको थियो के भइरहेको छ ?
मैले झूठो बोल्न मिल्दैन, आजसम्म सरकारले महिला तथा बालबालिका मन्त्रालयबाट १५ हजार रुपैयाँ दिनुभएको हो। अरु सबै आफ्नै खर्च भएको छ। केही संघ संस्थाले पनि मलाई आर्थिक सहयोग गरेको छ। तर सरकारी भनाइ र गराईमा धेरै फरक देखियो।

जम्मा कति खर्च भयो नि ?
एक लाखभन्दा बढी रुपैयाँ खर्च भएको छ।
 

समाज सेवा गर्छु : संगीता मगर


जीवन बिक पूर्पक्षमा जेल चलान भयो, तपाई केही भन्नुहुन्छ कि?
सीमा : मलाई धेरै खुशी लागेको छ। जीवन बिकलाई सरकारले फाँसी दिनुपर्छ।

जीवन बिकले तपाईलाई पनि धम्की दिएको हो ?
बिहीबार जीवन बिकलाई प्रहरीले काठमाडौं जिल्ला अदालत ल्याएको थियो। मेरो आमा बुवालाई त्यसले धेरै गाली गर्‍यो र मार्ने धम्की दियो। म जेलबाट बाहि आएपछि तेरो परिवारको सबै जनालाई मार्छु भनेको छ।

जीवन बिकले तपाईँलाई माया गर्छु भनिरहेको छ त?
त्यो कुरा मलाई थाहा छैन। मैले उसलाई सँधै दाइको रुपमा हेरेँ। त्यसले मन पाएको थाहा भएन।

तपाईको परिवारले त सानो जात भनेर हेला गरेको हो?
त्यो कुरा सरासर गलत हो। त्यहाँ बस्ने सबै जनालाई जीवन बिकले खड्का थर रहेको भनेका थिए। तपाईँलाई विश्वास लाग्दैन भने त्यो बसेको ठाउँमा गएर बुझ्नसक्नुहुन्छ। ऊ बिक हो भनेर पनि कसैलाई थाहा पनि थिएन। अस्ति मात्र थाहा भयो घटना भएपछि। उसले भनेको छ  कि पानी भर्न दिँदैन, शौचालय जान दिँदैन थियो, जातकै कारण हेला गरेको। सबै झुठ हो। जातीय विभेदको कुरा जीवन बिकको आफूले गरेको गल्ती लुकाउने माध्यम मात्र हो।

तपाईँ अब के गर्नुहुन्छ?
मेरो त पढेर एउटा सफल डाक्टर बन्ने सपना थियो तर एसिडले सबै उडाएर लग्यो। अब म डाक्टर बन्दिनँ। ठीक भएपछि म अझै राम्रोसँग पढ्छु र समाजसेवा तर्फ लाग्छु यस्तो घटना नहोस् भनेर।

तपाईँको एसएलसी परीक्षा कस्तो भयो नि ?
राम्रो भयो। तर सोचेको जस्तो भएन।

तपाईको घाउ कस्तो छ नि ?
पहिलेको तुलनामा धेरै राम्रो भाको छ, डाक्टर अंकलहरु भन्नु हुन्छ कि तिमी पहिले जस्तो अब त बन्न सक्दैनौं तर म निराश छैन। अब म केही समय हिड्न सक्छौं, केही समय बोल्न सक्छु, मेरो घाउहरु बिस्तारै राम्रो हुँदैछ सर। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell